११ माघ २०८२ आइतबार
image/svg+xml
शिक्षा

किन लुकाइयो इन्जिनियरिङ्गमा पास स्कोर ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकले पछिलो समय विद्यार्थीको प्रवेश परीक्षाको स्कोर लुकाएर नतिजा प्रकासन गर्न  थालेपछि चौतर्फी आलोना खेप्नु परेको छ ।

इन्जिनियरिङ्ग विषयमा दरो प्रतिस्पर्धा भए पनि यसरी संस्थानले नै विद्यार्थीको पास स्कोर लुकाएर विद्यार्थीको नाम र र्‍यांक मात्र प्रकासन गर्न थालेपछि चौतफी प्रश्न उठ्न थालेको हो । इन्जिनियरिङ्ग अध्ययन क्षेत्रमा प्रसिद्धि कमाएको पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थान पछिलो समय शैक्षिक गुणस्तर कायम गर्नुभन्दा निजी कलेजको सिट भर्न तर्फ ध्यान केन्द्रित गएको आरोप खेप्दै आएको छ।  

यसपटक पनि  ०८२ सालको प्रवेश परीक्षा भदौ ३ गतेदेखि ७ गतेसम्म चल्यो। कुल १० हजार ७ सय ३५ परीक्षार्थीले दिएको परीक्षाको नतिजा भदौ ११ गते प्रकासित भयो । नतिजा प्रकासित गर्दा सिट संख्यालाई आधार मानी डेढ गुणा बढी नतिजा प्रकासित गर्नु पर्ने आधार अध्ययन संस्थानको विद्यापरिषदले तय गरेको छ। तर नतिजा प्रकासित गर्दा आधार भन्दा एक सय एक जना बढी विद्यार्थी पास भएको नतिजा प्रकासित भएपछि संस्थानविरुद्ध  पूर्व विद्यार्थीले आइतबार  अख्तियार दूरुपयोग अनुसन्धान अयोगमा मुद्दा दर्ता गरेका छन्  । साथै संस्थानका पूर्व विद्यार्थीले डिन कार्यालयले निजी इन्जिनियरिङ कलेजको सिट भर्ने उदेश्यले मनलाग्दी तरिकाले नतिजा प्रकासित गरी संस्थानको गुणस्तरमानै आँच पुर्‍याउन थालेको विश्लेषण गरेका छन् । यसै पनि इन्जिनियरिङ्ग तर्फ पास प्रतिशत निकै कमजोर बन्दै गएको छ ।  

अध्ययन संस्थान अन्तर्गत पाँच आंगिक र १० निजी कलेजसहित देशभर कुल १५ कलेजका लागि कुल चार हजार ३४४ सिट तोकिएको छ। यसको डेढ गुणाले बढी भनेको ६ हजार ५१६ जना पास हुनु पर्नेमा नतिजामा ६ हजार ६१७ जना पास भएका छन् ।  

यति मात्र होइन नतिजा प्रकासित गर्दा विद्यार्थीको प्राप्तांक समेत लुकाइएर संस्थानले मनलाग्दी नतिजा प्रकासित गरेको संस्थानका पूर्वविद्यार्थी इन्जिनियर एआर तुलाधरको विश्लेषण छ । प्रतिस्पर्धी युगमा एक विद्यार्थीले अर्को विद्यार्थीको प्राप्तांक र र्‍यांकक सार्वजनिक रुपमै हेर्न पाउनु पर्ने हो । तर इन्जिनियरिङ्ग अध्ययन संस्थान पछिलो समय विद्यार्थीको स्कोर लुकाएर  नतिजा प्रकासन गर्दा विद्यार्थी माथि अन्याय गरेको उनको ठहर छ । हाल विद्यार्थीले आफ्नो मात्र स्कोर हेर्न पाइने तर अरु कसैको पनि हेर्न नपाइने व्यवस्थाले कुन विद्यार्थी कति स्कोर पाए थाहा हुदैन ।

तुलाधार पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका ०५२ सालको ब्याच हुन् । ‘त्यतिखेर हामीले प्रवेश परीक्षा दिँदा ५० प्रतिशत अंक ल्याएर पास भए मात्र इन्जिनियरिङ्ग पढ्ने अवसर पाइन्थ्यो । यसले हाम्रो समयमा विद्यार्थीले प्राप्त गरेको स्कोरसमेत नतिजा प्रकासित हुन्थे । यसमा पारदर्शिता थियो प्रश्नको कतै गुन्जाइस नै थिएन,’ तुलाधरले गुनासो गरे,‘तर पछि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा राजनीति छिर्यो। ०६० सालपछि पास प्रतिशतलाई घटाएर ४० प्रतिशत कायम गरियो । यतिले पनि निजी कलेजको सिट नभरेपछि ०६५ सालतिर पास प्रतिशत ३५ प्रतिशत कायम गरियो ।’  

