१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नर्सलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छौं: मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताएका हुन्।  

आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८÷१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणा समेत गरे।

मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नविकरण नगर्नेदेखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले नर्सहरुलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए।

मन्त्री गिरीले भने, ‘अहिले मैले सुने–नर्सहरुले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सुनिरहँदाखेरी यो भन्दा भयावह र कहाली लाग्दो अवस्था केही पनि हुन सक्दैन। यो अत्यन्तै चिन्ताको विषय हो। म यहीँबाट भन्न चाहन्छु–यसरी न्यूनतम पारिश्रमिक पनि नदिइकन, तलव, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन। उचित मान्न सकिदैन। त्यस्ता संस्थाहरुलाई, त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरु जहाँजहाँ छन, त्यसको राम्रो ढंगले मन्त्रालयबाट अनुगमन हुनेछ। र, त्यस्ता संस्थाहरुलाई आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ।

प्रकाशित: १५ माघ २०७९ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App