नयाँ शैक्षिक सत्र सुरु भएसँगै सार्वजनिक विद्यालयका विद्यार्थीले हातहातमा नयाँ पुस्तक पाउने भएका छन् । यस पटक समयमै पाठ्यपुस्तक प्रकाशन गरिएकाले नयाँ शैक्षिक सत्र २०८३ मा विद्यार्थीले भर्नासँगै पुस्तक लिएर कक्षाकोठामा प्रवेश गर्न पाउने वातावरण बनेको दाबी जनक शिक्षा सामग्री केन्द्रले गरेको छ । अर्थात् यसपटक पुस्तक कहिले आउलान् भनेर विद्याथीर्ले कुर्नुनपर्ने छैन ।
सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित बर्सेनि निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ । केन्द्रले यस पटक कक्षा ३ र ५ देखि १० सम्मका एक करोड ६० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । केन्द्रले आइतबार (चैत ८ गते) सम्म एक करोड ५० लाख थान पुस्तक तयार पारिसकेको प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले बताए । सरकारले सामुदायिक विद्यालयमा कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्न दुई अर्ब रकम छुट्याएको छ ।
पछिल्लो समय सरकारी काम पाएर सक्षम बन्दै गएको केन्द्रलाई सरकारले अझ दायरा फराकिलो बनाई यस पटक कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको पौडेलले बताए । यसैगरी सरकारले २०६४ सालदेखि सार्वजनिक–निजी सहकार्य नीतिअनुसार निजी क्षेत्रका पुस्तक प्रकाशनलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिँदै आएको छ ।
यस पटक पाठ्यक्रम विकास केन्द्रबाट सात वटा निजी प्रकाशन गृह पाठ्यपुस्तक छपाइका लागि सूचीकृत भएका थिए । ती प्रकाशन गृहले कक्षा १, २ र ४ को पुस्तक छपाइको जिम्मेवारी पाएका हुन् ।
‘केन्द्रसहित प्रादेशिक कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी र केन्द्रमा पाठ्यपुस्तक बिक्रीवितरणका लागि तयारी अवस्थामा छन्,’ प्रबन्ध सञ्चालक पौडेलले भने, ‘नयाँ शैक्षिक सत्रमा विद्यार्थीको भर्नासँगै हातमा नयाँ किताब उपलब्ध हुन्छन् । चैत १५ गतेदेखि सबै डिपोबाट पुस्तक बिक्रीवितरण हुन्छ ।’
पौडेलले केन्द्रले निजी विद्यालयका लागि गणित, विज्ञान र स्वास्थ्य शिक्षाका पाठ्यपुस्तक अंग्रेजीमा अनुवाद गर्ने काम गरिसकेको जानकारी दिए । ‘अंग्रेजी अनुवादसमेत गरी यस पटक एक करोड ७२ लाख थान किताब छाप्ने लक्ष्य हो । लक्ष्यअनुसार काम भएको छ,’ उनले भने । सुर्खेत, नेपालगन्ज र विराटनगर डिपोबाट हिमाली जिल्लामा किताब पुर्याउने तयारी भइसकेको उनले बताए ।
‘केन्द्रको मुख्य चुनौती निजीले दिने बढी कमिसन हो । केन्द्रले पुस्तक बिक्रेतालाई ९ प्रतिशत कमिसन दिन्छ तर निजी प्रकाशन गृहले ३० प्रतिशतसम्म कमिसन दिने रहेछन्,’ पौडेलले भने, ‘सरकारले निजीलाई कक्षा १, २ र ४ सम्मको पाठ्यपुस्तक छपाइ अधिकार दिए पनि उनीहरूले कक्षा १ देखि ५ सम्मकै छापिदिने रहेछन् । जसले गर्दा बढी कमिसनको चक्करमा पुस्तक बिक्रेताले निजीकै ३ र ५ को पनि किताब किनिदिने हुनाले केन्द्रलाई ती कक्षाका किताबमा आर्थिक हिसाबले घाटा हुने गरेको छ ।’ केन्द्रले छापेका कक्षा ३ र ५ का किताबको बिक्री कम रहेको उनले बताए । केन्द्र पछिलो समय व्यवस्थापकीय सुधार र सरकारी काम पाएसँगै आर्थिक रूपमा सक्षम बन्दै गएको उनको ठहर छ । ‘केन्द्रका देशभरि १२५० पुस्तक बिक्रेता छन् । तिनले निजी प्रकाशनगृहका पनि किताब बढी कमिसनमा किनिदिन्छन्,’ उनले भने, ‘गत वर्ष पनि केन्द्रले छापेका कक्षा ३ र ५ का ३० प्रतिशत किताब मात्र बिक्री भए ।’
