३१ भाद्र २०८३ बुधबार
image/svg+xml
शिक्षा

एउटै कोठामा इसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थी

मोरङको धनपालथान गाउँपालिका–२ खैरवनामा रहेको आनन्द आधारभूत विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विद्यार्थीले आधारभूत शैक्षिक सुविधासमेत सहज रूपमा पाउन सकेका छैनन्।

कोशी प्रदेशको राजधानीबाट करिब २० किलोमिटर पूर्व दक्षिण सीमा क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरू फोहोर, साँघुरो कोठा, विद्यालयको कामसमेत आफै गर्नुपर्ने बाध्यता रहेको पाइएको छ।

विद्यालयमा इसीडी कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने भए पनि पर्याप्त कक्षा कोठा र शिक्षकको अभावमा एउटै कोठामा दुईदेखि तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था छ। यसका कारण विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ।

विद्यालयको कक्षा कोठा र शौचालयको अवस्था समेत दयनीय रहेको छ। शौचालयमा पानी जम्ने गरेका कारण विद्यार्थीलाई शौच गर्नसमेत समस्या हुने गरेको छ। शौच गर्नुपर्ने अवस्थामा विद्यार्थी घर जानुपर्ने वा विद्यालय परिसरबाहिर खुला स्थानमा शौच गर्नुपर्ने बाध्यता रहेको बताइएको छ।

विद्यालयमा खानेपानीको समेत उचित व्यवस्था छैन। विद्यार्थीले शुद्ध पानी पिउन नपाउँदा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य र सरसफाइमा समेत समस्या देखिएको छ।

विद्यालयमा शौचालय पूरै समस्याग्रस्त, पानी जमेको, शौचालय फोहोरका कारण दुर्गन्ध रहेको पाइएको छ। साना बालबालिकाहरू त्यस्तै दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य रहेको पाइएको छ।

छात्रहरू त्यही दुर्गन्धित र फोहोर शौचालय अगाडि उभिएर शौच गर्छन् भने छात्राहरूलाई समस्या हुने गरेको पाइएको छ। 

विद्यालयमा रहेका चार वटा कोठा मध्ये २ वटामा नियमित रुपमा पठनपाठन हुने गरेको छ। तर, शिक्षकको कमी र भौतिक संरचनाका कारण सबै कक्षाका विद्यार्थीहरूलाई प्रायः एउटै कक्षा कोठा राखेर अध्यापन गराउने गरेको भेटिइएको हो।

एउटा कक्षा कोठामा पानी पर्दा भित्र सबै पस्ने गर्दा भुँइमा पानी जम्ने (आल) हुने गरेको छ। एउटा कक्षा केही राम्रो भएका कारण त्यहीँ कोठा प्रयोग हुने गरेको बताइएको छ।

त्यस्तै, विद्यालयमा विद्यार्थीले खाजा खाएपछि प्रयोग भएका भाँडा वर्तन आफैँ माझ्नुपर्ने बाध्यात्मक अवस्था रहेको पाइएको छ। विद्यालयका लागि आवश्यक कार्यालय सहयोगीको समेत अभाव रहेको बताइएको छ।

यसअघि रहेका कार्यालय सहयोगी अन्यत्र सरुवा भएपछि दैनिक व्यवस्थापनको काममा समेत समस्या भएको विद्यालयको भनाइ छ।

शिक्षकको संख्या पर्याप्त नहुँदा एउटै कक्षा कोठामा फरक–फरक तहका विद्यार्थीलाई राखेर पढाउनुपर्ने अवस्था रहेको छ। यसले शिक्षकलाई अध्यापनमा कठिनाइ हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत असर पर्ने अवस्था सिर्जना भएको छ।

विद्यालयमा तत्काल पर्याप्त शिक्षकको व्यवस्था, कक्षा कोठा तथा शौचालयको सुधार, स्वच्छ खानेपानीको प्रबन्ध र आवश्यक कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको विद्यालयका प्रधानाध्यापक सम्पतलाल मण्डलले बताए।

उनले भने, ‘हामी पनि बाध्यता भएर एउटै कक्षा कोठामा पढाउनु परेको छ। सम्बन्धित निकायलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराए पनि सुनुवाइ हुन सकेको छैन। शौचालयमा बर्खाको समय अलि समस्या हुने गरेको छ। पानी पर्दा यहाँको जमेको पानीको निकास नहुँदा धेरै समस्या भोग्नु परेको छ।’

विद्यालयको पछाडि व्यक्तिको घर भएको र पानी निकास नहुँदा शौचालयमा पानी जमेको हो। ‘पाइप लगाएर त्यहाँ जमेको पानी बाहिर निकास गर्दा सम्भव भएन’, मण्डलले भने, ‘विद्यार्थीका लागि स्वच्छ र शुद्ध पानीको अभाव नै छ । ट्युबवेल (चापाकल)को पानी खानु परेको छ। विद्यालयमा हामी शिक्षक थोरै छौँ। त्यहीँ भएर सबैलाई एकै ठाउँमा राखेर पढाउनु पर्ने अवस्था सिर्जना भएको हो। पहिले विद्यालय व्यवस्थापन समिति हुँदा शिक्षक राख्ने, कार्यालय सहयोगी राख्न सकिन्थ्यो। अहिले नहुँदा समस्या भयो । भएका शिक्षक र कार्यालय सहयोगी एक वर्षदेखि अन्यत्र विद्यालयमा सरुवा भएर गएपछि यहाँ समस्या आएको हो।’

पहिलो विद्यालयमा ६ जना शिक्षक शिक्षिका रहेको र अहिले विद्यालयमा प्रधानाध्यापकसहित तीन जना शिक्षक शिक्षिका रहेका छन्। २ जना राहत कोटाको र एक जना बाल विकासको शिक्षक रहेका छन्।

इसीडी कक्षादेखि कक्षा ५ सम्म ७० जना विद्यार्थी भर्ना भए पनि सरदर दैनिक विद्यालय आउनेको संख्या ४५/५० जना हुने गरेको बताउँदै मण्डलले भने, ‘विद्यार्थीहरूलाई कहिले पनि भाडा माझ्न लगाउँदैनौँ। तर, आज धेरै दिनपछि विद्यालय खुलेको भएर फोहोर भएका २/४ वटा कचौरा आफै माझ्न थालेकी हुन्। एक जना शिक्षिका बाहिर गएका कारण उनले आफै मालेकी होलिन्। हामीले माझ्न भनेका होइनौँ।’

तीन तहको सरकारका शिक्षा हेर्ने निकायले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको सुधारमा ध्यान नदिए विद्यार्थीको आधारभूत शिक्षाको अधिकार नै प्रभावित हुने अवस्था रहेको अभिभावकहरूले गुनासो गरेका छन्। 

प्रकाशित: ३१ भाद्र २०८३ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App