१ असार २०८३ सोमबार
image/svg+xml
शिक्षा

प्राज्ञहरूको आकर्षण त्रिविमै

आठ विश्वविद्यालय, दुई सय १८ आवेदन, त्रिविमा मात्र ५

सरकारले केही दिनअघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबिच होडबाजी सुरु भएको छ। विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता, क्षमता र दक्षताका आधारमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने थिति बसाल्न रिक्त रहेका आठवटा विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग गरेको हो।

विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि ०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।

आठ विश्वविद्यालयका लागि हालसम्म दुई सय १८ वटा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अगुवाइमा उपकुलपति छनोट प्रक्रिया अगाडि बढाइएको हो । आवेदन सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयकै लागि परेको छ।

नयाँ कानुनी व्यवस्था र कार्यविधि आएसँगै सबैभन्दा बढी आकर्षण पनि त्रिविमै देखिन्छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार त्रिविमा ५० जना प्राज्ञले आवेदन दिएका छन् । यसैगरी पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका लागि ३८ः३८ वटा आवेदन परेको छ।

राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, सुदूरपश्चिमका लागि १९ तथा कृषि तथा वन विश्वविद्यालयका लागि १५ र लुम्बिनी विश्वविद्यालयका लागि ११ वटा आवेदन परेका छन्। कार्यविधिअनुसार समितिले प्राज्ञहरूबाट प्राप्त आवेदनउपर मूल्यांकन प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ। समितिले शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा प्राज्ञहरूको मूल्यांकन गर्ने छ।

विश्वविद्यालयहरूबाट नियुक्तिमा हुने गरेको राजनीतिक भागबन्डा हटाउनका लागि विश्वविद्यालयमा सुधार प्रयास गरेको मन्त्रालयले दाबी गर्दै आएको छ । अबका दिनमा विश्वविद्यालयमा असल अभ्यास बसाउन र एकीकृत कार्यविधि लागु गरी अन्तर्राष्ट्रिय अभ्यासतर्फ जान खोजेको मन्त्रालयले जनाएको छ। शिक्षा क्षेत्रको गुणस्तर, विश्वविद्यालयको अन्तर्राष्ट्रिय र्‍यांकिङ, अनुसन्धान र बेरोजगारीबारे आलोचना बढ्दै गएपछि सरकारले खुला प्रतिस्पर्धाबाटै उपकुलपति छनोट प्रक्रिया अगाडि बढाएको विज्ञहरूको तर्क छ।

प्रकाशित: ९ जेष्ठ २०८३ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App