एक लाख १५ हजार रुपैयाँ पुरस्कार राशिको तीनदिने अर्किड ह्याक एक्स–२०२६ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। प्रतियोगितामा नेपालभरबाट १८ देखि २५ वर्ष उमेर समूहका २० उत्कृष्ट टोली सहभागी रहेका छन्। सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।
विद्यार्थीहरूको नवप्रवर्तन, सिर्जनशीलता तथा प्रविधिमैत्री सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनले युवा प्रतिभालाई आफ्नो सीप प्रदर्शन गर्ने, वास्तविक समस्याको समाधान विकास गर्ने तथा उद्योग, शैक्षिक संस्था र प्रविधि समुदायसँग सहकार्य गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको आयोजक अर्किड इन्टरनेसनल कलेज, गौशाला, काठमाडौंले जनाएको छ।
कलेजका प्राचार्य दीपक धमलाले कार्यक्रममार्फत शैक्षिक ज्ञानलाई व्यावहारिक नवप्रवर्तनसँग जोड्दै उद्यमशील सोचको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। यसअघि पनि देशभरका युवा प्रविधि प्रतिभालाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको उनले स्मरण गराए।
कार्यक्रमले नेपालमा प्रविधिमार्फत नवप्रवर्तनको संस्कृतिलाई विस्तार गर्दै युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चुनौतीहरूको समाधान खोज्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। प्रविधिमार्फत सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रमको पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन देशभरबाट छनोट भएका युवा विद्यार्थी तथा प्रविधिप्रेमीहरू नवीन सोचलाई व्यवहारमा उतार्ने तयारीमा जुटेका छन्। सहभागीहरूले एकआपसमा विचार आदान–प्रदान गर्दै साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, ओपन इनोभेसन तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न समस्याको समाधान विकास गर्न थालेका छन्।
आयोजकका अनुसार आगामी ४८ घण्टासम्म निरन्तर सञ्चालन हुने ह्याकाथनमा सहभागीहरूले वास्तविक समस्याको समाधान खोज्ने डिजिटल उत्पादन तथा प्रविधिमा आधारित नवीन परियोजनाहरू तयार पार्नेछन्। यस अवधिमा उद्योग, शैक्षिक संस्था तथा प्रविधि समुदायबीच सहकार्य, सिकाइ र अनुसन्धानलाई पनि प्राथमिकता दिइनेछ।
पहिलो दिनको वातावरण अत्यन्त ऊर्जाशील, सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक रहेको आयोजकले जनाएको छ। सहभागीहरूको उत्साह र नवीन सोचले नेपालमा नवप्रवर्तनको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
कलेजले कृत्रिम बुद्धिमत्ता, डिप लर्निङ, डाटा साइन्स, कम्प्युटर भिजन, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ, इन्टरनेट अफ थिङ्स (IoT) र रोबोटिक्सलगायत अत्याधुनिक प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ। कार्यक्रममार्फत नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत चुनौतीहरूको समाधान विकास गर्न प्रेरित गर्दै नवप्रवर्तनमुखी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ असार २०८३ १८:३६ शुक्रबार