उनले थपे,‘०७२मा एसएलसीबाट सबै पास हुने  एसईई बनाइयो । यसको असर इन्जिनियरिङ्ग तिर पर्यो । ०७४ देखि ३५ प्रतिशत र विद्यार्थीले प्राप्त गरेको स्कोर सार्वजनिक गर्न संस्थानले छाड्यो । स्कोर लुकाएर नतिजा प्रकासित गर्न थाल्यो । यसले कुन विद्यार्थीले कति स्कोर प्राप्त गरे सार्वजनिक भएन । विद्यार्थीमाथि अन्याय भयो । एकअर्काको नतिजा हेर्न नसक्ने बनाएर मनलाग्दी नतिजा प्रकासित गरेर गुणस्तर खस्काउने काम मात्र भयो ।’  

ईन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डिन एवं सूचना अधिकारी प्राडा बिनोद कुमार भट्टराईले संस्थानले विश्वविद्यालय अनुदान आयोगको निर्देशनमा स्कोर प्रकासन गर्न हटाएको दाबी गरे । उनले संस्थानलाई आयोगले सिटकोटाको डेढ गुणा बढी नतिजा प्रकासन गर्न निर्देशन दिए अनुसारै नतिजा प्रकासित गर्नु परेको बताए ।

‘अनुदान आयोग मापदन्दमा आधारित भएर संस्थानको विद्यापरिषदले सिट कोटाको डेढ गुणा बढी नतिजा प्रकासन गर्दै आएको छ। तर यस पटक संस्थान अन्तर्गतको विद्यापरिषदको निर्देशन अनुसार एक सय एक विद्यार्थी बढी पास गराएर कुल ६ हजार ६१७ पुर्‍याइएको हो,’ सूचना अधिकारी भट्टराईले नागरिकसँग भने,‘कक्षा १२मा विद्यार्थी फेल गराइँदैन भने अध्ययन संस्थानले कसरी गराउन सकिन्छ। रह्यो कुरा स्कोर प्रकासत गर्ने बारे यो आयोगले डेढ गुणा बढी नतिजा प्रकासित गर्ने भनेपछि हटाइएको हो । ’  

हाल संस्थान अन्तर्गत इन्जिनियरिङ्ग विधाका १२ कार्यक्रम सिभिल, कम्प्यूटर, इलेक्ट्रिकल, मेकानिकल, अर्किटेक्चर, जियोमेट्रिक्स, अटोमोवाइल, केमिकल, इन्डिस्ट्रियल, एग्रीकल्चर, इलेक्ट्रोनिक्स एन्ड इनफरमेसन र एरोस्पेस कार्यक्रम संचालनका चार हजार ३४४ सिट तोकिएको छ।  

चार हजार ३४४ सिट कोटामा संस्थान अन्गर्ततका थापाथली इन्जिनियरिङ्ग, पुल्चोक इन्जिनियरिङ्ग, पूर्वाञ्चल धरान, पश्मिाञ्चल पोखरा र चितवन गरी कुल आंगिकमा दुई हजार ३०४ र निजीमा दुई हजार ४० कोटा तोकिएको छ।

‘६ हजार ६१७ विद्यार्थी पास भए पनि कुल सिट कोटाको करिब तीन हजार २०० सिट मात्र भरिएको छ,’ सूचना अधिकारी भट्टराईले भने,‘पुल्चोकको भरिए पनि थापाथलीमा इन्डस्ट्रियल र अटोमोवाइलको ४८/४८ सिट खाली छ भने पोखराको जियोमेट्रिकमा पनि सिट खाली नै छ । यसैगरी निजीका धेरै सिट खाली नै छन् ।’  

उनले थपे,‘बजारको माग कम्प्यूटर र सिभिलमा छ । विद्यार्थीको रुचीको विषय नमिलेको कारण पनि धेरै सिट खाली हुने गरेको छ।’ इन्जिनियरिङ्गका विषयमा वास्तविक रुपमा गुणस्तर कायम गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने हो भने प्रवेश परीक्षा एकद्वार प्रणालीबाट लिने व्यवस्था गर्नु पर्ने उनको ठहर छ ।

प्रकाशित: १६ भाद्र २०८२ २०:४० सोमबार