२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरु

विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कहलिएका गणितविज्ञ समेतको सहभागितामा तिन दिने सम्मेलन सुरु भएको हो।

सम्मेलनमा देशभित्र र बाहिरका गणितविज्ञ, प्राध्यापक, शिक्षक लगायत डेढ सयभन्दा बढीको सहभागिता छ। सम्मेलनमा विज्ञका ७६ कार्यपत्र प्रस्तुत हुने आयोजक नेपाल गणित समाजका उपाध्यक्ष डा. श्रीराम खड्काले जानकारी दिए। उनले गणित विषयमा अध्ययनरत, अध्यापनरत र अनुसन्धानरतबीच एकै थलोमा बहस हुने बताए। ‘गणित विषयमा अनुसन्धानात्मक विचार, विमर्श र बहस गर्न सम्मेलन आयोजना गरिएको हो,’ उनले भने, ‘गणितमार्फत समाजमा कसरी योगदान गर्न सकिन्छ भन्ने निष्कर्ष यो सम्मेलनले निकाल्नेछ।’

उनले विद्यालय र विश्वविद्यालयमा गणितका विद्यार्थी किन कम हुँदै छन् र परीक्षामा पनि किन गणित विषयमै सबैभन्दा धेरै विद्यार्थी फेल हुँदै छन् भन्नेबारे छलफल गर्ने, गणित जटिल विषय हो भन्ने समाजको भ्रम निवारण गर्ने र यो विषय समाजको अभिन्न अंग हो भन्ने पुष्टि गर्ने प्रयासमा सम्मेलन आयोजना गरिएको बताए। विशेष गरी माध्यमिक तहमा गणित विषयको पठनपाठन प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सम्मेलनमा छलफल गरिँदै छ।

गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै दोष रहेको डा. खड्काको भनाइ छ। ‘गणितको एकीकृत पाठ्यक्रम बन्नुपर्छ, अहिलेको माध्यमिक तहको गणित अनुसन्धानमा आधारित छैन, पाठ्यक्र पाठ्यपुस्तक छैनन्,’ उनले भने, ‘शिक्षकलाई पाठ्यक्रम अनुसार तालिमप्राप्त बनाइएको छैन, त्यसैले यो विषय जटिल पो हो कि जस्तो देखाइएको छ। सम्मेलनमा यो विषयमा व्यापक बहस हुनेछ।’

उनले गणित विषयबारे छलफल गर्न यो सम्मेलन सातौं पटक आयोजना गरिएको बताए। यो सम्मेलनमा २१ प्रशिक्षक रहेको उनले जानकारी दिए। सम्मेलनमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्यापनरत सात प्राध्यापक सहभागी छन्। बाँकी प्रशिक्षकहरू नेपालकै विभिन्न विश्वविद्यालयमा अध्यापनरत र विद्यावारिधि गरिरहेका व्यक्ति हुन्। ‘गणित विषयको विकास र प्रभावकारी अध्ययन–अध्यापनमा सम्मेलनले देशकै लागि महत्त्वपूर्ण सहयोग गर्नेछ,’ डा. खड्काले भने, ‘गणितलाई सहज, सरल र उपयोगी कसरी बनाउने भन्नेबारे निष्कर्ष निकालिनेछ।’

समाजले यही जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाइन गोष्ठी तथा २६, २७ र २८ गते कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशाला समेत सम्पन्न गरेको थियो। कार्यशालामा सहभागीले गरेको प्रस्तुतिका आधारमा प्रतियोगिता समेत आयोजना गरिएको छ। त्यसमा पोखरा विश्वविद्यालयका प्रेम गुरुङले पहिलो भई नगद १० हजार रूपैयाँ हात पारे। भक्तपुरकी सर्मिला श्रेष्ठ र विराटनगरका रामनाथ पण्डितले दोस्रो स्थान पाए।

‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटिक्स इन अमेरिका’का अध्यक्ष तथा अमेरिकाको जर्जियास्थित मर्सर युनिभर्सिटीका सहप्राध्यापक केदार नेपालले एसोसिएसनले १२ वर्षदेखि गणित विषयमा विभिन्न गतिविधि गरिरहेको बताए। उनले केही वर्षअघिसम्म गणितको अवस्था दयनीय भए पनि विश्वव्यापी रूपमा अहिले सुधार आउन थालेको बताए। ‘विश्वविद्यालय, प्राध्यापक, अनुसन्धाता लगायतको तहमा चाहिँ गणितप्रतिको बुझाइ र उपयोगमा सुधार आउन थालेको छ,’ उनले भने, ‘तर विद्यालय, विश्वविद्यालय तहमा यो विषयमा विद्यार्थी घट्ने क्रम देखिन्छ।’

एसोसिएसनले गणित विषय अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको पनि घोषणा गरेको छ। स्नातक अध्ययन गर्ने विद्यार्थीलाई ५० हजार रूपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष नेपालले घोषणा गरे। ‘सन् २०२३ मा पहिलो पटक ७ विद्यार्थीलाई यो छात्रवृत्ति दिइनेछ,’ उनले भने, ‘त्यसपछि विद्यार्थीको संख्या थप्दै प्रतिवर्ष सय जनासम्मलाई जनही ५० हजार रूपैयाँको छात्रवृत्ति दिइने छ।’

सम्मेलनमा सहभागी भक्तपुरकी शिक्षिका सर्मिला श्रेष्ठले विद्यार्थीलाई गणित विषयको अध्यापन गर्न सम्मेलन र कार्यशाला उपलब्धिमूलक भएको बताइन्। उनले कार्यशालाबाट आफूहरूमा उत्प्रेरणा मिलेको पनि बताइन्। ‘अहिले गणित विषयको पाठ्यक्रम छिटोछिटो परिवर्तन भएकाले शिक्षकलाई समेत समस्या छ,’ उनले भनिन्, ‘सम्मेलनले विशेषगरी कक्षा ११ र १२ को गणित विषयलाई प्राथमिकता दिएकाले अब हामीमा विषयप्रतिको धारणा स्पष्ट बनाउन र विद्यार्थीलाई बुझाउन पनि सजिलो भएको छ।’

उनले गणित व्यक्तिको व्यावहारिक जीवनमा हरक्षण प्रयोगमा आउने भएकाले यो निकै महत्त्वपूर्ण विषय भएको बताइन्। सम्मेलन उद्घै प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशका सबै जिल्लामा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए। ‘यहाँ आयोजित सम्मेलनले गणित विषयको अध्ययन र अध्यापनलाई थप प्रभावकारी बनाउने छ भन्ने विश्वास छ,’ उनले भने, ‘शिक्षा गुणस्तरीय नभएसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन।’  

प्रकाशित: २९ जेष्ठ २०७९ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App