राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने सबै तयारी पूरा भएको जनाएको छ।
कक्षा दशका परीक्षा नियन्त्रक टुकराज अधिकारीले सरकारको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने नीति अनुसार बोर्डले नतिजा प्रकाशनको सबै तयारी गरिरहेको उनले बताए।
‘देशभरिका परीक्षण केन्द्रहरूबाट ५ लाख १२ हनार ४ सय २१ परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गरी मार्कस्लिप प्राप्त भइसकेको छ,’ नियन्त्रक अधिकारीले नागरिकसँग भने, ‘तथ्यांकहरू कम्प्युटरमा इन्ट्री गर्ने काम प्राविधिकहरूले गरिरहनुभएको छ। बिदा समेत नमानी बोर्डले वैशाख २९ गते नै नतिजा प्रकाशनको सबै तयारी अन्तिम चरणमा पुर्याइसकेको छ।’
उनले परीक्षा केन्द्रहरू मै परीक्षकहरूले उत्तरपुस्तिका परीक्षण गर्दा निकै सावधानी अपनाएको र त्रुटिरहित नतिजा प्रकाशनको तयारी बोर्डले गरिरहेको दाबी गरे।
‘शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणको अभिमुखीकरण परीक्षा केन्द्रमै गरिएकाले उत्तरपुस्तिका शिक्षकहरूबाट राम्ररी परीक्षण भएको देखिन्छ,’ उनले भने, ‘अब प्राविधिकहरूको सबै तथ्यांक इन्ट्रीको काम सकेपछि बोर्डको बैठक बसेर नतिजा प्रकाशन हुन्छ।’ यस वर्षको एसइईमा नियमित तर्फ चार लाख ४१ हजार ५ सय ६६ परीक्षाहरूको सहभागिता छ। ग्रेडवृद्धि तर्फ ७० हजार ८ सय ५५ ले फारम भरेका थिए। देशभरि १९७२ परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र बनाइएको थियो।
यस वर्षको एसइईमा छात्राहरूको कुल संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ।
प्रकाशित: २७ वैशाख २०८३ १३:१८ आइतबार





