शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयका प्रधानाध्यापक तथा शैक्षिक सत्र २०८२ मा सेवा निवृत्त भएका शिक्षकलाई सम्मान गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार शैक्षिक सत्र २०८२ मा अनिवार्य तथा स्वेच्छिक अवकाश लिने ३२ जना शिक्षकलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमध्ये माध्यमिक तह प्रथम श्रेणीका १ जना, द्वितीय श्रेणीका ३ जना, तृतीय श्रेणीका १ जना तथा माध्यमिक राहतका १ जना शिक्षक रहेका छन्। त्यसैगरी निम्न माध्यमिक प्रथम श्रेणीका १ जना, प्राथमिक तह प्रथम श्रेणीका ३ जना, प्राथमिक द्वितीय श्रेणीका १४ जना तथा प्राथमिक तृतीय श्रेणीका ८ जना शिक्षक सम्मानित भएका छन्।
शतप्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक सम्मानित
एसईई २०८१ मा शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयका प्रधानाध्यापकलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।
सम्मानित हुने प्रधानाध्यापकमा फुङलिङस्थित सांङ्क देछ्योलिङ गोन्पा विद्यालयका पासाङरिता शेर्पा, फक्ताङलुङ गाउँपालिकास्थित सिँवा माविकी निर्मला तामाङ, सरस्वती मावि तापेथोकका चन्द्रमणि सुब्बा लिम्बू तथा खेजेनिम माविका विष्णुकुमार लिम्बू रहेका छन्।
त्यसैगरी आठराई त्रिवेणी गाउँपालिकास्थित गुप्तेश्वर मावि फुलवारीका चन्द्रप्रसाद अधिकारी, मिक्वाखोला गाउँपालिकास्थित मोति मावि खोक्लिङका केबुहाङ लिम्बू तथा पाथीभरा याङवरक गाउँपालिकास्थित कालिका मावि तिरिङ्गेका देवीबहादुर गौतम पनि सम्मानित भएका छन्।
उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी पुरस्कृत
जिल्लाभरका विद्यालयमध्ये एसईई २०८१ मा छात्रतर्फ सर्वोत्कृष्ट ३.९१ जीपीए ल्याउने सांङ्क देछ्योलिङ गोन्पा विद्यालयका लार्के शेर्पा तथा छात्रातर्फ ३.७८ जीपीए ल्याउने कञ्चनजंघा आवासीय माध्यमिक विद्यालयकी रमियुका दुमी राईलाई जनही ४ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ।
त्यसैगरी धार्मिक प्रकृतिका विद्यालयतर्फ छात्रामा जिल्ला प्रथम हुने साङ्क देछ्योलिङ गोन्पा विद्यालयकी पेम्बाछिकी शेर्पा (३.७४ जीपीए), संस्थागत विद्यालयतर्फ छात्रतर्फ जिल्ला प्रथम हुने कञ्चनजंघा आवासीय माविका अर्पण भट्टराई (३.५८ जीपीए) तथा सामुदायिक विद्यालयतर्फ छात्रामा प्रथम हुने भानुजन माविका पर्वत भट्टराई (३.७७ जीपीए) र छात्रातर्फ सोही विद्यालयकी श्रुति लिम्बू (३.७० जीपीए) लाई जनही ३ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।
‘शैक्षिक गुणस्तर सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्छ’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले सीमित स्रोत–साधनका बीच पनि सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक रहेको बताए।
सम्मानित प्रधानाध्यापकहरूको तर्फबाट बोल्दै गुप्तेश्वर मावि फुलवारीका प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारीले शिक्षक र विद्यार्थीले आफ्नो कर्तव्य तथा जिम्मेवारी पूरा गरेमा नतिजा स्वतः सुधार हुने धारणा राखे।
सेवा निवृत्त शिक्षकको तर्फबाट सारदा मावि थुम्बेदिनका शिवप्रसाद न्यौपानेले शिक्षकको दायित्व केवल पढाउनेमा सीमित नभई विद्यार्थीलाई सक्षम र जान्ने बनाउनेसम्म रहेको बताए।
त्यसैगरी साङ्क देछ्योलिङ गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले भाषा तथा धार्मिक प्रकृतिका विद्यालयप्रति राज्यको दृष्टिकोण सुधार हुनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार विद्यालयमा शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापनका लागि वार्षिक ६८ लाख रुपैयाँ खर्च हुने गरेको छ। सरकारले वार्षिक १८ लाख रुपैयाँ मात्र उपलब्ध गराउने भएकाले बाँकी रकम चन्दा संकलनमार्फत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
याङ्लीजुङ आधारभूत विद्यालयबाट अवकाशप्राप्त शिक्षक कमल बस्नेतले आधुनिक समयमा प्रविधिमैत्री र व्यवहारिक शिक्षा अपरिहार्य भइसकेको धारणा राखे।
प्रकाशित: २७ वैशाख २०८३ १८:४५ आइतबार





