शिक्षामन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह र सुझावका आधारमा आफूले काम गर्ने बताएका छन् । मन्त्री पुनले शपथ लिएलगत्तै केशरमहल पुगेर कार्यभार सम्हालेका छन् । शिक्षामन्त्री महावीर पुनले वैज्ञानिक खोज तथा अनुसन्धान विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेको उपसचिव केदार कोइरालाले बताए । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालय आगजनीमा क्षति पुगेपछि केशरमहलमा सरेको छ ।
‘कर्मचारीले ल्याएको प्रस्तावमा प्रारम्भमा मन्त्रीज्यूले हस्ताक्षर गर्न मान्नुभएको थिएन’, उपसचिव कोइरालाले नागरिकसँग भने, ‘तर समिति पछि बन्ने, त्यसका लागि बजेट समय तय भइसकेको र अहिले क्षेत्राधिकार मात्रै तय गर्ने प्रस्ताव रहेको बताएपछि उहाँले हस्ताक्षर गर्नुभयो । मन्त्रीज्यूले मन्त्रालयमै बसेर काम गर्ने भनेअनुसार भोलिदेखि खाने र बस्ने व्यवस्थासमेत केशरमहलमै हुन्छ । मन्त्रालयकै पूर्वमन्त्रीका भान्छेले खाना पकाउने व्यवस्था गर्नेछन् ।’
मन्त्री पुनले विज्ञान मन्त्रालय आफूले लामो समयदेखि देखिरहेको तर काम गर्न नसकेको पदभार ग्रहणपछि बताए । मन्त्री पुनले शिक्षाका साथै अबका कार्यक्रममा विशेषगरी विज्ञानतर्फ जोड दिइनेसमेत जनाए ।
यसअघि युवालाई ‘जे सुकै गर’ भन्ने सुझाव दिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री पुनले आफ्नो विवेकले काम गर्न युवाहरूलाई भनेको बताए । ‘जेसुकै गर’ भनेर ‘सुतिराख’ भनेको होइन । आफ्नो बुद्धिले गर, अर्काको झोला बोकेर नहिँड । समाज वा देशका लागि गर भनेको हो’, आफ्नो भनाइ प्रस्ट पार्दै उनले भने ।
शिक्षामन्त्री पुनले विद्यालय शिक्षा ऐनका विषयमा आफूले विज्ञहरूको सल्लाहअनुसार मात्रै निर्णय लिने बताएको उपसचिव कोइरालाले जनाए । ‘शिक्षा ऐन कस्तो बनाउने हो यसका लागि विज्ञ टोली बनाउँछु र उहाँहरूले के–कस्तो सल्लाह दिनुहुन्छ त्यसअनुसार निर्णय लिने हो’, पदभारपछि उनले भने ।
संसदमा अन्तिम चरणमा रहेको विद्यालय शिक्षा विधेयक पारित नहुँदै प्रतिनिधिसभा विघटन भएको थियो । शिक्षामन्त्री पुनले विज्ञहरूका सल्लाह र सुझावका आधारमा आफूले शिक्षा विधेयकलगायत अन्य काम गर्ने बताएको उपसचिव कोइरालाले बताए ।
प्रकाशित: ७ आश्विन २०८२ ०९:०८ मंगलबार





