नेपाल संस्कृत विश्वविद्यालयमा बेथितिको चाङ बढिरहेकै छ। चारवर्षे शास्त्री तह (स्नातक) को पठनपाठन सकेर विद्यार्थी केही दिनमा पास आउट हुँदै छन्, तर यी विद्यार्थीले आचार्य (स्नातकोत्तर) तहको शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने अवस्था विश्वविद्यालयले सिर्जना गरेको छ।
पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयले अझै पाठ्यक्रम नै निर्माण गर्न सकेको छैन। यसले गर्दा शास्त्री तह पास हुने विद्यार्थीको आचार्य तहमा प्रवेश रोकिने स्थिति छ। यसले विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपन हदैसम्मको भएको स्पष्ट भएको छ। विश्वविद्यालयका पदाधिकारी विद्यार्थीप्रति उत्तरदायी नबनेपछि प्राध्यापकहरूले सार्वजनिक रूपमा विज्ञप्ति जारी गरी पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छन्।
यति मात्र होइन विश्वविद्यालयमा विद्यावारिधि उपाधि हासिल गराउन स्थापना गरिएको अनुसन्धान परिषद्का अध्यक्ष नै विद्यावारिधिविहीन रहेको रहस्य खुलेको छ। अनुसन्धान परिषद्को अध्यक्ष शिक्षाध्यक्ष हुने व्यवस्था छ, तर शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले विद्यावारिधि गरेका छैनन्। यसले पनि परिषद्को गरिमामै आँच पुर्याएको नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले चिन्ता व्यक्त गरे।
‘शास्त्री तहको अन्तिम वर्षको परीक्षा सकेर नतिजा प्रकाशन रोकिएको छ। किनभने यी विद्यार्थीलाई आचार्य तहमा प्रवेश गराउने पाठ्यक्रम विश्वविद्यालयले निर्माण गरेकै छैन’, सभापति लामिछानेले दु:ख व्यक्त गरे, ‘विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारज्यूहरू नियुक्ति पाएपछि विश्वविद्यालयको सेवक नभएर शासक बन्नुभएको छ। देश–विदेशमा सम्मान खानै व्यस्त हुनुहुन्छ। विद्यार्थीको भविष्य, शैक्षिक र प्राज्ञिक सुधारका बारेमा कुनै काम गर्न सक्नुभएको छैन। यति मात्र होइन पाठ्यक्रम निर्माण गर्न सकेर विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने अधिकार हनन भएको छ, तर पदाधिकारीलाई कुनै चिन्ता छैन। अझै नतिजासमेत रोक्नुभएको छ। यो गैरजिम्मेवारको पराकाष्ठा नै हो।’
विश्वविद्यालयको उपकुलपति भनेको प्राज्ञिक नेता हो, तर उपकुलपतिले नै अनुसन्धान परिषद्मा जहाँ विद्यावारिधिको उपाधि उपलब्ध गराइन्छ त्यस्तो संस्थाको अध्यक्षमा विद्यावारिधि नै नगरेको व्यक्ति नियुक्ति गर्नु प्राज्ञिक नेतृत्व कमजोर भएको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल संस्कृत विश्वविद्यालयका संयोजक सहप्राध्यापक डा. प्रकाश तिवारीले बताए। उनले अनुसन्धान परिषद् विशुद्ध संस्कृत शिक्षासँग सम्बन्ध भएको समेत ख्याल नगरी नौ सदस्यीय परिषद्मा एकजनाबाहेक सबै आधुनिक शिक्षाकै नियुक्ति भएकोमा समेत उनले असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेका छन्।
विश्वविद्यालयको नियममा भएको व्यवस्थाबमोजिम २० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापकको पदोन्नतिसमेत गर्न नसकेको, वर्षौंदेखि योग र प्राकृतिक चिकित्सा कार्यक्रम हाँकिरहेका शिक्षकलाई नियुक्ति र तलब सेवासुविधासमेत विश्वविद्यालयले दिएको छैन।
‘उपकुलपति नियुक्ति हुनुभएको नौ महिना बढी भइसक्यो तर अझसम्म प्राज्ञिक परिषद्समेत गठन भएको छैन। राजनीतिक भागबन्डा मिल्न नसकेकै कारण प्राज्ञिक परिषद् गठन हुन नसकेको बुझिएको छ। विश्वविद्यालयका शैक्षिक नीतिनियम र कार्यक्रम तर्जुमा तथा पाठ्यक्रम निर्माणलगायतका सबै काम ठप्प छन्’, संयोजक तिवारीले नागरिकसँग भने, ‘अबको ६ महिनाभित्र २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका शिक्षकहरू पदोन्नति नभएरै बिदा हुने अवस्था छ।’ उनले थपे, ‘परीक्षा नतिजासमेत रोकेर विद्यार्थीलाई शैक्षिक अन्धकारमा पार्नु आपत्तिजनक हो। साथै आंशिक शिक्षकको वर्षौंदेखिको समस्या समाधान नगर्ने र प्राध्यापक तथा विद्यार्थीका जायज मागसमेत पूरा नगरी विश्वविद्यालय ठप्प बनाएको छ, जुन गलत छ।’
विश्वविद्यालयको बेथितिबारे पटकपटक विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउने प्राध्यापकहरूको प्रयासलाई पदाधिकारीले ध्यान नदिइएको गुनासो छ। विश्वविद्यालयको नेतृत्वले विश्वविद्यालयका निकायहरूमा प्राज्ञिक नेतृत्व दिन नसकेको र सांगठनिक सन्तुलन कायम गर्न नसकेका कारण विश्वविद्यालयको शैक्षिक स्तरसमेत खस्कँदै गएको शिक्षकहरूको ठहर छ।
विश्वविद्यालयका उपकुलति प्रा.डा. धानेश्वर नेपालले विश्वविद्यालयमा आफू उपकुलपति भएपछि सुधारको प्रयासमा लागेको दाबी गरेका छन्। उनले संस्कृत विश्वविद्यालयमा संस्कृतकै विज्ञहरू अनुसन्धान परिषद्मा आउँदा विश्वविद्यालय थप स्तरीय हुने अवगत हुँदाहुँदै पनि आफूले परिषद्मा पहिल्यै नियुक्त भएको आधुनिक विद्याका सदस्यहरूलाई हेरफेर गर्न नसकेको स्पष्ट पारे।
‘मैले अनुसन्धान परिषद् चलाउन थालें भने विश्वविद्यालयभित्र द्वन्द्व उत्पन्न हुन्छ। सदस्यको नियुक्ति दुई वर्षको हुन्छ। अब दुई वर्षपछि सुधार गर्न सकिन्छ’, उपकुलपति नेपालले नागरिकसँग भने, ‘प्राज्ञिक परिषद् गठनबारे छलफल भइरहेको छ। मास्टर तहको पाठ्यक्रम बनाउन ढिलाइ भएको पक्कै हो। अब म यसका लागि विषय समितिको बैठक बोलाउने तयारीमा छु।’ उनले जोड दिए, ‘विश्वविद्यालयको बेथिति पुराना छन्। विस्तारै सुधारको क्रममा लाने छु।’
प्रकाशित: २७ श्रावण २०८२ ०८:१९ मंगलबार

