२२ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

यस वर्ष उच्च शिक्षाका लागि १२ जनाले पाए छात्रवृत्ति

कार्यक्षेत्र विस्तारसँगै छात्रवृत्ति कोटालाई सात जनाबाट बढाएर १२ पुर्‍याएको रिड नेपालले यस वर्ष झण्डै ६ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।

कार्यक्षेत्र भित्रका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका १० वटा वडाका १२ माध्यमिक विद्यालयका प्रत्येक एक विद्यार्थीले रिड नेपालको उच्च शिक्षा छात्रवृत्ति पाएका छन्। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार यस वर्ष रिड नेपालले उच्च शिक्षा छात्रवृत्ति वापत ५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ।

विद्यार्थीहरूलाई जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको पन्तले जानकारी दिए। यस वर्ष रिड नेपालको कार्यक्षेत्रमा फक्ताङलुङ गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिम थप भएका छन्। 

यसअघि फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ ईखाबु,५ तापेथोक, ६ लेलेप र ७ ओलाङगोला गरी ४ वटा वडा तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन, ७ खेवाङ र ६ मामाङ्खे गरी ३ वटा गरी कुल ७ वटा वडा रहेका थिए। फक्ताङलुङ गाउँपालिकाका सबै वडालाई कार्यक्षेत्रमा समेट्ने क्रममा यस वर्ष रिडको कार्यक्षेत्र विस्तार हुँदा ३ वटा वडा भित्र ५ वटा माध्यमिक विद्यालय थप भएका छन्।

रिडको कार्यक्षेत्रमा रहेका ५४ वटा विद्यालयमध्ये १२ वटा माध्यमिक विद्यालय समेटिँदा प्रत्येक माविबाट कम्तिमा एक जनाले रिड नेपालको उच्च शिक्षा छात्रवृत्ति पाएका छन्। रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार यस वर्ष तीनवर्षे प्राविधिकधारतर्फ फक्ताङलुङ गाउँपालिकाका वडा नं ५ तापेथोक स्थित पार्वती माविकी सरला लिम्बूले छात्रवृत्ति पाएकी छिन्। सरलासंगै तीनवर्षे प्राविधिकधारतर्फ सिरिजङ्गा गाउँपालिका वडा नं ६ स्थित लक्ष्मी मावि मामाङ्खेका ऐश्वर्या लिम्बू,सोहि गाउँपालिका वडा नं ८ याम्फुदिनस्थित कञ्चनजंघा माविकी लक्की भोटे र वडा नं ७ खेवाङस्थित गणेश माविका लक्ष्मीप्रसाद सेञ्चुरीले छात्रवृत्ति पाएको रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत संगीता केसीले जानकारी दिइन्।

उनका अनुसार दुईवर्षे विज्ञान संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं लेलेपस्थित सरस्वती च्यारीबुक माविका आङछुडोल्मा शेर्पा र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माविका विक्रम लिम्बूले छात्रवृत्ति पाएका छन्। दुईवर्षे शिक्षा–मानविकी तथा व्यवस्थापन संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित सेवालुङ माविका टेकहाङ लिम्बू र सुनदेवी माविका रिजन लिम्बूले छात्रवृत्ति पाएका छन्। फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका सोनिया लिम्बू र आर्दश माविका शान्ति लिम्बू,सोहि गाउँपालिका वडा नं १ सावादिनस्थित रविकला माविका नूमा लिम्बू तथा वडा नं ५ तापेथोकस्थित सरस्वती माविका प्रकृति लिम्बूले समेतले दुईवर्षे शिक्षा–मानविकी तथा व्यवस्थापन संकायतर्फ छात्रवृत्ति पाएको रिड नेपालले जनाएको छ।

रिड नेपालले विगत १३ वर्ष देखि निरन्तर रूपमा यस्तो किसिमको छात्रवृत्ति वितरण गरिरहेको छ। रिड नेपाल ताप्लेजुङका वित्त तथा प्रशासन प्रमुख तेजप्रकाश उपाध्यायका अनुसार रिड नेपालले हाल सम्म १ सय ६ जना विद्यार्थीहरू यस्तो छात्रवृत्ति प्रदान गरिसकेको छ। छात्रवृत्ति वापतमात्र रिड नेपालले हालसम्म ८८ लाख १२ हजार ५६ रुपैयाँ खर्च गरिसकेको उपाध्यायले जानकारी दिए।

रिड नेपाल विगत १७ वर्षदेखि ताप्लेजुङमा गुणस्तरीय शिक्षाका लागि कार्यरत रहेको संस्था हो। नेपालको दोस्रो तथा विश्वको तेस्रो ठूलो कञ्चनजंघा (८,५८६ मिटर) हिमालको पहिलो आरोही जर्ज बैण्डको सम्झनामा यो छात्रवृत्ति स्थापना गरिएको रिड नेपालले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८२ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App