८ वैशाख २०८१ शनिबार
शिक्षा

मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने

मोरङको बुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालका उद्योगलाई आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सुरू गरेको छ। बिहीबार पत्रकारहरूसँगको अन्तक्र्रियामा विश्वविद्यालयले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक कार्यक्रम सुरू गरेको जानकारी दिएको हो।  

विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजना अनुरुप स्कूल अफ इन्जिनियरतर्फ बी.ई.ईन सिभिल र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका शैक्षिक कोर्षहरूको पठनपाठन सुरू गरेको विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले जानकारी दिए।  

पोखरेलका अनुसार विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस सञ्चालनमा छन्।  

त्यसमध्ये स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तहका कक्षाहरुमा विश्वविद्यालयले भर्ना आह्वान गरेको जनाएको छ। उपकुलपति पोखरेलका अनुसार चालु शैक्षिक वर्षका लागि बी.ई.ईन.सिभिल इन्जिनियरिङमा ४८ जना र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ जनाको भर्ना आह्वान गरिएको हो।

विश्वविद्यालयले देशभित्रका विभिन्न आद्योगिक करिडोरका उद्योगीहरूसँग छलफल गरी उद्योगलाई चाहिने जनशक्ती उत्पादनका लागि पाठ्याक्रा निर्धारण गरेको पोखरेलले बताए। उनले भने‘नेपाली जनशक्तीले काम नपाउने तर, विदेशबाट दक्ष जनशक्ति  आयात गर्नुपर्ने उद्योगहरूको बाध्यतालाई अन्त्य गर्न विश्वविद्यालयले उद्योगलाई आबश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्न सुरू गरेको हो।’  

उनले स्वदेशी उद्योगका लागि आवश्यक सबै खालका दक्ष जनशक्ति उत्पादन गरेर भारतबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता १० वर्ष भित्रै अनत्य गर्ने दाबी पनि गरे। स्कुल अफ इन्जिनियरिङतर्फ पाँच वर्षे योजना बनाएर शैक्षिक सत्र २०८०/२०८१ बाट ब्याचलर ईन आर्किटेक्चर, र स्नातकोत्तर तहमा एम.एससी.ईन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए। विश्वविद्यालयको दोस्रो सभाले यी दुई कार्यक्रम सञ्चालनका लागि अनुमोदन गरिसकेको उपकुलपति पोखरेलले जानकारी दिए।  

शैक्षिक सत्र २०८३/२०८७ बाट ब्याचलर ईन बायोमेडिकल इन्जिनियरिङ, बी.ई.ईन. मेकानिकल वा अटोमोवाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्ट वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ तथा विद्यावारिधीतर्फ सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ।  

विश्वविद्यालय अन्तर्गतका तीनवटै स्कुल सञ्चालनमा आएपछि आगामी दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधीतर्फ २८ वटा शैक्षिक विषयमा दुई हजार ८ सय ३१ विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयको दाबी छ।  

प्रकाशित: १७ कार्तिक २०७९ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App