५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

छोराछोरीको पढाई सुधार्न आमा पनि ‘स्कूल’

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा छोराछोरीको पढाई सुधार्न अविभावक पनि विद्यालय (स्कूल) जान थालेका छन्। बाल कक्षादेखि देखि १० सम्म हरेक कक्षामा एक जना अविभावक आलोपालो जाने गर्छन्।  

कक्षा ८ मा पढ्ने बिपिन गुरुङकी आमा माईली गुरुङले एकदिन छोराकै कक्षामा बिताईन्। बिहान १० देखि बेलुकी ४ बजेसम्म विद्यालय गएको छोराले दिनभर त्यहाँ के–के गर्दो रहेछ भनेर उनले पहिलो पटक आफैँले देखिन्। ‘स्कूल गएकै छ, पढेर आएको होला भन्थ्यो’ उनले भनिन् ‘अविभावक पनि सँगै भएपछि पढाईमा ध्यान दिने रहेछ।’ आफ्नो छोराले मात्र नभएर अरु विद्यार्थीले पनि कक्षाभित्र अविभावक, शिक्षकको बीचमा होहल्ला नगर्ने पढाईमा ध्यान दिएको अनुभव उनलाई भयो। बिहान १० बजे विद्यालय गएकी उनी बेलुकी ४ बजे छोरा सँगै फर्किइन्।

माईली मात्र होईन मणिकामदेवीमा छोराछोरी पढाउने सबै अविभावक आफ्नो पालोमा विद्यालय जान्छन्। कक्षा १ देखि १० सम्म एक÷एक जना गरी एकदिनमा ११ जना अविभावक विद्यालय पुग्छन्। ‘कक्षा १ देखि १० सम्म रोल नम्बर अनुसार एक÷एक जना अविभाबक आउनुहुन्छ’ विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले भने।

अविभावकले आफ्ना सन्तानको पढाइको गतिविधि दिनभरी विद्यालयमै बसेर नियाँल्छन्।  

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीहरु क्षमतामा सुधार गर्नुका साथै विद्यालयका हरेक गतिविधिमा अभिभावकको सक्रियता बढाउन विद्यालयले यस्तो नियम बनाएको प्रअ गुरुङले बताए। एक साताअघि विद्यालयले ‘अभिभावक घुम्ती कार्यक्रम’ नाम दिएर यस्तो अभियान सुरु गरेको कार्यक्रम संयोजक शिक्षक अच्युत थपलियाले बताए।

‘बालबालिका कसरी पढ्छन, शिक्षकले कसरी पढाउनुहुन्छ भनेर निग्रानी गर्न भनेका हुन्छौँ’ उनले भने‘बेलुकी छुट्टी भएपछि दिनभरी विद्यालयमा रहँदा आफूलाई के लाग्यो, कहाँ सुधार गर्नुपर्छ भन्ने कुरा विद्यालयलाई दिएर जानहुन्छ, हामी पनि सुधार गर्दै जान्छौँ।’

अविभावकको भेला र व्यवस्थापन समितिको निर्णयपछि हरेक कक्षामा एकजना अविभावकलाई सँगै राख्ने अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आश बहादुर गुरुङले बताए। विद्यालयको शैक्षिक गुणस्तर खस्किएको, शिक्षकले राम्रोसँग नपढाएको र विद्यार्थीले पनि राम्रोसँग नपढेको भन्ने गुनासो आएकाले यो कार्यक्रम संचालन गरिएको उनले बताए।  

एक महिनापछि फेरि सबैलाई भेला गराएर कार्यक्रमको समीक्षा गर्ने र प्रभावकारी महसुश भएमा नियमित रुपमा अभियान अघि बढाउने उनले बताए।  

मणिकामदेवी माविमा कक्षा १० सम्म चार सय ८१ जना विद्यार्थी छन्। अविभावक हरेक दिन सँगै हुँदा शिक्षकलाई पनि राम्रोसँग पढाउन दवाब हुने र अविभावकलाई आफ्नो बच्चाको पढाईको स्तर थाहा हुने हुँदा निगरानी बढ्ने प्रधानाध्यापक धनबहादुर गुरुङले बताए। ‘हाम्रो विद्यालय बस्तीबाट पर छ, विद्यार्थी विद्यालय आउने क्रम घट्दै थियो यो अभियान सुरुपछि विद्यार्थी विद्यालय नआउने दर घटेको छ’ प्रअ गुरुङले भने।  

अविभावक मध्येपनि आमाहरु धेरै आउने गरेका छन्। बाबुहरु कामको शिलसिलामा हुने हुँदा धेरैजसो आमाहरु आउने गरेको शिक्षकहरु बताउँछन्।  

फोटो

गोरखा लाप्राकको मणिकामदेवी माविमा छोराछोरीसँगै अविभाबक।  

तस्विर ः नागरिक  

 

 

प्रकाशित: २ कार्तिक २०७९ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App