त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन्।
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचारकक्षमा एआईको प्रयोग, मानव-मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए।
भ्रमणका क्रममा सहभागीले सिचुआन न्यूजनेट ग्रुप, सिचुआन टिभी, छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा रोबोट पार्कलगायत संस्थाको अवलोकन गरेका थिए।
कार्यक्रममा त्रिविसहित पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विद्यार्थी सहभागी थिए। त्रिविका उपप्राध्यापक डा ऋषिकेश दाहालले यस्ता शैक्षिक सहकार्यले नेपाली विद्यार्थीलाई सञ्चार प्रविधिमा भइरहेको परिवर्तन बुझ्न सहयोग पुग्ने बताए। युइएसटिसी र त्रिविबीचको चीन-नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो।
नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई सरकारदेखि सरकारमात्र नभइ जनस्तरसम्म जोड्न विभिन्न गतिविधि हुँदै आएको र आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्य जारी रहने युइएसटिसीका प्राध्यापक चाङ स्युनले जानकारी दिए।
कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनार सहभागी थिए। नेपाली टोलीको नेतृत्व केन्द्रीय विभागका उपप्राध्यापक डा ऋषिकेश दाहालले गरेका थिए।
भ्रमणमा त्रिविबाट सात जना सहभागी थिए भने पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका दुई-दुई जनाको सहभागिता थियो। काठमाडौं विश्वविद्यालयबाट एक जनाले सहभागिता जनाएका थिए।
नेपाल-चीनबीच प्राज्ञिक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने केन्द्रीय विभागका डा दाहालले जानकारी दिए। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले युइएसटिसीसँगको सहकार्यले निरन्तरता पाइरहँदा आगामी वर्षमा थप विद्यार्थीले अवसर पाउने बताए।
प्रकाशित: २९ भाद्र २०८३ ०७:०९ सोमबार





