२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

इञ्जिनियरिङका विद्यार्थीमाझ इजरायली सिकाइ आदानप्रदान

इजरायलस्थित किबुट्जिमकलेज अफएजुकेसन टेक्नोलोजी तथा आर्टस्सँगको सहकार्यमा एड्भान्स्ड इञ्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय सिकाइ आदानप्रदान कार्यक्रम गरेको छ ।

इजरायलस्थित किबुट्जिम कलेज अफ एजुकेसन टेक्नोलोजी तथा आर्टस् सँगको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय आदानप्रदान समारोह समापन गरिएको हाे।

नेपालका लागि इजरायली राजदूत हनान गोडरको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त समारोहमा इजरायलका बौद्धिक व्यक्तित्वहरू, विशिष्ट अतिथि, समन्वित सङ्घ संस्था तथा विभिन्न सङ्कायमा अध्ययनरत शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेकाे थियाे। 

इजरायलस्थित किबुट्जिम कलेजसँगको सहकार्यमा एड्भान्स्ड कलेजले सन् २०२२ सेप्टेम्बर ५ देखि औपचारिक रूपमा कार्यक्रमको सुरूवात गरेको थियो। साे कार्यक्रम दुई हप्तासम्म चलेकाे थियाे। उक्त कार्यक्रमबाट काठमाडौँको कीर्तिपुरस्थित दुईओटा सामुदायिक विद्यालय, जनसेवा माध्यमिक विद्यालय र पाँगा माध्यमिक विद्यालयको सशक्तीकरण गर्ने लक्ष्य राखिएको थियो। 

कार्यक्रम अवधिभर विद्यार्थीहरूले काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक सङ्घ संस्थाका अतिरिक्त अपाङ्गता तथा पुनःस्थापना केन्द्रको समेत भ्रमण गरेकाे कलेजले बताएकाे छ। 

समारोहमा नेपालका लागि इजरायली राजदूत हनान गोडरले नेपाल र इजरायल बीचको शैक्षिक अध्यायको यात्राप्रारम्भ गरेकामा एड्भान्सड कलेज र किबुट्जिम कलेज प्रति बधाई ज्ञापन गरेका थिए। यस किसिमका शैक्षिक आदान प्रदान कार्यक्रमले शिक्षामा नवप्रवर्तनको क्षितिजलाई फराकिलो बनाउने मात्र नभई नेपाल र इजरायलबीचको सम्बन्धलाई समेत यसले थप सुदृढ पार्ने राजदूत गोडरको भनाइ थियो।

किबुट्जिम कलेजका प्राध्यापक डा.अदिवगलले यस किसिमका उपलब्धिमूलक कार्यक्रमको आयोजना गरेकामा एड्भान्सड कलेजप्रति कृतज्ञता व्यक्त गरे। यस्ता प्रकृतिका कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण सीपको अभिवृद्धि गर्नेकार्यमा सघाउ पुर्‍याउनुका साथै दुवै राष्ट्रको सांस्कृृतिक प्रर्वद्धनमा समेत यसले टेवा पुर्‍याउने उनको धारणा थियो।

प्राध्यापक डा.अदिवगलले समारोह उपस्थितलाई उनले परियोजना व्यवस्थापन तथा अन्य सान्दर्भिक सरोकारका बारेमा समेत जानकारी गराएका थिए। त्यसैगरी जेरुसेलम स्थित अन्तर्राष्ट्रिय माइग्रेसन कन्सल्ट्यान्ट सेन्टर फर इन्टरनेसनल माइग्रेसन एन्ड इन्टिग्रेसनकी सविता देसेमरु तथा कार्यक्रमका अर्का एकजना सदस्यले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धका बारेमा प्रकाश पारेका थिए।यस्ता कार्यक्रमहरूले शिक्षा प्रणालीमा अन्तर्निहित चुनौतीहरूलाई सामना कसरी सहयोग गर्छ भन्नेबारेमा समेत उनीहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेकामा गौरव बोध गर्दै निर्देशक रेग्मीले इजरायलको शिक्षाकाबारे अनुभव हासिल गर्दै एड्भान्स्ड कलेजका विद्यार्थीहरूले समेत यस्तै अवसरहरू हासिल गर्ने कुरा प्रति आफू आशावादी रहेको बताए। 

एड्भान्सड कलेजका प्राचार्य इन्जिनियर लोचनलाल अमात्यले किबुट्जिम परिवार तथा नेपालस्थित इजरायली दूतावासको निरन्तर सहयोग र समन्वयप्रति कृतज्ञता व्यक्त गरे। साथै आगामी दिनमा पनि सहकार्य गर्न एड्भान्सड कलेज तयार रहेको उनको धारणा थियो।

कार्यक्रममा विद्यार्थीहरूले दुई हप्ताभरिको आफ्नो अनुसन्धान र अन्वेषणको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

प्रकाशित: ४ आश्विन २०७९ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App