‘अधिकार खोसेर निजी प्रकाशन गृह बन्द गराउन खोजियो’
निजी प्रकाशन गृह र पुस्तक बिक्रेताले भने सरकारले १८ वर्षअघि जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छाप्न र पु¥याउन नसकेका कारण पूर्वाञ्चल क्षेत्रमा कक्षा ५ को किताब छाप्ने जिम्मेवारी दिएर आफूहरूलाई विद्यालय तहका पुस्तक छपाइमा संलग्न गराएको तर अहिले अधिकार कटौती गर्दै लगेको बताएका छन् । सरकारले छपाइ दायरा बढाउँदै २१ वटा निजी प्रकाशन गृहलाई संलग्न गराए पनि अहिले खुम्च्याउँदै लगेको गुनासो सञ्चालकहरूको छ ।
निजी पुस्तक प्रकाशन गृहका सञ्चालक दीपक भण्डारीका अनुसार पछिलो समय काम खोसेर सरकारले निजी प्रकाशन संस्थालाई बन्द हुने अवस्थामा पुर्याएको दाबी गरे । ‘निजी पुस्तक प्रकाशन गृहको गुणस्तर र बिक्रीवितरणको कार्य सन्तोषजनक भएकै कारण सरकारले २०७० सालतिर कक्षा १ देखि ८ सम्म ४१ जिल्लाका पुस्तक प्रकाशनको जिम्मा दियो,’ भण्डारीले भने, ‘पछि निजीले केन्द्रको पनि अधिकार क्षेत्र नाघ्यो भन्दै कक्षा १ देखि ५ सम्म सीमित गरियो तर ७७ जिल्लामै बिक्री–वितरणको अधिकार भने दिइरह्यो ।’
भण्डारीले यसपटक कक्षा १, २ र ४ को मात्र छपाइ र बिक्री–वितरणको अधिकार पाइएको बताए । दायरा खुम्च्याउँदा निजी प्रकाशन गृह धराशयी बनेको उनले बताए । ‘निजीतर्फ २१ पुस्तक प्रकाशन गृहबाट खुम्च्याएर सात वटामा सीमित पारिएको छ । यसले निजीलाई ध्वस्त बनायो,’ उनले भने, ‘सम्पत्ति नै लिलाम हुने अवस्था आएको छ ।’
‘बेलैमा पाठ्यपुस्तक पाउँदा आत्मविश्वास बढ्छ’
नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक पाउँदा विद्यार्थीमा आत्मविश्वास वृद्धि हुने शिक्षकहरू बताउँछन् । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमकी प्राचार्य रीता तिवारीका अनुसार नयाँ विद्यार्थीले नयाँ पुस्तक लिएर कक्षाकोठामा प्रवेश गर्दा आत्मविश्वास बढ्ने र एकाग्र भएर अध्ययन गर्ने बानीको विकास हुने दाबी गरिन् ।
‘समयमै पुस्तक हातमा लिएर कक्षामा प्रवेश गर्दा शिक्षकले पढाउने पाठमा विद्यार्थीको ध्यानकेन्द्रित हुन्छ । आफैंले किताबको पाना पल्टाएर अध्ययन गर्दा विद्यार्थीले राम्ररी बुझ्ने गरेको मैले पाएकी छु,’ तिवारीले भनिन्, ‘यसले विद्यार्थीको सिकाइस्तर राम्रो हुने र शिक्षकलाई पनि शिक्षण गर्न उत्साह हुने रहेछ । नयाँ किताबसहित कक्षामा प्रवेश गर्ने विद्यार्थीको आत्मविश्वास बढ्छ र उनीहरूमा पढ्ने जोसजाँगर पनि पैदा हुन्छ ।’
उनले कक्षाकोठामा विद्यार्थीका साथमा किताब हुँदा कुन पाठमा कुन चित्र र संकेत छ भन्ने जिज्ञासा पनि उतिकै बढ्ने र उनीहरूले समूहमा छलफल पनि गर्ने हुँदा सिकाइ स्तर बढ्ने बताइन् । ‘बेलैमा किताब पाउँदा सिकाइमा सकारात्मक असर परेको हामीले पायौं,’ उनले भनिन् ।
प्रकाशित: ८ चैत्र २०८२ २०:४६ आइतबार




-600x400.jpg)
