त्रिभुवन विश्वविद्यालयमा हाल ९५ हजार ५ सय ४० विद्यार्थी अध्ययनरत रहेको विवरण सार्वजनिक भएको छ। विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले प्रस्तुत गरेको विवरणअनुसार त्रिविमा अध्ययनरत विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन्।
त्रिविले सार्वजनिक गरेको ग्रेसलिस्टअनुसार २०८२ असार मसान्तसम्मको तथ्यांकमा विश्वविद्यालयका विभिन्न संकाय तथा अध्ययन संस्थानमा विद्यार्थी अध्ययनरत छन्। तीमध्ये व्यवस्थापन संकायमा सबैभन्दा धेरै विद्यार्थी छन्। त्यसपछि शिक्षा, मानविकी तथा सामाजिकशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङलगायतका संकाय तथा संस्थानमा विद्यार्थी छन्।
विवरणअनुसार संकायगत रूपमा व्यवस्थापनमा करिब ४३ हजार, शिक्षा शास्त्रमा १९ हजार ५ सय ३३ र मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४ सय ६१ विद्यार्थी रहेका छन्। त्यस्तै विज्ञान तथा प्रविधिमा ६ हजार ६ सय ६८, इन्जिनियरिङमा ५ हजार १ सय ६०, कानुनमा ३ हजार ९, चिकित्साशास्त्रमा १ हजार ९ सय २०, कृषि तथा पशु विज्ञानमा ४ सय ६३ र वन विज्ञानमा १ सय ९२ विद्यार्थी रहेको विवरणमा उल्लेख छ।
त्रिविमा एमफिल तहमा २ सय ५३ र विद्यावारिधि तहमा १ सय ९६ जना विद्यार्थी रहेको जनाइएको छ।
विश्वविद्यालयले प्रस्तुत गरेको विवरणमा विभिन्न तहमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीको संख्या पनि उल्लेख छ। स्नातक, स्नातकोत्तर, एमफिल, पीजीडीएस तथा विद्यावारिधि तहमा गरी ठूलो संख्यामा विद्यार्थीले ट्रान्सक्रिप्ट लिएको देखिन्छ। यसले त्रिविबाट प्रत्येक वर्ष ठूलो संख्यामा जनशक्ति उत्पादन भइरहेको देखाए पनि अध्ययनको ठूलो हिस्सा अझै गैरप्राविधिक विषयमा केन्द्रित रहेको देखाउँछ।
विश्वविद्यालयले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउनुपर्ने आवश्यकता देखिएको छ। रोजगारी बजारमा प्राविधिक तथा व्यावसायिक सीपको माग बढिरहेको अवस्थामा त्रिविका कुल विद्यार्थीमध्ये ८४.९० प्रतिशत साधारण शिक्षातर्फ हुनु विश्वविद्यालयको शैक्षिक संरचना र श्रम बजारबीचको सम्बन्धबारे पनि प्रश्न उठाउने आधार बनेको छ।
प्रकाशित: २२ आश्विन २०८३ १०:२५ बिहीबार





