११ श्रावण २०८३ सोमबार
image/svg+xml
शिक्षा

महेन्द्र भवन माध्यमिक विद्यालयको पुनःविकास हुने

काठमाडौंको सानो गौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयको पुनःविकास गरिने भएको छ। विद्यालयलाई आधुनिक र नमुना शैक्षिक संस्थाका रूपमा सञ्चालन गर्न काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच संयुक्त व्यवस्थापनको सम्झौता भएको हो। 

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा डा प्रमिला राईले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापति उपस्थित थिए। 

महानगरका अनुसार करिब ४५ दिनअघि विद्यालयका पूर्वविद्यार्थीहरूले कार्यवाहक प्रमुख डंगोललाई भेटेर विद्यालय जोगाउन पहल गरिदिन आग्रह गरेका थिए। त्यसपछि विद्यालयको संरक्षण र पुनःसंरचनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो । 

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले विद्यालयको पुरानो सामाजिक प्रतिष्ठा पुनःस्थापित गर्दै आधुनिक प्रविधिसहित उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिने बताए। विद्यालय संरक्षण पूर्वाधार जोगाउने मात्र नभई यसको शैक्षिक प्रतिष्ठा पुनःस्थापना गर्ने विषय भएकाले गुरुयोजना तयार गरी संयुक्त रूपमा कार्यान्वयन गरिने उनले बताए। 

वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले विद्यालयको सामाजिक छवि पुनःस्थापित भएपछि त्यसले समग्र वडाको पहिचानसमेत बलियो बनाउने बताए। उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शैक्षिक गतिविधि वडा नं ५ को पहिचान बन्ने उनको भनाइ थियो। गुठीका अध्यक्ष प्रमिला राईले विद्यार्थी संख्या घटेपछि विद्यालय सञ्चालन र विद्यालयको जग्गा संरक्षण दुवै चुनौतीपूर्ण बनेको उल्लेख गर्दै महानगरपालिकाको सहकार्यपछि विद्यालयको भविष्यप्रति आशावादी भएको बताइन्। 

वि सं २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा गैरसरकारी विद्यालयका रूपमा स्थापना भएको महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयको व्यवस्थापन २०६१ सालदेखि महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीले गर्दै आएको थियो। 

प्रकाशित: ७ श्रावण २०८३ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App