५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

धनगढीमा पाएनन् शिक्षकले तलब

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको कार्यकक्षमा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरू तलब माग्दै । तस्बिरः पुष्पराज/नागरिक

धनगढी उपमहानगरपालिकाले नगरभित्र कार्यरत निजी शिक्षकलाई वार्षिक रूपमा दिँदै आएको तलब यसपटक भने दिएको छैन। उपमहानगरपालिकाको रातो किताबमा उल्लेख भएको तलबसमेत सामुदायिक विद्यालयमा कार्यरत नगरका २ सय ९ जना निजी शिक्षकले पाउन सकेका छैनन्। आफूले काम गरेबापतको तलब नपाउँदा शिक्षकहरू धनगढी उपमहानगरपालिका धाएको धायै भए पनि उपमहानगरपालिकाले निजी शिक्षकलाई दिँदै आएको तलब यसपालि भने दिन नसक्ने बताएको छ।  

धनगढी उपमहानगरपालिकाको स्थानीय राजपत्रमा नगर शिक्षक व्यवस्थापन कार्यविधि २०७८ प्रकाशित भइसकेको कुरा पनि लागु गर्न नसकेको भन्दै शिक्षकहरूले आलोचना गर्न थालेका छन्। ‘राजपत्रमा प्रकाशित भएको कुरा पनि उपमहानगरपालिकाले लागु गर्न सकिरहेको छैन,’ निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष बालाराम जोशीले भने, ‘वर्षभरि दुःख गरेर पढाएबापतको पारिश्रमिक पाउन पनि यतिको पीडा छ। खाइपाई आएको तलब पनि उपमहानगरपालिकाले दिनै मानिरहेको छैन।’ चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले १ करोड २० लाख रूपैयाँ नगरमा कार्यरत निजी स्रोतका शिक्षकलाई छुट्याएको थियो। तर, उक्त रकम सकिएको भन्दै नगरका निजी स्रोतका शिक्षकलाई वर्षभरिको तलब दिइएन। तर, स्थानीय राजपत्रमा आर्थिक वर्ष २०७८र७९ को हकमा विद्यालयबाट माग भई आएको तथ्याङ्कबमोजिम महाशाखाले तयार पारको वार्षिक निकासा विवरणका आधारमा जेठ मसान्तभित्रै आर्थिक प्रशासन शाखाले अनुदानवापतको पूरै रकम एकैपटक निकासा गर्ने उल्लेख भए पनि असार सकिनै लाग्दासमेत शिक्षकलाई तलबवापतको रकम दिन सकेको छैन। वर्षभरि पढाएवापतको तलब माग्न जाँदा पनि धनगढीका मेयर गोपाल हमालले नगरपालिकासँग पैसा नै नभएको र आफूले कहाँबाट दिने भन्दै पन्छिएको बताए। उनले भने, ‘बरु तपाईंहरू आन्दोलन गर्नुस्, म तलबबापतको पैसा दिन सक्दिनँ भनेर मेयरसापले भन्नुभयो।’  

यसअघि पनि असार १९ गतेका दिन नगरप्रमुखसँग निजी स्रोत शिक्षकको तलबका बारेमा जानकारी गराए पनि त्यो बेला भने आफूहरूलाई आश्वासन दिएर फर्काएको बताउँदै उनले भने, ‘अघिल्लो पटक आउँदा तपाईंहरू जानुस्, म तुरुा निकासा गर्न लगाइ हाल्छु भन्नुभयो तर अहिलेसम्म निकासा गर्नु त कहाँ हो कहाँ, उल्टै पैसै छैन भन्न थाल्नुभयो।’  

आफूले वर्षभरि पढाएवापतको तलब पनि नपाउनु दुःखद् भएको शिक्षक जगदीश घर्तीमगरले बताए। उनले दुखेसो पोख्दै भने, ‘शिक्षामा लगानी लगाउनुको साटो शिक्षकले वर्षभरि मिहिनेत गरेको पैसा पनि उपमहानगरपालिकाले दिएन।’ धनगढी उपमहानगरपालिकाले नगरभित्रका निजी स्रोत शिक्षकको तलब न्यून रहेको भन्दै उनीहरूलाई प्रोत्साहन स्वरूप प्राथमिक तहका शिक्षकलाई प्रतिव्यक्ति वार्षिक ४२ हजार ५ सय, निमावि तहका शिक्षकलाई ५० हजार र माध्यमिक तहका शिक्षकलाई ६६ हजार ५ सय थप रूपैयाँ प्रदान गर्दै आएको थियो।  

धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले प्रदेश सरकारको राजस्वबाट बजेट विनियोजन गरिएकाले आन्तरिक राजस्व तथा प्रदेश राजस्वबाट आउनुपर्ने रकम नपुगेकाले निजी स्रोत शिक्षकलाई दिइने तलबवापतको रकम दिन नसकेको स्वीकारे। निजी शिक्षकको तलबका विषयमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई फोन सम्पर्क गर्दा उनले फोनै उठाएनन्।

प्रकाशित: २९ असार २०७९ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App