शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयमा उपकुलपतिहरूको नियुक्ति प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्। उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग छलफल गर्न आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
विश्वविद्यालयको कामकाज र योजनाका बारेमा केन्द्रित अन्तरक्रियामा मन्त्री पोखरेलले शैक्षिक क्रियाकलाप र परीक्षाका बारेमा समेत चासो देखाएका थिए । छलफलमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामकारबाहीलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि निर्देशन दिए।
विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालीन अवस्थामा उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाका बारेमा अन्तरक्रिया गरिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा नयाँ व्यवस्था नहुञ्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीबाट योजना प्रस्तुत भएको थियो । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति प्रक्रिया जारी रहेको छ । उपकुलपति नियुक्तिका लागि आठवटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ । अन्य विश्वविद्यालयमा पनि छिटै प्रक्रिया अघि बढाइने मन्त्री पोखरेलको भनाइ छ । ‘सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोहीबमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ’, शिक्षमन्त्री पोखरेलले भने, ‘नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ ल्याइएको हो।’ सोहीअनुरूप अहिले उपकुलपति छनोट प्रक्रिया अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशील बज्राचार्यले आफूले निमित्त पाएसँगै विश्वविद्यालयका शैक्षिक गतिविधि अगाडि बढाइएको बताए । ‘म उपकुलपति भएसँगै शिक्षाध्यक्षमा प्राडा शंकर खनाल र रजिस्ट्रारमा प्रा.डा. दुविनन्द ढकाललाई नियुक्ति गरेर शैक्षिक प्रशासनिक र आर्थिक गतिविधि अगाडि बढाइरहेको छु’, उपकुलपति बज्राचार्यले भने, ‘शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट जारी गर्ने र नतिजा प्रकाशन तथा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको तयारी भइरहेको छ।’
त्रिभुवन विश्वविद्यालयमा पर्याप्त बजेट नभएकाले अनुसन्धान कार्यले गति लिन नसकेको उपकुलपति बज्राचार्यले बताए । चितवनमा खुलेको इन्जिनियरिङ कलेज बजेट भएर पनि शैक्षिक गतिविधि अगाडि बढाउन चुनौती छ ।’ त्रिविमा काम गर्न खोजे पनि आर्थिक पक्ष बलियो नभएर योजनोअनुसार काम गर्न ठूलो चुनौती थपिएको उनको ठहर छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १२:०७ बुधबार





