२९ असार २०८३ सोमबार
image/svg+xml
शिक्षा

झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी

गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यकाल सकिएको झण्डै डेढ वर्षपछि पदाधिकारी पाएको छ। प्रतिष्ठानको संस्थापक पदाधिकारीको कार्यकाल २०८२ साल बैशाख १५ गते सकिएको थियो। 

पहिलो कार्यकाल सकिएको १४ महिना ७ दिनपछि दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सरकारले मंगलबार पदाधिकारी पाएको हो। कांग्रेस र एमालेबिच भागवण्डामा टुंग्याएको प्रतिष्ठानको कुलपतिमा कांग्रेस निकट प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भए भने एमाले निकटकाहरू उप-कुलपतिमा शंकर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठलाई नियुक्त गरेको हो।

कुलपतिमा नियुक्त न्यौपानेले लोक साहित्यमा विद्यावारिधि गरेका छन्। उनी पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापकसमेत हुन्। उप-कुलपति गुरुङ लोकगायक हुन् भने उनी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व अध्यक्ष हुन्। श्रेष्ठ भने सदस्य सचिवमा दोहोरिएका छन्। संस्थापक सदस्य सचिव उनी प्रतिष्ठानको जग बसाल्नेमध्येका एक हुन्।

प्रदेश सरकारले प्रतिष्ठानको प्राज्ञ सदस्यहरूमा रामभक्त जोजिजु, अनुराग अधिकारी, इन्द्रमान खत्री, प्रा.डा.ईश्वरचन्द्र वाग्ले, कमलप्रसाद पौडेल (अथक), कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भूपेन्द्र बानिया, रामजीप्रसाद पौडेल, वसन्त अधिकारी, डा.वीरेन्द्र पुडासैनी, शान्ता बास्तोला, सञ्जु महतो थनेत र हरिमाया श्रेष्ठलाई मनोनयन गरेको छ।

झण्डै डेढ वर्ष प्रतिष्ठान पदाधिकारीविहीन हुँदा कला, साहित्य र संस्कृतिका गतिविधि ठप्पजस्तै बने। पदाधिकारी नभएपछि प्रतिष्ठानको योजना, कार्यक्रम र बजेट नबन्दा त्यसको असर कला, साहित्य र संस्कृतिसँग सम्बन्धित संघ, संस्थाहरूका कार्यक्रममा परेको हो। यसले प्रतिष्ठानलाई दुई वर्ष धकेलेको बत्ताइन्छ। डेढ वर्षसम्म प्रतिष्ठान खाली रहँदा कला, साहित्य र संस्कृतिसँग सम्बन्धित संघ, संस्थाहरू बजेट अभावमा निष्क्रियजस्तै भएर बसे। प्रतिष्ठानका एक पूर्व पदाधिकारीले भने, 'यो बिचमा ती संस्थाहरूको गतिविधि लगभग शून्यजस्तै भए।'

प्रतिष्ठानले वार्षिक रूपमा करिब १५ वटा भाषाका कक्षा, १४ वटा बाजाका कक्षा सञ्चालन गर्दै आएको थियो। तर प्रतिष्ठानकै पदाधिकारी खाली हुँदा ती कक्षाहरू सञ्चालन भएनन् भने त्यहाँबाट भाषा र बाजा सिक्नबाट करिब एक हजार शिक्षार्थी वञ्चित भएको उनको दाबी छ।

पदाधिकारी नहुँदा प्रतिष्ठानको आफ्नै पूर्वाधार निर्माणको गति पनि रोकिएको छ। प्रतिष्ठानले प्रदेश भरिका कला, साहित्य र संस्कृति प्रदर्शन गर्ने एकेडेमिक हलको स्तरोन्नति गर्ने योजना बनाएको थियो तर अहिले त्यो कार्य प्रभावित भएको हो। अर्कोतर्फ गण्डकी प्रदेशको संस्कृति झल्कने हरेक हप्ता सांस्कृतिक साँझ गर्ने घोषणा गरेर तयारी गरेको थियो त्यो पनि अहिले अलपत्र बनेको छ।

प्रतिष्ठान पदाधिकारीविहीन हुँदा त्यसको प्रभाव पर्नु स्वाभाविक भएको नवनियुक्त सदस्य सचिव मनकुमार श्रेष्ठ बताउँछन्। २०८२ का लागि हामीले सिलिङ तोकेर बजेटका लागि योजना र कार्यक्रम पेस गरेका थियौँ, उनले भने, 'तर पदाधिकारी नै नभएपछि योजना, कार्यक्रम र बजेट आउने कुरै भएन, २०८३÷८४ का लागि पनि प्रतिष्ठानको लागि बजेट विनियोजन भएन।'

प्रतिष्ठानले पदाधिकारी पाए पनि बजेट नपाएपछि मन्त्रालयकै बजेटमा काम गर्नुपर्ने भएको छ। प्रतिष्ठानको आफ्नै बजेट नभएकाले मन्त्रालयको बजेटमा काम गर्नुपर्ने बाध्यता रहेको सदस्य सचिव श्रेष्ठले स्वीकारे। भने, 'प्रतिष्ठानलाई मागेको भन्दा ५८ लाख बजेट कम गरेर मन्त्रालय आफैले चलाउने गरी बजेट विनियोजन गरिएको छ। त्यही बजेटमा हामीले काम गर्ने हो।' उनले पुराना कार्यक्रमहरूको निरन्तरतासहित भाषा, संस्कृति र कलासँग सम्बन्धित संघसंस्थाको गतिविधि चलायमान बनाउन २०८४÷८५ को बजेट आएपछि मात्रै सम्भव हुने उनले बताए।

यसैबिच, नवनियुक्त पदाधिकारीको बुधवार पदस्थापन गरिएको छ। संस्थापक कुलपति सूर्यबहादुर खड्का (बिखर्ची)को अध्यक्षतामा नवनियुक्त पदाधिकारीको पदस्थापन गरिएको हो। पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले प्रतिष्ठानलाई उदाहरणीय प्राज्ञिक थलो बनाउने वाचा गरे। उनले भने, 'प्रतिष्ठानलाई नमुना र उदाहरणीय संस्थाको रूपमा स्थापित गर्ने संकल्प गर्छु र त्यसमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाउँछु।'

कार्यक्रममा बोल्दै संस्थापक कुलपति सूर्यबहादुर खड्का (बिखर्ची)ले आफ्नो नेतृत्वमा प्रतिष्ठानको जग बसेको र अब न्यौपानेको नेतृत्वमा फुल्ने विश्वास व्यक्त गरे। न्यौपानेजीको नियुक्तिले प्रतिष्ठानको शिर थप उँचो बनाएको महसुस गरेको छु, उनले भने, 'आशा छ उहाँको नेतृत्वमा प्रतिष्ठानले भाषा, कला र संस्कृतिको क्षेत्रमा फड्को मार्नेछ। तर यदि त्यस्तो भएन भनेचाहिँ बाहिर कुरा काट्दै नहिँडे पनि यहीँ आएर औँला उठाएर प्रश्न भने गर्नेछु।'

प्रकाशित: २४ असार २०८३ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App