केही दिनअघि विद्यार्थी कुटेको अभियोग लागेका यहाँका एक प्रधानाध्यापकलाई जिम्मेवारी मुक्त गरिएको छ। कक्षा १० की छात्रालाई कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका ५ दमौटीस्थित जनता माध्यमिक विद्यालय दमौटीका प्रअ राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको हो।
विद्यालय व्यवस्थापन समितिको मङ्गलबारको बैठकले उनलाई प्रअबाट हटाउने निर्णय गरेको हो। कक्षा १० मा अध्ययनरत छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी गालामा झापट हानेका प्रअलाई तत्काल जिम्मेवारीबाट हटाउनुपर्ने अभिभावकहरूको माग अनुसार व्यवस्थापन समितिले उनलाई हटाएको जनाएको छ।
घट्नापछि स्थानीयको चर्को विरोध थाम्न नसकेर विद्यालय व्यवस्थापन समितिले आइतबार नै बैठक बोलाएको थियो। सो दिनदेखि मङ्गलबारसम्म सबै एक स्वरले प्रअबाट हटाउनुपर्ने मत राखेपछि निर्णय गरेरै राउतलाई जिम्मेवारीमुक्त गरिएको विव्यवस अध्यक्ष कुबेर मगरले बताए।
कक्षामा सामाजिक विषय पढाइरहेका बेला विद्यार्थीसँग सवाल जवाफ भएको घट्नामा उनले थप्पड हानेका थिए। सामान्य विषयमा छलफल गर्दा विद्यार्थीलाई अन्य तरिकाले पनि सम्झाउन सक्ने विकल्प हुँदाहुँदै कुटपिटमा उत्रिएर गलत गरेको निष्कर्ष निकाल्ने उनलाई प्रअबाट हटाइएको अध्यक्ष मगरले बताए।
उनको हिर्काईले समीक्षाका आँखा र गाला सुन्निएर घाइते अवस्था भएको अभिभावकको भनाई छ। केही महिनाअघि मात्र प्रअमा नियुक्त राउत जिम्मेवारी पाए पनि नियमानुसार भूमिका निर्वाह नगरेकोमा असन्तुष्ट अभिभावले यही मौका पाएर जिम्मेवारीबाट हटाएको स्थानीयको भनाई छ।
उनलाई हटाएपछि तत्कालका लागि शिक्षक अङ्गधन राईलाई प्रअको जिम्मेवारी तोकिएको अध्यक्ष मगरले बताएका छन्। विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गा राईका अनुसार हाललाई बैठकले राउतलाई हटाएर राईलाई निमित्त प्रअको जिम्मेवारी तोकेको छ। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको सदस्य राईले बताए।
प्रकाशित: २९ आश्विन २०८२ १३:४९ बुधबार




