संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका–३ का रफिक भट्टराई प्रथम भएका छन्।
तिरिङ्गेस्थित कुम्भकर्ण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत भट्टराईले प्रतियोगितामा प्रथम हुँदै कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङको प्रतिनिधित्व गर्ने भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका–५, चाँगेस्थित चाँगे माध्यमिक विद्यालयकी समीक्षा तामाङ द्वितीय र पाथीभरा याङवरक गाउँपालिका–६, थुम्बेदिनस्थित शारदा माध्यमिक विद्यालयकी प्रज्ञा नेपाल तृतीय भएकी छन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको परिपत्रअनुसार ‘नेपालको संविधान र सङ्घीयता कार्यान्वयन’ शीर्षकमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयबाट ९ जना विद्यार्थी सहभागी थिए।
प्रकाशित: २६ भाद्र २०८३ १६:४४ शुक्रबार


-600x400.jpg)


