अदालतको आदेशपछि एकवर्षदेखि रोकिएको सामुदायिक विद्यालय बालमन्दिर माध्यमिक विद्यालय बोक्सेको विद्यालय व्यवस्थापन समिति चुनाव आईतबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेस्थित विद्यालय प्राङ्गणमा भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७:०० देखि दिउँसो ४:०० बजेसम्म सञ्चालन भएको मतदानमा ३ सय ६० मत खसेको निर्वाचन अधिकृत तथा प्रधानाध्यापक जङ्गबहादुर खड्काले बताए । उनका अनुसार ९ सय ७५ मतदाता सङ्ख्या रहेको विद्यालयमा मतदान भने ३६.९२ प्रतिशत मात्र भएको छ । दसैं तिहारको बेला, जेन-जी पुस्ताको आन्दोलनलगायत विभिन्न कारणले मतदाताको उपस्थिति कम भएको उनले बताए ।
हरेक दुई वर्षमा हुनुपर्ने व्यवस्थापन समितिको गठन ०८१ भदौ २२ गते गर्नेगरी अभिभावक भेला बोलाइएको थियो । तर, विवाद उत्पन्न भएपछि नगरपालिकाले रोक्न निर्देशन दिँदा अर्को पक्षले अदालत गुहारेको थियो । भदौ १२ को अभिभावक भेलाले २ महिलासहित ४ सदस्य छान्नुपर्नेमा महिला सदस्य निर्विरोध चयन गरे पनि २ पुरुष सदस्य चयनमा कुरा अड्केपछि विवाद अदालतसम्म पुगेको हो ।
उच्च अदालत विराटनगरले प्रारम्भिक फैसला सुनाउँदै यथास्थानमा चुनाव रोक्न आदेश दिएको वर्षपछि गत साउन २९ गते पूर्ण फैसला सुनाउँदै २ महिनाभित्र चुनाव गर्न आदेश दियो । रोकिएकै विन्दुबाट चुनावी प्रक्रिया अघि बढाउन दिएको आदेश अनुसार निर्वाचन गराएको प्रअ खड्काले बताए ।
निर्वाचन समितिका अनुसार रिक्त २ सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । सुपराज राई, खगेश्वर भट्टराई, चन्द्रबहादुर विश्वकर्मा र चन्द्रप्रसाद पोखरेल सदस्यमा उम्मेदवार छन् । महिला र समावेशी महिलातर्फ भने त्यसैबेला मैया खड्का र लाक्पा शेर्पा निर्विरोध भईसकेका छन् ।
मतदान कार्य सकिएकाले गणनाका लागि निर्वाचन समितिले तयारी थालेको छ । साँझ ७:०० बजेदेखि गणना थालेर १०:०० बजेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भईरहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचित ४ सदस्यको बैठकले शिक्षा प्रेमी, जग्गादाता र शिक्षक प्रतिनिधिबाट एक/एकजना गरी ३ सदस्य मनोनयन गर्ने शिक्षा ऐन्मा प्रावधान छ । विद्यालय व्यवस्थापन समितिमा शिक्षक अभिभावक सङ्घ अध्यक्ष पदेन सदस्य र प्रधानाध्यापक सदस्यसचिव हुने व्यवस्था ऐनमा छ ।
लामो समययता विद्यालय व्यवस्थापन समिति गठन नहुँदा निर्माण भईसकेको अत्याधुनिक विद्यालय भवन उद्घाटन हुन सकेको छैन भने अन्य प्रशासनिक र शैक्षिक गतिबिधिमासमेत प्रभाव पर्दै आएको प्रअ खड्काले बताएका छन् । नयाँ शिक्षक भर्ना, सरुवा, बढुवालगायत कतिपय शैक्षिक गतिबिधिमा व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका हुने भएकाले समितिको अभावमा शैक्षिक प्रशासनिक गतिविधि प्रभावित भएको विद्यालयले जनाएको छ ।
प्रकाशित: २६ आश्विन २०८२ १७:५३ आइतबार





