१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
शिक्षा

जनक शिक्षा दुई महिनादेखि कामविहीन

देशभरका विद्यालय तहका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड दुई महिनादेखि निस्क्रियजस्तै छ। नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाइ तथा वितरणको मुख्य कामको जिम्मेवारी हालसम्म नपाएपछि केन्द्रका मेसिन र जनशक्ति नियमित कामविहीन अवस्थामा पुगेका हुन्।

विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणको मुख्य जिम्मेवारी पाउँदै आएको केन्द्रमा पछिलो समय सरकारी संस्थालाई सक्षम बनाउने उद्देश्यले राज्यका विभिन्न निकायले छपाइको काम दिँदै आएकाले कामको चाप बढेको थियो तर पछिलो समय नयाँ सरकार गठनसँगै विद्यालय तहको पाठ्यपुस्तक परिमार्जन गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्ने तयारी गरेको छ। यसका लागि शिक्षाविद् प्राडा बालाचन्द्र लुइँटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जनका लागि अध्ययन कार्य सुरु गरेको छ।

नयाँ शैक्षिक सत्रका लागि विगतमा भदौ पहिलो साता नै सरकारले पुस्तक छपाइको निर्णय गरी जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको निर्र्णय गरी काम दिने गरेको थियो तर हालसम्म कुन निकायले कति पुस्तक र कुन तहको पुस्तक छाप्ने अझै शिक्षा तथा खेलकुद मन्त्रालयले निर्णय नगरेको हुँदा जनकले पुस्तक छपाइ कार्य गर्न सकेको छैन। दुई महिनादेखि कर्मचारी कार्यालय आउने, हाजिर गर्ने र केही समय बसेर घर फर्कने गरेका छन्। आफूहरू कामविहीन बनेको कर्मचारीहरू नै बताउँछन्। केही समया कामको चाप हुने गरे पनि बाँकी समय काम अभाव हुने समस्या पुरानै हो। पाठ्यपुस्तक छपाइको काम सकिएपछि केन्द्रका मेसिन, प्राविधिक जनशक्ति तथा अन्य कर्मचारीको उपयोग कसरी गर्ने भन्ने विषयमा पटकपटक प्रश्न उठ्दै आएको छ।

जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइसँगै आफूलाई आर्थिक रूपमा सक्षम बनाउन पछिल्लो समय राज्यका विभिन्न निकायको छपाइ कार्य गर्दै आएको थियो। पछिल्लो दुई महिनायता नियमित कामको अभाव अवस्थामा पुगेपछि जनकका कर्मचारीले सरकारको ध्यानाकार्षण गराएका छन्।

जनक स्वतन्त्र कर्मचारी संघका अध्यक्ष रामचन्द्र थापाका अनुसार सरकारले पाठ्यपुस्तक छपाइको निर्णय समयमा नगरेको र जनकसँग हाल अन्य काम नभएकाले जनक हाल विषम र कमजोर परिस्थितिबाट गुज्रिरहेको छ। ‘आगामी वर्षको पाठ्यपुस्तक छपाइ कार्य पूर्णरूपमा रोकिएको अवस्थामा केन्द्र व्यवस्थापनले समेत कुनै पहलकदमी नगर्नुले केन्द्रलाई धराशाही बनाउन लागेको हो कि भन्ने भान हुन्छ’, अध्यक्ष थापाले चिन्ता व्यक्त गरे, ‘गत वर्षकै छापिएको करिब ३० लाख थान किताब स्टक छ। सरकारले पाठ्यक्रम प्रारूपमा परिमार्जन गर्ने निर्णय गरी काम अगाडि बढाएको छ तर पुराना किताबको क्षतिपूर्ति कसरी गर्ने त्यसबारे कुनै सोच छैन।’

उनले थपे, ‘आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ कार्य भदौदेखि प्रक्रिया सुरु गर्ने गरेका थियौं, तर यस वर्ष हालसम्म कुनै निर्णय भएको छैन। दुई महिनादेखि जनकको मेसिन बन्द छ। काम ठप्प छ।’

कार्यालयमा आएर हाजिर गर्ने र दिनभर कार्यालयमा बसेर घर फर्कने गरेको उनले गुनासो गरे। ‘जनकले पुस्तक छपाइका साथै तथ्यांक विभागको बिल, सिटिइभिटी, एसइईका प्रश्नपत्र छपाइ, टेलिकमको रिचार्ज कार्ड, मतपत्र, लाजपुर्जालगायत सरकारी कागजात छपाइ काम गर्दै आएको थियो’, उनले भने, ‘जनकको आधुनिक मेसिन पनि प्रयोग भएका थिए। यी सबै काम रोकिएको छ। हाल जनक शिक्षामा २ सय ६३ स्थायी र ११५ अस्थायी कर्मचारी छन्।’

