२१ मंसिर २०८२ आइतबार
image/svg+xml
शिक्षा

निरन्तर पहिरोमा पढेका विद्यार्थी नयाँ भवन पाउँदा खुसी

जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?' चिरिएको जमिन, बारम्बार दोहोरिने बाढी, हावाहुरीले उडाइदिने छाना। वर्षात परेपछि कक्षाकोठाभित्रै पानी पस्ने, भित्तो चर्किने, काठका ढोका नै बगाएर लैजाने, यो विद्यालयको दैनिकी जस्तै थियो।

स्थापना भएको २०३२ सालदेखि करिब ४८ वर्षसम्म विद्यालयले सुरक्षित भविष्यभन्दा जोखिमसँगै यात्रा गर्न बाध्य रह्यो।पहिला जोडु र भाडगाउँलाई केन्द्रमा राखेर सुरु गरिएको विद्यालय २०८० चैतपछि भने इतिहासको नयाँ मोडमा प्रवेश गर्यो। विद्यालय अहिले रुघा, काडागाउँ, भाडगाउँ र जोडुको बीचको सुरक्षित स्थानमा सारिएको छ। सिंजा-६ दाँत भन्ने ठाउँमा सारिएको हो।

करिब पाँच सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा आज शिक्षक, अभिभावक र स्थानीय सबैको अनुहारमा हर्ष, राहत र गर्व मिसिएको देखिन्छ। कक्षा ८ का महेन्द्र बुढा पुराना दिन सम्झँदा अझै पनि भावुक हुन्छन्। 'भारी पानी पर्यो कि ढोका उघारिन्थेन। कहिले त भुइँमै बगेर पानी आउँथ्यो। अब चाहिँ डर छैन, स्कुल त नयाँ घरजस्तै छ,' उनी भन्छन्।

यस्तै कक्षा ६ की फुलमाया बुढाको सम्झना झनै पीडादायी छ 'पानी पस्छ भन्दै शिक्षकले भुइँतिर नबस्' भनेर चेतावनी दिनुपर्थ्यो। पुस्तिका भिज्थे। अहिले उज्यालो कोठा छ, सफा चर्पी छ, पानीको धारा छ। स्कुल आउनै मन लाग्ने। विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि त्यही जोखिमको पीडा बोक्दै आएका थिए। जोडुकी कुसुमकली बुढाको मन अझै पनि अचम्मले हलुका हुन्छ, 'पहिले बच्चाले स्कुल गयो भने बेलुका फर्किएला कि नफर्किएला भन्ने चिन्ता हुन्थ्यो। कहिले छाना उडेको खबर, कहिले पहिरोको। अब त्यो त्रास सकियो।' मानबहादुर बुढाको अनुभव अझै ताजा छ, 'बाढी आउँदा स्कुल छिर्नुपर्थ्यो, काखैमा बच्चा उठाएर ल्याउनु पर्थ्यो। अब चाहिँ त्यो दिन फर्किँदैन। सुरक्षित स्कुल पाउनु हाम्रो ठूलो राहत हो।'

पूर्वप्रध्यानाध्यापक नरबहादुर बुढाका अनुसार ४८ वर्षमा जितेको भन्दा हारेको धेरै छ। हरेक वर्ष ७०–८० लाख मर्मतमै खर्चिनुपर्थ्यो। भवन बग्थ्यो, कहिले त कक्षाकोठा नयाँ ठाउँमा बनाउनुपर्थ्यो। स्कुलमाथि देवताले रिसाएजस्तै लाग्थ्यो। तर उनी आज खुसी हुँदै भन्छन्, 'अब लाग्छ, हामीले सपना देखेको विद्यालय यही हो।'

सिंजा-६ दाँत भन्ने स्थानमा स्थानीयबाट पाँच हजार वर्गमिटर जग्गा ८ लाख ५० हजार रुपैयाँमा खरिद गरेर निर्माण थालिएको हो। स्थानीय कुसुमकली, गोविन, मनजिते, मानबहादुर र मुनबहादुर बुढाले जग्गा बेचेका थिए। पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा चार कोठे भूकम्प प्रतिरोधी भवन, छात्रा तथा अपांगमैत्री तीन कोठे शौचालय, बालमैत्री खानेपानी, सुन्दर कम्पाउन्ड र वातावरणीय संरचना बनेका छन्।

यता, पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपाने भन्छन्, 'यो भवन कंक्रिट मात्रै होइन, बच्चाहरूको भविष्यको सुरक्षा हो।' सिंजा गाउँपालिकाले १ लाख ५० हजार सहयोग गरेको यो परियोजनाको कुल लागत ७८ लाख ६ हजार ३ सय ७९ रुपैयाँ छ। भवन २०८० भदौ १५ मा सुरु भएर २०८१ जेठ २ मा सम्पन्न भएको हो। विद्यालयका शिक्षक रामबहादुर बुढा भन्छन्, 'पहिले पढाउनभन्दा कक्षाकोठा जोगाउनु ठूलो चुनौती थियो। अहिले चाहिँ सिकाइमै ध्यान दिन पाएका छौँ। विद्यालयको वातावरण नै फेरिएको छ।'

नयाँ भवनसँगै विद्यार्थीको उपस्थिति बढेको, बिहानैदेखि स्कुलको आँगनमा चहलपहल देखिन थालेको उनले बताए। यस्तै कनकासुन्दरी गाउँपालिकाको भैलापाटा र गोरुचौर, हिमा गाउँपालिकाको भैरव (जोगीबाडा) तथा महादेव आधारभूत विद्यालयमा पनि सुरक्षित, भूकम्प–प्रतिरोधी भवन निर्माण सम्पन्न भएको पेस नेपालले जनाएको छ। यी संरचनाले जुम्लाका दुर्गम बस्तीका बालबालिकालाई सुरक्षित सिकाइ वातावरणको नयाँ युगमा प्रवेश गराएको सरोकारवालाहरूको ठम्याइ छ।

प्रकाशित: २१ मंसिर २०८२ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App