ताप्लेजुङको फुङलिङ नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको छ।
कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी संख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने नगरपालिकाले नीतिमार्फत भनेको छ। नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनि कार्यविधि २०८३ जारी गर्दै विद्यार्थी संख्याको अनुपातका आधारमा शिक्षकको व्यवस्थापन गर्न र विषयगत शिक्षक समेतको व्यवस्थापनका लागि उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको बताएको छ।
नगरपालिकाले प्रत्येक विद्यालयमा कम्तिमा एक बाल विकास केन्द्र र बाल विकास सहयोगी कार्यकर्ताको व्यवस्थापन गर्ने भनेको छ। आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ३० जनासम्म विद्यार्थी भएमा शिक्षकको न्यूनतम् कोटा २ जना र ३१ जनाभन्दा बढी भएमा न्यूनतम् शिक्षकको कोटा ३ जना निर्धारण गर्ने नगरपालिकाको नीति छ।
कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ५१ जना वा सो भन्दा बढी विद्यार्थी भएमा शिक्षकको दरबन्दी थप गरिने नगरपालिकाले कार्यविधिमार्फत भनेको छ। आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका सम्भव भएसम्म ४ जना निम्न माध्यमिक शिक्षकको व्यवस्थापन गरिने भएको छ।
आधारभूत तह कक्षा ६–८ मा शिक्षक व्यवस्थापन गर्दा विषयगत प्राथमिकीकरणका आधारमा अंग्रेजी १, गणित/विज्ञान १, नेपाली १ र सामाजिक १ गरी ४ वटा सम्म शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गरिने छ भने सो हुन नसकेमा भविष्यमा हुने शिक्षक नियुक्ति वा सरुवामा मिलान गरी व्यवस्थापन गर्ने नगरपालिकाको कार्यविधिमा उल्लेख गरिएको छ। माध्यमिक तह कक्षा ९–१० सञ्चालन भएका विद्यालयमा न्यूनतम् ५ जना माध्यमिक शिक्षकको व्यवस्थापन गरिने छ भने यसरी शिक्षक व्यवस्थापन गर्दा विषयगत प्राथमिकीकरणका आधारमा अंग्रेजी १, गणित १, विज्ञान १, नेपाली १ र सामाजिक १ गरी ५ वटासम्म शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य गरिने छ।
एकैपटक विषयगत शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान हुन नसकेमा भविष्यमा हुने शिक्षक नियुक्ति वा सरुवा मिलानबाट व्यवस्थापन गर्दै लगिने र ऐच्छिक विषयको व्यवस्थापन अनिवार्य विषय पश्चात क्रमशःगर्दै लगिने कार्यविधिमा भनिएको छ। कक्षा ११ र १२ सञ्चालन भएका माध्यमिक विद्यालयहरूमा माध्यमिक तहमा सम्भव भएसम्म ३ जना शिक्षकको व्यवस्थापन गरिने भएको छ।
कक्षा ११ र १२ सञ्चालन भएका माध्यमिक विद्यालयहरूमा शिक्षक व्यवस्थापन गर्दा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने अनिवार्य र ऐच्छिक विषय हेरेर सम्भव भएसम्म कम्तिमा ३ जना शिक्षकको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको छ। शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्दा कक्षा ६–८, कक्षा ९–१० र कक्षा ११–१२ सञ्चालित विद्यालयहरूमा सो तहको तहगत तथा विषयगत शिक्षक अपुग भएमा नगरपालिकामा खुद पुलमा रहेका प्राथमिक तहका माथिल्लो योग्यता भएका शिक्षकहरूबाट उपलब्ध भएसम्म विषयगत शिक्षकको न्यूनतम् संख्या कायम गर्ने नगरपालिकाले बताएको छ।
नगरपालिकाले दरबन्दी मिलानका आधारहरू समेत खोल्दै प्रत्येक शैक्षिक सत्रमा विद्यार्थीहरूको एकीकृत शैक्षिक सूचना प्रणालीमा प्रविष्ट भएका विद्यालयका तह, कक्षा, विषय र विद्यार्थी संख्याका आधारमा सत्यपान गर्दा प्राप्त विवरण बमोजिम प्रत्येक नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि वा सुरु भएको बढीमा पहिलो हप्ता भित्रमा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य पूरा गर्ने नगरपालिकाको नीति रहेको छ।
प्रकाशित: ३० असार २०८३ १३:१३ मंगलबार





