भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विश्वविद्यालयहरू पनि सहयोगमा जुटेका छन्।
पछिल्लो दुई दिनमा सार्वजनिक विवरणअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र पोखरा विश्वविद्यालयले कुल ११ करोड १३ लाख २ हजार २ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र पोखरा विश्वविद्यालयले पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका सम्बन्धित विश्वविद्यालयका रजिस्ट्रारले जनाएका छन्।
मुलुककै पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालयको सहयोग हालसम्मकै सबैभन्दा ठूलो रहेको छ। त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा महानन्द चालिसेका अनुसार त्रिविले कुल ९ करोड ४८ लाख २ हजार १ सय ९० रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि विश्वविद्यालयहरूले संस्थागत तथा कर्मचारीको पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेका हुन्।
त्रिविको सहयोग : ९ करोड ४८ लाख २ हजार १ सय ९०
केन्द्रीय लेखा प्रणालीमा समावेश भएका पदाधिकारी, शिक्षक र कर्मचारीको तलबबाट रकम सहयोग गर्ने निर्णय भएको रजिस्ट्रार प्राडा महानन्द चालिसेले जनाए।
रजिस्ट्रार प्राडा चालिसेका अनुसार पदाधिकारीहरूमा उपकुलपति, रेक्टर, रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष र सदस्यले एक महिनाको तलब, नेपाल सरकारले निर्णय गरेअनुरूप प्राध्यापक तथा प्रशासक, सहप्राध्यापक र सोसरहका शिक्षक–कर्मचारीको १० दिन, उपप्राध्यापक र उपप्रशासक तथा शाखा अधिकृतहरूको ७ दिनको तलब, मुख्य कार्यालय सहायक वा सोसरहका कर्मचारीको ५ दिनको तलब र श्रेणीविहीन कर्मचारीको २ दिनको तलब कट्टा गरी कुल ९ करोड ४८ लाख २ हजार १ सय ९० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ महिनाको तलबबाट कट्टा गरी दाखिला गर्ने हो।
त्रिवि कार्यकारी परिषद्को भदौ १२ गतेको निर्णयअनुसार उक्त रकम पारिश्रमिकबाट कट्टा गर्ने निर्णय भएको उनले जनाए।
त्रिविले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विश्वविद्यालयले यसलाई बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा योगदानका रूपमा व्याख्या गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको ८८ लाख
सुदूरपश्चिम विश्वविद्यालयले भोटेकोशी बाढी प्रभावितका लागि करिब ८८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
विश्वविद्यालयका अनुसार उपकुलपतिबाट एक महिनाको तलब, प्राध्यापक, सहप्राध्यापक तथा सोसरहका शिक्षक तथा कर्मचारीबाट १० दिनको सुरु तलब, उपप्राध्यापक तथा सोसरहबाट सात दिन, मुख्य सहायक तथा सहायक तहबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको रकम कट्टा गरिनेछ। यसबाट करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ।
पोखरा विश्वविद्यालयको ७७ लाख
पोखरा विश्वविद्यालयले पनि बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
पोखरा विश्वविद्यालयले पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको तहअनुसार पारिश्रमिक कट्टा गर्ने व्यवस्था गरेको छ। उपकुलपतिबाट एक महिनाको तलब तथा अन्य तहका शिक्षक तथा कर्मचारीबाट दुईदेखि १० दिनसम्मको सुरु तलब बराबरको रकम कट्टा गरिनेछ।
पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेका अनुसार उपकुलपतिको एक महिनाको, विशिष्ट र प्रथम श्रेणीका शिक्षक तथा कर्मचारीको १० दिनको, दोस्रो श्रेणीका प्राध्यापक तथा कर्मचारीको ७ दिनको तलब कट्टा गरी कोषमा पठाउने निर्णय विश्वविद्यालयले गरेको हो।
यति मात्र होइन, भूकम्पको बेला पनि विश्वविद्यालयले ७ लाख सहयोग रकम संकलन गरेको भए पनि खाता नम्बर नमिलेर राहत कोषमा पठाउन नसकेको रकमसमेत जोडेर यस पटकको भोटेकोशीको बाढीपीडितलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि ७७ लाख रुपैयाँ कोषमा दाखिला गर्ने नियन्त्रक पाण्डेले जनाए।
प्रकाशित: १३ भाद्र २०८३ २०:१४ शनिबार


-600x400.jpg)


