शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्।
सोमबार बाढीपहिरो प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकाको शिक्षालाई निरन्तरता दिने उद्देश्यले आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रभावित विद्यार्थीको अवस्था र आवश्यकताका आधारमा विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए।
उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग उपलब्ध गराउनुका साथै भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकाका लागि दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो।
मन्त्री पोखरेलले विपद्का बेला राज्य एक्लै नरहेको उल्लेख गर्दै निजी क्षेत्र, विभिन्न संघसंस्था तथा नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए।
‘पछिल्ला केही दिन हामी सबैजना, सिङ्गो देश नै शोकको अवस्थामा छ। यस्तो बेलामा विभिन्न संस्था र व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ। त्यो आर्थिक सहयोग मात्र होइन, सरकारप्रति नागरिकहरूले देखाउनुभएको भरोसा र विश्वास पनि हो। यसले हामीलाई अझ मेहनत गरेर काम गर्न प्रेरित र झक्झकाएको छ,’ उनले भने।
विपद्का बेला राज्य एक्लो नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले उद्धार, राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रबाट भएको सहभागिताले राष्ट्रिय एकताको सन्देश दिएको बताए। उनका अनुसार सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीदेखि विभिन्न संघसंस्था र सर्वसाधारणसम्म विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।
विपद् आउनुअघि नै पूर्वतयारी आवश्यक
मन्त्री पोखरेलले विपद् आएपछि मात्रै तयारी गर्ने पुरानो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए। नेपालमा हरेक वर्षजसो कुनै न कुनै प्राकृतिक विपद् आइरहने भएकाले शिक्षा क्षेत्रमा समेत विपद् व्यवस्थापनको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ।
‘विगतमा विपद् आउँछ अनि बल्ल तयारी गर्ने परिपाटी थियो। हामी त्यसलाई चिरेर केही अगाडि जान चाहन्छौँ। आजको कार्यक्रम रसुवा, नुवाकोट र धादिङको बाढीका लागि मात्र नभएर भविष्यमा आउन सक्ने अन्य विपद्का लागि पनि सोचेर विभिन्न संघसंस्थासँग मिलेर गरेका हौँ,’ उनले भने।
मन्त्रीका अनुसार यसपटक बाढीपहिरो प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने मात्र नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ।
दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता दिइनेछ भने एकजना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछि प्राथमिकता दिइनेछ। त्यसबाहेक विद्यार्थीको आर्थिक अवस्था र आवश्यकताका आधारमा अन्य प्रभावित विद्यार्थीलाई समेत सहयोग उपलब्ध गराइने मन्त्रालयको योजना छ।
आवासीय शिक्षादेखि होस्टेलसम्मको व्यवस्था
मन्त्रालयका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार फरक–फरक किसिमको सहयोग उपलब्ध गराइनेछ। केही विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, केहीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ।
स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि उनीहरूको आवश्यकताअनुसार सहयोग उपलब्ध गराइने मन्त्री पोखरेलले बताए।
निजी शिक्षण संस्थाको सहभागिता
‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका विभिन्न संघसंस्था सहभागी भएका छन्। कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन तथा नेपाल मोन्टेसरी एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता थियो।
मन्त्री पोखरेलका अनुसार ती संस्थाहरूले यसपटकको विपद् प्रभावित विद्यार्थीलाई मात्र नभई भविष्यमा आइपर्न सक्ने विपद्, दुर्घटना वा अभिभावक गुमाउने अन्य बालबालिकालाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले छात्रवृत्ति योजनामा अन्य निजी क्षेत्र तथा संघसंस्थालाई समेत सहभागी हुन आह्वान गरे। विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था आउन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
विपद्का कारण बालबालिका शिक्षाबाट वञ्चित हुन नदिन सरकारी संयन्त्रसँगै निजी विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ।
मन्त्री पोखरेलले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ मा सहभागी संस्थाहरूलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा राज्य र समाजबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २२ भाद्र २०८३ २०:३५ सोमबार





