सरकारले नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउँदा त्यहाँ रहेका स्कुल पनि भत्काइयो। यसले गर्दा सुकुम्बासी बस्तीका विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पठनपाठन केही दिनका लागि अवरुद्ध भयो।
विद्यालय तहको व्यवस्थापन स्थानीय सरकारको दायित्वमा आएसँगै, स्थानीय तहका सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्दै त्यस्ता विस्थापित विद्यालय र त्यहाँका विद्यार्थीको पढाई निरन्तरता गराउने प्रयास थालेको छ।
जसका कारण हालसम्म सम्पर्कमा आएका काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाको पहलमा कुल ३१७ विद्यार्थीको पठनपाठनले निरन्तरता पाएको छ। प्रभावित विद्यालयका ४० शिक्षक कर्मचारीको व्यवस्थापनमा पनि स्थानीय सरकारले पहल गरेको छ।
कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकामध्ये ५२ जना मंगलबारदेखि विद्यालय गएका छन्।
महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि मंगलबारदेखि बल्खुको जनविकास माध्यमिक विद्यालयमा पठाएर पठनपाठन निरन्तरता दिएको काठमाडौं महानगर शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीले बताए।
यी विद्यार्थीहरू नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन्।
‘यो विद्यालय बालबालिका रहेको ठाउँबाट पैदल दूरीमा छ। ५२ जना स्कुल जानेमध्ये बुधबार ४१ जना विद्यालयमा पठाएर आएका छन्, बाँकी ११ पनि विद्यालयमा भर्ना भइसकेका छन्,’ अधिकृत सुवेदीले भने। ‘सुकुम्बासी बस्तीका कुल ६६ परिवारमा रहेका बालबालिकामध्ये ५२ जना विद्यालय उमेरका छन्। ४ जनाले यस वर्ष एसईई दिएका छन्।’
उनीहरू कम्प्युटर, सिलाइ-बुनाइ जस्ता सीप सिक्न चाहन्छन्, त्यसअनुसार महानगरपालिकाले उनीहरूको चाहनाअनुसार सीपमूलक तालिमको व्यवस्था गर्ने योजना बनाएको उनले बताए।
नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा ल्याइएका ६६ परिवारका २०३ जनामध्ये, अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० जना बालक रहेको महानगरले जनाएको छ।
यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा रहेको सुकुम्बासी बस्तीका दुई विद्यालय-बुद्धज्योती बालउद्यम आधारभूत र बालकल्याण आधारभूत विद्यालयका कुल १०५ विद्यार्थीलाई पनि अन्य विद्यालयमा स्थानान्तरण गरी पठनपाठन सुचारु गराइएको छ।
बुद्धज्योती बालआधारभूत विद्यालयका प्रधानाध्यापक सन्तराम श्रेष्ठका अनुसार ०५३ सालमा स्थानीय समुदायको पहलमा स्थापना भएको ३० वर्ष पुरानो स्कुल कक्षा ८ सम्म सञ्चालित हो। यसमा कुल १२० विद्यार्थी अध्ययनरत थिए तर नयाँ शैक्षिक सत्रमा ५५ जना मात्र सम्पर्कमा आएका छन्।
‘सुकुम्बासी बस्तीमा परेको यस विद्यालय भत्किएपछि काठमाडौं महानगर शिक्षा विभागले हाम्रो ५५ विद्यार्थीलाई तरुणमाविमा स्थानान्तरण गरि पठनपाठन निरन्तरता गरेको छ। शिक्षक कर्मचारी पनि तरुण माविमा गएर हाजिर गरिरहनु भएको छ,’ प्र.अ. श्रेष्ठले भने।, ‘महानगरले प्रक्रिया पुर्याएर मर्ज गर्ने छलफल गरिरहेको छ, तर हाम्रा अभिभावक र विद्यालय व्यवस्थापन समिति मानेको छैन। अहिले पनि तरुण माविमा बुद्धज्योती स्कुलकै नाममा विद्यार्थी भर्ना भएर पढिरहेका छन्। बालाजु क्षेत्रकै खाली सरकारी जग्गामा हाम्रो विद्यालय स्थापना हुनु पर्ने हाम्रो माग हो।’
विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन्। यसैगरी बालकल्याण आधारभूत विद्यालयमा कक्षा ७ सम्म पढाइन्छ। यस विद्यालयमा पनि १२० विद्यार्थी विगतमा पठनपाठन गर्दै आएका थिए। यस शैक्षिक सत्रका लागि ५० जना विद्यार्थी सम्पर्कमा आएर स्कुलको रजिष्ट्ररमा भर्ना भएका प्र.अ. अर्जुन मुडभरीले बताए।
महानगरले यस स्कुललाई पकनाजोलको युवक माविमा मर्ज गर्ने छलफल चलाइरहेको भए पनि प्र.अ., विद्यालय व्यवस्थापन समिति र अभिभावक तयार छैनन्।
‘युवक माविमा आज हामीले आफ्नै विद्यालय बालकल्याण आधारभूतको नाममा ५० जना विद्यार्थी भर्ना गर्यौं र युवकमाविको कक्षामा पढ्न पठायौं। महानगरले यो विद्यालय हाललाई स्थानान्तरण मात्र गर्ने पत्र थमाएको छ,’ उनले भने। ‘हाम्रा विद्यालयमा ११ शिक्षक कर्मचारी छन्, जसले कक्षा ७ सम्मका बालबालिकाको शिक्षण सिकाइ गराउँदै आएका छन्। ३४ वर्ष पुरानो विद्यालयको अस्तित्व मेटाउन हामीलाई मान्य छैन। १६ वडामा सरकारले सरकारी जग्गामा हाम्रो विद्यालय स्थापना गरेर निरन्तरता दिनुपर्छ।’
मध्यपुर ठिमीको मनहरा नदी किनारमा रहेको सरस्वती आधारभूत विद्यालयका १६० विद्यार्थीलाई वडा नम्बर १ मा रहेको सामुदायिक भवनमा स्थानान्तरण गरिएको नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताए।
‘मंगलबार सामुदायिक भवनमा कक्षा संचालन गरियो। सम्पर्कमा १६० विद्यार्थी आए पनि पहिलो दिन कक्षामा ७५ विद्यार्थी मात्र उपस्थित भए,’ प्रमुख भट्टले भने।, ‘०६१ सालमा सुकुम्बासी बस्तीका बालबालिकाका लागि स्थापना गरिएको यो आधारभूत विद्यालयलाई आगामी दिनमा जग्गा खोजेर स्थानीय रुपमा व्यवस्थापन गर्ने तर्फ लागिएको छ। आफ्नो घर नभएसम्म सामुदायिक भवनमा अल्पकालीन व्यवस्था गरिएको छ।’
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रावासमा राखेर पढाउने चाहना राखेका छन्। शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार, छात्रावास बस्न इच्छुकमध्ये ११ जना छात्रा र १९ जना छात्र छन्।
‘मंगलबारदेखि विद्यालय गएका विद्यार्थीका लागि शैक्षिक सामग्री र पोशाक व्यवस्थापनको काम भइरहेको छ,’ वरिष्ठ अधिकृत सुवेदीले नागरिकसँग भने। ‘छात्रावास रहेका भिमसेन स्थानको परोपकार मावि र स्वयम्भूमा रहेको आनन्दकुटी माविसँग समन्वय भइरहेको छ। साथै, निजी विद्यालय संचालकका छाता संगठनहरू-प्याबसन, एनप्याबसन, हिसानलगायतसँग अनुरोध गरिएको छ।’
महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेरका बालबालिकालाई मात्र छात्रावासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि त्यही अनुरूप व्यवस्थापनको प्रयास गर्ने तयारी महानगरको छ। ‘निजी तथा संस्थागत विद्यालयबाट खवर प्राप्त भएपछि इच्छुक र योग्य बालबालिकालाई छात्रावास पठाउनेछौं,’ निर्देशक आचार्यले भने।
प्रकाशित: २२ वैशाख २०८३ १८:३६ मंगलबार





