१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्था निर्माण गर्ने

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्। सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरु बनाउने कार्यमा प्रदेश लागि परेको दाबी गरे।

उनले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवर्द्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने बताए।

मुख्यमन्त्री पाण्डेले प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग मिलेर कम गर्न तयार रहेको बताए। उनले आगामी बजेटमा प्रदेशले अनुसन्धानका लागि छुट्टै बजेट निकासा गर्ने र कानूनि बन्दोबस्त गरेर प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान पनि तयार रहेको बताए।

मुख्यमन्त्री पाण्डेले नेपालमा अनुसन्धानका क्षेत्रमा लगानी गर्ने कुरालाई फजुल खर्च भन्ने गरेको पनि बताए। उनले अनुसन्धानको क्षेत्रलाई अन्य ६ प्रदेशले सिक्ने गरेर वागमती प्रदेश अघि बढ्ने प्रतिवद्धतासमेत जनाए।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताए।

उनले नेपालमा स्वास्थ्य क्षेत्रलाई सहज, सर्वसुलभ र दूरदराजका पहुँच विहीन जनताले पनि प्राप्त गर्ने गरी व्यवस्था गर्ने कुरामा जोड दिनुपर्ने बताए। राज्यमन्त्री खापुङले नेपालको अहिलेको राजनीति अस्थिर नरहेको भन्दै स्वास्थ्य क्षेत्रमा भने स्थिरता कायम गर्नुपर्ने बताए। 

प्रकाशित: २८ चैत्र २०७८ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App