साना बालबालिकामा बढ्दो मोबाइल मोह र स्क्रिन टाइमप्रति चिन्ता व्यक्त गर्दै भक्तपुरको एक निजी विद्यालयले अभिभावकसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम गरेको छ।
भक्तपुरको मिवाछेँ, व्यासीस्थित एभरेस्ट स्कुलले कक्षा २ मा अध्ययनरत बालबालिकाका अभिभावकसँग आइतबार डिजिटल प्रविधिको सही प्रयोग तथा बालबालिकामा बढ्दो स्क्रिन टाइम व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम गरेको हो।
‘साना बालबालिकामा बढेको मोबाइल लतले भविष्यका कर्णधार बालबालिकाको क्रियटिभिटी नै हराएको छ,’ कार्यक्रमका आयोजक तथा एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले चिन्ता व्यक्त गर्दै भने, ‘त्यसकारण अब हामीले चिन्ता मात्रै व्यक्त गरेर पुगेन भनेर छलफल नै थालेका हौँ।’
डिजिटल प्रविधि तथा स्क्रिन टाइम व्यवस्थापनसम्बन्धी अभियानमा संलग्न संस्था ग्लोबलइन्गो इन्टरनेशनल लर्निङ इन्स्टिच्युटको सहकार्यमा आयोजित कार्यक्रममा बालबालिकाको अध्ययन, व्यवहार, सामाजिक सम्बन्ध तथा पारिवारिक जीवनमा डिजिटल उपकरणको प्रयोगले पार्ने प्रभावबारे छलफल गरिएको उनले बताए।
कार्यक्रममा सहभागी अभिभावकले घरमा बालबालिकाले मोबाइल, ट्याबलेटलगायत डिजिटल उपकरण प्रयोग गर्दा देखिने विभिन्न समस्या र चुनौती आफ्ना अनुभवसहित प्रस्तुत गरेका थिए। बालबालिका मोबाइलमा बढी समय बिताउने, अध्ययनका समयमा समेत डिजिटल उपकरण प्रयोग गर्न खोज्ने तथा मनोरञ्जनात्मक सामग्रीमा बढी आकर्षित हुनेजस्ता विषय अभिभावकका अनुभवका रूपमा छलफलमा आएका थिए।
अभिभावकले उठाएका समस्या तथा जिज्ञासामाथि सामूहिक छलफल गर्दै बालबालिकाको दैनिक व्यवहारमा लागू गर्न सकिने उपायबारे विचार आदानप्रदान गरिएको थियो। छलफलमा बालबालिकालाई प्रविधिबाट पूर्ण रूपमा अलग राख्नुभन्दा उनीहरूको उमेर, आवश्यकता र रुचिअनुसार स्क्रिन टाइम निर्धारण गर्ने, अभिभावकीय निगरानी बढाउने तथा डिजिटल प्रविधिलाई सिकाइ र सिर्जनात्मक गतिविधिका लागि प्रयोग गर्ने विषयमा जोड दिइएको थियो।
बालबालिकाको स्क्रिन टाइम नियन्त्रण मात्र पर्याप्त नहुने र त्यससँगै उनीहरूको दैनिक जीवनमा वैकल्पिक गतिविधिको विकास गर्नुपर्ने विषयमा समेत छलफलमा जोड दिइएको थियो। परिवारसँग संवाद गर्ने समय बढाउने, खेलकुद तथा शारीरिक गतिविधिमा सहभागी गराउने, पुस्तक पढ्ने र सिर्जनात्मक काममा प्रोत्साहित गर्ने तथा उमेरअनुसार उपयुक्त डिजिटल सामग्री छनोट गर्ने विषयलाई महत्वपूर्ण उपायका रूपमा अघि सारिएको थियो।
विशेषगरी बालबालिकाले कस्तो डिजिटल सामग्री हेरिरहेका छन् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको थियो। मोबाइल वा ट्याबलेट दिँदैमा अभिभावकीय जिम्मेवारी पूरा नहुने भएकाले बालबालिकाको डिजिटल गतिविधिसँगै उनीहरूको व्यवहारमा आउने परिवर्तनलाई समेत ध्यान दिनुपर्ने सहभागीहरूको धारणा थियो।
प्रविधि आफैँमा समस्या नभए पनि यसको प्रयोग गर्ने तरिकाले त्यसको प्रभाव निर्धारण गर्ने भएकाले ‘कति समय प्रयोग गर्ने’ सँगै ‘किन र केका लागि प्रयोग गर्ने’ भन्ने प्रश्न महत्वपूर्ण हुने कार्यक्रममा औँल्याइएको थियो।
कार्यक्रमले बालबालिकालाई डिजिटल प्रविधिको प्रयोगबाट टाढा राख्नेभन्दा त्यसको सन्तुलित, सुरक्षित र उद्देश्यपूर्ण प्रयोगतर्फ उन्मुख गराउने विषयलाई प्राथमिकतामा राखेको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयकी सहायक प्रधानाध्यापक संगीता किबाछेँले गरेकी थिइन्। उनले अभिभावकका अनुभव, प्रश्न तथा समस्यालाई केन्द्रमा राख्दै डिजिटल उपकरणको सुरक्षित, जिम्मेवार र उद्देश्यपूर्ण प्रयोगका उपायबारे छलफल अघि बढाएकी थिइन्।
प्रकाशित: २१ भाद्र २०८३ २१:१६ आइतबार





