७ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

एसइईमा सामूहिक अनुगमन गर्न राेक

राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामूहिक अनुगमनमा रोक लगाएको छ। एसइई परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा बोर्डका उपनियन्त्रक विष्णु ज्ञवालीले बताए।

उनका अनुसार एसइई परीक्षामा हुल बनाएर अनुगमन गर्न दिँदा त्रासको वातावरण सृजना भई परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेकाले यस्तो सामूहिक अनुगमनमा रोक लगाइएको हो।

उनले भने, ‘प्रत्येक जिल्ला प्रमुखको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति हुन्छ। त्यही समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ। पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न मिल्छ’, उपनियन्त्रक ज्ञवालीले नागरिकसँग भने, ‘परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।’

परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर आतंक नमच्चाउन पनि बोर्डले आग्रह गरेको छ।

चैत १९ देखि चै २९ सम्म सञ्चालन हुने यसपटकको एसइई परीक्षामा पाँच लाख नौ हजार नौ सय ६१ ले परीक्षा फाराम भरेका छन्, जसमध्ये नियमिततर्फ चार लाख ४६ हजार पाँच सय ७६ रहेका छन्। ग्रेडवृद्धितर्फ ६३ हजार चार सय ८५ छन्। देशभर एक हजार नौ सय ९१ परीक्षा केन्द्रबाट ११ हजार ३ सय ७९ माविले सहभागिता जनाउने छन्।

परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि प्रश्नपत्र छपाइ कार्य सम्पन्न गरी ढुवानी  कार्य सुरु गरिसकेको छ। सातै प्रदेशको प्रश्नपत्रको कठिनाइ उस्तै भए पनि परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका फरकफरक छापिन्छन्’, उपनियन्त्रक ज्ञवालीले भने, ‘यदि कथमकदाचित प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको मात्र पुनः छापे पुग्छ।’

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा प्रश्नपत्र ढुवानी कार्य भइसकेको छ। प्रहरीको रोहबरमा सुरक्षित भण्डारण गरिएको छ भने मधेस, बागमती प्रदेशको प्रश्नपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ।उनले भने, ‘अब ढुवानी कार्य सुरु हुन्छ।’

एसइई दिने छात्रा बढी

यसपटकको एसइई परीक्षामा छात्रभन्दा छात्रा संख्या बढी छ। कुल परीक्षार्थीमध्ये छात्रको संख्या दुई लाख ५२ हजार चार सय ३४ छ भने छात्राको सहभागिता दुई लाख ५७ हजार पाँच सय २७ रहेको छ। ‘एसइई परीक्षासम्म पुग्दा छोराहरू कमाउन थाल्छन्। कि उनीहरू कमाउन बिदेसिन्छन् कि त पढाइ छाडेर अभिभावकको आर्थिक भार कम गर्न काम गर्न थाल्छन्’, उपनियन्त्रक ज्ञवालीले नागरिकसँग भने, ‘पछिल्लो समय बालविवाहप्रति सचेतना जाग्दै गएको छ। जसका कारण अभिभावकले छोरी पढाउन थालेका छन्। छोरीहरूको सानैमा विवाह नहुने भएपछि उनीहरूले पढाइलाई निरन्तरता दिएको देखिन्छ। यसकारण पनि एसइई परीक्षामा छोरीहरू छोराभन्दा बढी छन्।’

प्रकाशित: ६ चैत्र २०८२ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App