दुई महिनाको अस्थिर युद्धविरामपछि मध्यपूर्व क्षेत्र फेरि तनावपूर्ण बनेको छ।
इरानले स्थानीय समय अनुसार आइतबार राति करिब १० बजेतिर इजरायलको उत्तरी क्षेत्रलाई लक्षित गरी करिब १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको हो। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर (दाहिया) मा इजरायलले गरेको आक्रमणको बदला लिन यो कदम चालिएको इरानले बताएको छ। इजरायलको उक्त आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने बालबालिकासहित २० जना घाइते भएका थिए।
इजरायली अधिकारीहरूका अनुसार अप्रिल महिनामा कमजोर युद्धविराम लागू भएयता इरानले इजरायलमाथि सिधै क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो। आक्रमणको समयमा इजरायलका धेरै क्षेत्रहरूमा खतराको साइरन बजेको थियो, जसका कारण लाखौँ मानिसहरू ज्यान जोगाउन सुरक्षित आश्रयस्थलतर्फ दौडिएका थिए।
इजरायलको सेनाले इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई आकाशमै रोकेको र यसबाट कुनै ठूलो मानवीय क्षति नभएको बताएको छ (केही सामान्य चोटपटक मात्र)। आक्रमणपछि इजरायलले देशभरिका विद्यालयहरू बन्द गर्न र ठूला कार्यक्रमहरू नगर्न आदेश दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यो आक्रमण केवल एक 'चेतावनी' भएको बताएको छ। इरानले यदि अमेरिका वा इजरायलले थप कुनै आक्रामक कार्य गरेमा यसको दायरा फराकिलो पारिने र मध्यपूर्व क्षेत्रभरि रहेका सबै अमेरिकी तथा इजरायली केन्द्रहरूमा ठुलो आक्रमण गर्ने चेतावनी दिएको छ।
सम्भावित इजरायली जवाफी कारबाहीलाई मध्यनजर गर्दै इरानले आफ्नो पश्चिमी हवाई क्षेत्र बन्द गरेको छ भने इराकले ७२ घण्टा र सिरियाले १२ घण्टाका लागि हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरू समेत प्रभावित भएका छन्।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल दुवैलाई संयम अपनाउन र एकअर्कामाथि आक्रमण नगर्न अनुरोध गरेका छन्। राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच टेलिफोन संवाद भएको छ। कुराकानीमा उनले अमेरिका र इरानबिचको कूटनीतिक प्रयासलाई मौका दिन इरानमाथिको सम्भावित सैन्य आक्रमण रोक्न दबाब दिएका हुन्। तर इजराइलले इरानमाथि जवाफी हमला गरेको छ।
एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘अब पुग्यो। म अहिले नै नेतान्याहूलाई फोन गर्नेछु र बदला नलिन भन्छु। दुवै पक्षले एकअर्कामाथि प्रहार गरिसके, अब हामीलाई थप आक्रमण चाहिँदैन। हामी इरानसँग स्थायी शान्ति सम्झौताको निकै नजिक पुगेका छौँ र सम्भवतः यसै हप्ता सम्झौतामा हस्ताक्षर हुन सक्छ।’
ट्रम्पले थपे, ‘सबै निर्णय म गर्छु, नेतान्याहूले निर्णय लिने होइन। उनीसँग अमेरिकी सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प छैन।’ जेरुसेलमस्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।
इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले राजनीतिक नेतृत्वबाट आदेश पाउने बित्तिकै तेहरानमाथि दृढतापूर्वक घातक प्रहार गर्न सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्। अर्का सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले इरानले गम्भीर गल्ती गरेको बताएका छन्।
तर, अमेरिकी राष्ट्रपति ट्रम्पको कडा विरोध र दबाबका कारण इजरायलले आफ्नो जवाफी कारबाहीलाई केही दिन ढिलाइ गर्ने विचार गरिरहेको बुझिएको छ। पाकिस्तान, कतार र इजिप्ट जस्ता मध्यस्थकर्ता देशहरूले पनि तनाव कम गराउन कूटनीतिक प्रयास गरिरहेका छन्। एजेन्सी
प्रकाशित: २५ जेष्ठ २०८३ ०६:३९ सोमबार