उनले थपे, ‘८ महिनाको छपाइ कार्यतालिका हुन्छ। त्यो हाल ठप्प छ। यो वर्ष मंसिरमा स्थानीय निर्वाचन पनि भएकाले बालबालिकाका हातमा समयमा पुस्तक छपाइ नभएर नपुग्ने त्रास छ।’

पाठ्यपुस्तक छपाइ सिजनमा कामको चाप धान्न कठिन हुने तर छपाइ सकिएपछि मेसिन तथा जनशक्तिलाई अन्य काममा लगाउन नसक्दा केन्द्रको उत्पादकत्वमा प्रश्न उठ्ने गरेको छ। केन्द्रले शैक्षिक सत्र सुरु हुनुअघि ठुलो परिमाणमा पाठ्यपुस्तक छपाइ गर्नुपर्ने भएकाले वर्षको निश्चित समयमा तीन सिफ्टसम्म काम गर्नुपर्ने अवस्था आउँछ तर पाठ्यपुस्तक छपाइको मुख्य चाप सकिएपछि त्यही पूर्वाधार र जनशक्तिलाई वर्षभरि उपयोग गर्ने स्पष्ट योजना नहुँदा केन्द्रमा कामको असन्तुलन देखिएको हो।

जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेल पुस्तक छपाइबारे शिक्षा मन्त्रालयको निर्णय नआएको र पाठ्यक्रम विकास केन्द्रले समेत प्रिन्ट रेट कपी (पिआरसी) उपलब्ध नगराएकाले छपाइ कार्य सुरु गर्न नसकिएको स्पष्ट पारे। ‘केन्द्रमा स्थायी र करारका गरी चार सय कर्मचारी छन्। दुई महिनायता जनक शिक्षाले छपाइ कार्य राज्यबाट पाउन सकेको छैन।’

उनले थपे, ‘नयाँ शैक्षिक सत्र नजिकिँदै छ। समयमै काम नसक्ने चिन्ता कर्मचारीको हो। यसकारण राज्यले समयमै छिटो जनक शिक्षा र निजीको कक्षागत छपाइको टुंगो लगाएर काम दिनुपर्छ।’

गत वर्ष विद्यालय तहका कक्षा १, २ र ४ का किताब छपाइ निजीले गरेको थियो भने कक्षा ३, ५ देखि १० सम्मको किताब छपाइ जनक शिक्षाले गरेको थियो। करिब दुई करोड थान पुस्तक छपाइ गर्न जनकले ८ महिनादेखि छपाइ काम थाल्नुपर्ने उनले जनाए। ‘दशैं, तिहार नजिक आउँदै छ। कर्मचारी बिदामा बस्नुपर्छ। काम नभ्याउने हो कि चिन्ता र चासो छ’, प्रबन्ध सञ्चालक पौडेलले भने, ‘सरकारको निर्णयमा ढिलाइले जनक शिक्षालाई कमजोर देखाएर निजीलाई छपाइ कार्य दिने चिन्ता हाम्रा कर्मचारीमा छ।’

सरकारले गठन गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका संयोजक प्राडा बालाचन्द्र लुइँटेलका अनुसार हाल कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूपका विभिन्न कक्षागत र तहगत कमीकमजोरीबारे विभिन्न पक्षको अध्ययन कार्य अगाडि बढाएको छ। १२ वटा विषयगत समूहले यसबारे अध्ययन गरिरहेका छन्। ‘हरेक दिन सरोकारवालासँग विभिन्न कोणबाट प्रारूपबारे छलफल भइरहेको छ। अब सातै प्रदेशमा स्थलगत रूपमा पुगेर छलफल गर्ने छौं’, संयोजक लुइँटेलले नागरिकसँग भने, ‘यो वर्षको अन्त्यसम्म राष्ट्रिय पाठ्यक्रम प्रारूपको एउटा खाकाचाहिँ बन्छ। अर्को वर्ष मात्र कक्षागत र तहगत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री तयारीमा जान्छ।’ उनले थपे, ‘कक्षाकोठामा कार्यान्वयन हुन अझै तीनदेखि चार वर्ष लाग्छ। कक्षा १२ सम्मै परिमार्जन हुँदै छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराइले कार्यदलले प्रतिवेदन बुझाएपछि बल्ल पाठ्यक्रम प्रारूप परिमार्जन गरिने बताउँदै उनले हाल जनक शिक्षाको पाठ्यपुस्तक छपाइमा ढिलाइबारे मन्त्रालय जानकार रहेको जनाए। उनले अब केही दिनमा जनक शिक्षा र निजीले कति र कुन तहको छाप्नेबारे मन्त्रालयले टुंगो लगाउने समेत दाबी गरे।

प्रकाशित: १८ भाद्र २०८३ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App