२१ आश्विन २०८३ बुधबार
image/svg+xml
शिक्षा

नेसनल कलेजम ‘मास्टर्स इन साइकोलोजी’ सुरु

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेसनल कलेजले मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) तहको अध्यापन सुरु गर्ने भएको छ।

काठमाडौं विश्वविद्यालयको ‘कन्स्टिच्युएन्ट’ कार्यक्रमका रूपमा सञ्चालन हुने यो शैक्षिक कार्यक्रम भारतको प्रतिष्ठित टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज (टिस), मुम्बईको सहकार्यमा अघि बढाइने भएको हो।

नेपालमा परिपक्व मनोविज्ञान शिक्षा, व्यावसायिक प्रशिक्षण, अनुसन्धान तथा प्रमाणमा आधारित मनोवैज्ञानिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको कलेजले जनाएको छ।

दुई वर्षे तथा चार सेमेस्टरमा विभक्त यो स्नातकोत्तर तह कुल ६० क्रेडिट आवरको हुनेछ। यसलाई पूर्ण रूपमा व्यावहारिक तथा प्रयोगमुखी ढाँचामा तयार गरिएको छ।

यस कार्यक्रमको औपचारिक शुभारम्भ आगामी असोज २२ गते बिहीबार नेसनल कलेजको सभाहलमा गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

शुभारम्भ समारोहमा काठमाडौं विश्वविद्यालयका अधिकारीहरू, मनोविज्ञानका प्राध्यापक तथा विज्ञ, सरकारी एवं स्वास्थ्य क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, शिक्षाविद्, मनोवैज्ञानिक र विद्यार्थीहरूको सहभागिता रहनेछ।

‘यस मास्टर्स कार्यक्रमले शैक्षिक ज्ञान, व्यावसायिक प्रशिक्षण, अनुसन्धान र व्यावहारिक सिकाइलाई एकीकृत गरेको छ,’ नेसनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले भने, ‘यसको मुख्य लक्ष्य व्यक्ति, समुदाय र समाजका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न सक्ने सक्षम मनोवैज्ञानिक जनशक्ति उत्पादन गर्नु हो।’

‘समाजका विभिन्न क्षेत्रमा दक्ष र योग्य मनोविज्ञान जनशक्तिको माग तीव्र गतिमा बढिरहेको छ,’ नेसनल कलेज मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. रिता श्रेष्ठले भनिन्, ‘यो पाठ्यक्रमले सोही खाडल पुर्ने गरी विद्यार्थीलाई व्यावसायिक रूपमा दक्ष बनाउनेछ।’

कार्यक्रममा मनोविज्ञानका क्लिनिकलमनोविज्ञान, परामर्शमनोविज्ञा, जेरोसाइकोलोजी (ज्येष्ठ नागरिकसम्बन्धी मनोविज्ञान), फोरेन्सिक मनोविज्ञान, बाल तथा किशोर मनोविज्ञान, समुदाय, विपद्, मानसिक स्वास्थ्यतथा ट्रमा मनोविज्ञान लगायतका छ वटा क्षेत्रहरु समेटिनेछन्।

प्रा. डा. श्रेष्ठका अनुसार व्यक्ति, परिवार, संस्था र समाजले झेलिरहेका समसामयिक मानसिक तथा मनोवैज्ञानिक चुनौती समाधान गर्न यो कार्यक्रम उपयोगी हुनेछ।

उनका अनुसार विद्यार्थीहरूले मनोवैज्ञानिक सिद्धान्तको गहन अध्ययनसँगै व्यावहारिक सिकाइमार्फत व्यावसायिक सीप विकास गर्ने, अनुसन्धानमा संलग्न हुने, प्रमाणमा आधारित ज्ञान निर्माण गर्ने र सुपरिवेक्षणसहितको व्यावहारिक अनुभव पाउनेछन्।

यसले मानसिक स्वास्थ्यका नयाँ आयामहरू बुझ्न र भविष्यको शैक्षिक तथा व्यावसायिक वृत्तिका लागि ठोस आधार तयार गर्ने उनको भनाइ छ।

प्रकाशित: २१ आश्विन २०८३ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App