२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

गरिखाने आधार: प्राविधिक शिक्षा

एउटा भनाइ नै छ, हातमा सिप भए भोकै मर्नुपर्दैन। हो, यस्तै हो प्राविधिक शिक्षा। प्राविधिक शिक्षा लिनेहरूसँग हातमा सिप रहेको हुन्छ। यही सिपले उसलाई भोको बनाउँदैन।

प्राविधिक शिक्षाबाट उत्पादित जनशक्तिमध्ये ७५ प्रतिशतले रोजगारी पाउने गरेको तथ्यांक राख्छ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमी भक्तपुर। हाम्रो देशमा बेरोजगारको संख्या धेरै भएको र प्राविधिक शिक्षा पढेर केही गर्न चाह्यो भने ७५ प्रतिशत व्यक्ति रोजगार हुने तथ्यांक सिटिइभिटीको छ।

सिप खेर नजाने हुनाले प्राविधिक शिक्षा नै चाहिएको भन्छन् सिटिइभिटीका अधिकारीहरू। साथै उनीहरू देशको विकास गर्न प्राविधिक शिक्षा अनिवार्य सर्त बताउँछन्। ‘आज नवजात शिशुको मृत्युदर घटेको छ, गाउँगाउँमा प्राविधिक जनशक्ति सिएमए, अनमी छन्। दुरदराजका गाउँमा आज हाम्रो जनशक्तिले ठूलो काम गरेको छ,’ सिटिइभिटीका निर्देशक टेकबहादुर मल्लले भने, ‘त्यसकारण प्राविधिक शिक्षा नै चाहिन्छ।’

जुन व्यक्तिले देशका लागि साँच्चीकै केही गर्छु भनेर लागेको हुन्छ, त्यस्ता व्यक्तिले पढ्ने शिक्षा प्राविधिक नै हो भनी सिटिइभिटीका अधिकारी बताउँछन्। देशको समृद्धि र आर्थिक तथा सामाजिक परिवर्तनको सोच राख्ने मान्छेले यो शिक्षा पढ्न जरुरी रहेको उनीहरूको विश्लेषण छ।

सिटिइभिटीका सूचना अधिकृत मनिलमुनि बज्राचार्य श्रम गर्न सिकाउने यस क्षेत्रको सम्मान गर्नुपर्ने बताउँछन्। ‘श्रमप्रति हामी घृणा गर्छाैं, श्रम गर्ने मान्छेलाई तल्लो दर्जाको रूपमा राखेमा छौं। यो विभेदले अहिले पनि स्थान दिएको छ,’ उनको बुुझाइ छ।

जैविक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा थुप्रै सम्भावना रहेको अवस्थामा हामीले प्राकृतिक स्रोतसाधनको पहिचान गर्न नसकेको र खानीहरू उत्खनन, बजार व्यवस्थापन रोजगारीको सृजना गर्न नसक्नुको पछाडि दक्ष जनशक्तिको अभाव र श्रमप्रतिको तिरष्कार रहेको उनको भनाइ छ। श्रम हेलत्व होइन भन्ने कुरा स्थापित हुन जरुरी छ। बोलेर खाने माथिल्लो दर्जामा छन्। तर, हातले श्रम गरेर खाने तल्लो दर्जामा। श्रमको महत्त्व नबुझेसम्म प्राविधिक शिक्षाको महत्त्वलाई बुझ्न नसक्ने एकथरीको भनाइ रहेको छ। यो शिक्षाले मुलुकको विकास तथा निर्माणमा मेरुदण्डको रूपमा काम गर्नुपर्छ र गरिरहेको छ पनि।

एइईको भर्खरै नतिजा सार्वजनिक भएको छ। प्राविधिक शिक्षा पढ्ने उच्च चाहना भएका लाखौं विद्यार्थीलाई आफ्नो रुचिअनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र होटेल व्यवस्थापनमा पढाइ हुन्छ सिटिइभिटीमा। डिप्लोमादेखि टिएसइर्ई तथा सिप तालिम छन् यहाँ। प्राविधिक शिक्षा लिएर मुलुक निर्माणको अभियानमा सहयोग गर्न प्राविधिक शिक्षा लिएर पढ्न आउन सिटिइभिटीको अपिल छ।

के हो प्राविधिक शिक्षा?

प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरू परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा, भौतिक तथा सामाजिक आवश्यकताहरू परिपूर्ति गर्ने शिक्षा हो। यही अवस्थामा २०३७ सालदेखि कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट यसको सुरु भएको हो। २०४५ देखि स्वायत्तता प्राप्त गर्दै संस्थाको स्थापना भएको छ। यो प्रयोगात्मक शिक्षा हो, जुन आफ्नै हातले केही गर्नुपर्छ। प्राविधिक शिक्षा पढेर होइन, सिकेर पढ्नुपर्ने हुन्छ।

यो तालिम होइन, जो देशका लागि प्राविधिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै आधारभूत तथा दक्ष जनशक्ति उत्पादन गर्नु मुख्य उद्देश्य हो। डिप्लोमा तह टिएसइई तथा छोटो अवधिको तालिम मार्फत शिक्षा उपलब्ध गराइरहेको छ। अहिलेको सन्दर्भलाई हेर्ने हो भने हालसम्म आउँदा धेरै अगाडि बढेको छ यो। गाउँ प्राविधिक शिक्षाको पहुँच पुर्‍याउन सरकारी स्कुलहरूसँग साझेदारी पनि गरिरहेको छ। सीमित स्रोतसाधनबीच केही निजी संस्थालाई पनि सम्बन्धन दिएर प्राविधिक शिक्षाको पहुँच विस्तार गरिरहेको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App