५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङका विद्यार्थी परीक्षाबाट वञ्चित

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गत धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत सात विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। परीक्षाका लागि अनलाइन पे गरे पनि प्राविधिक त्रुटिका कारण उनीहरूको प्रवेशपत्र नआएपछि परीक्षामा सामेल हुन पाएका छैनन्। सर्भर सिस्टमको त्रुटिका कारण अनलाइन फाराम भरे पनि प्रवेशपत्र नआएको र सात विद्यार्थीको शैक्षिक भविष्य नै संकटमा परेको भन्दै बिहीबार क्याम्पसका सबै विद्यार्थीले प्रदर्शन गरे। त्यसक्रममा उनीहरूले क्याम्पस प्रमुखको  

कुर्सी जलाउनुका साथै प्रशासनमा तालाबन्दीसमेत गरे। उनीहरू तोडफोडमा उत्रिँदा ढोकाको सिसासमेत फुटेको जनाइएको छ।

परीक्षा दिन नपाउँदा एक वर्ष खेर जाने र अर्को वर्ष पनि कोटा खाली भए मात्र पढ्न पाइने भएपछि विद्यार्थीहरू चिन्तित भएका छन्। विद्यार्थीहरूले सर्भर सिस्टमको गडबडीका कारण विद्यार्थीको भविष्य अन्योल बनाउन नहुने भन्दै क्याम्पस प्रशासन र डिन कार्यालयले परीक्षा दिने व्यवस्था गर्नुपर्ने माग राखे। क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन र पत्राचार गरे पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन्।

प्रवेशपत्र नआएर परीक्षाबाट वञ्चित हुनेमा सिभिल इन्जिनियरिङ पहिलो वर्षकी सची ताम्राकार, मेकानिकल पहिलो वर्षका तेजबहादुर खत्री, मेकानिकल तेस्रो वर्षका अरविन्द यादव, कम्युटर तेस्रो वर्षका रामविनोद घिमिरे, बिसिटी तेस्रो वर्षका ऋषभ आचार्य, सिभिल तेस्रो वर्षका सागर घिमिरे र अर्का एक विद्यार्थी छन्।

परीक्षाका लागि बैंकमा पैसा जम्मा गरेर अनलाइन फाराम भरेको तर आइओईको सर्भरका कारण प्राविधिक त्रुटिले आफूहरूको प्रवेशपत्र नआएको भन्दै परीक्षाबाट वञ्चित विद्यार्थीको भविष्य बिग्रने भन्दै परीक्षा दिने मौका पाउनुपर्ने माग मेकानिकल पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्रीले राखे। ‘हामीसँग बैंकमा पैसा तिरेको भौचर पनि छ।

अनलाइन फाराम भरेको पनि हो। एप्रुभ भयो या भएन भन्ने जानकारीचाहिँ पाइएन। परीक्षाको अघिल्लो दिन कार्ड लिन जाँदा पाइएन। त्यसपछि मात्र अनलाइन फाराम एप्रुभ भएन भन्ने थाहा पाइयो,’ निराश हुँदै उनले भने, ‘हाम्रो त भविष्य नै बिग्रने भयो।’

कम्युटर तेस्रो वर्षका विद्यार्थी ऋषभ आचार्यले विगतमा यस्तै समस्या देखिँदा क्याम्पस प्रशासनले सूचना जारी गरेर कुनकुन विद्यार्थीको एडमिट कार्ड आएन भने जानकारी दिने गरेको बताए। त्यसपछि जरिवाना तिराएर फाराम भर्ने गरेको उनको भनाइ छ। ‘तर यसपटक प्रशासनले नोटिस जारी नै गरेन। अब हाम्रो एक वर्ष लस हुन्छ। परीक्षा दिन नपाइने र पढ्न नपाइने भन्ने कुरा हुँदैछ,’ उनले भने, ‘नियम के छ भने अर्को वर्ष सिट खाली भयो भने मात्र पढ्न पाउने, खाली नभएसम्म वेटिङमा बस्नुपर्ने अवस्था छ। डिन सरसँग कुरा गर्‍यौं तर सुनुवाइ भएन। सिस्टमबाट फल्ट भयो, त्यसको मारमा हामी पर्‍यौं।’

क्याम्पसका पूर्वशैक्षिक सहायक क्याम्पस प्रमुख एवं सिआइटी इएमआइएसका प्राध्यापक टिएन झा प्राविधिक कारणले विद्यार्थी मारमा परेको स्वीकार गरे। उनले यो समस्यालाई सिस्टममा ‘इरर’ भएको भन्दै  

कसैलाई पनि दोषारोपण नगरी समाधान गर्न क्याम्पस प्रशासन र डिन कार्यालयलाई आग्रह पनि गरे। उनले भने, ‘विद्यार्थीबाट पनि केही गल्ती भयो होला, अनलाइन प्रोसेस पूरा गरेनन् होला तर त्यो सानो गल्तीको यति ठुलो सजायको भागीदार बनाउनुहुँदैन। कसैलाई दोष नदिई समस्या हल गर्दा हुन्छ।’

परीक्षामा सामेल गराउने लिखित प्रतिबद्धता

बिहिबार दिउँसो २ बजेदेखि स्नातक तह चौथो वर्षको परीक्षा थियो। तर दिउँसो करिब १ बजेतिरै आन्दोलित विद्यार्थीहरूले क्याम्पस प्रशासन, परीक्षा शाखालगायतको मूल ढोकामा तालाबन्दी गरे। यसले परीक्षा नै प्रभावित हुने स्थिति बन्यो। विद्यार्थीहरूले क्याम्पस प्रमुख ओमप्रकाश ढकालसँग सातजना विद्यार्थीले पनि बाँकी परीक्षा दिन पाउने ग्यारेन्टी गरे मात्र ताला खोलेर परीक्षा सुचारु हुन दिने अडान राखे। त्यसपछि प्रमुख ढकालले चैत १२ देखि हुने बाँकी परीक्षामा सहभागी गराउन आफूले प्रवेशपत्र उपलब्ध गराउने लिखित सहमति जनाएपछि मात्र विद्यार्थीले ताला खोलेका थिए। बिहीबारको परीक्षा निर्धारित समयभन्दा झन्डै ४० मिनेट ढिला गरी २ बजेर ४० मिनेटमा मात्र सुरु भयो।

आफू नै केन्द्राध्यक्ष पनि भएकाले चैत १२ गतेदेखिको बाँकी परीक्षामा सात विद्यार्थीलाई प्रवेशपत्र दिएर सहभागी गराउने लिखित प्रतिबद्धता जनाएको क्याम्पस प्रमुख ढकालले बताए। डिन कार्यालयसँग पनि आफूले समन्वय गरेर र त्यहाँबाट पनि सकारात्मक सन्देश आएपछि आफू यो निर्णयमा पुगेको उनको भनाइ छ। क्याम्पस प्रमुख ढकालले भने, ‘विद्यार्थीको भविष्य बिग्रियोस् भनेर हामी र डिन कार्यालय पनि चाहँदैन। डिनले भोलि निर्णय गराउँछु भनेपछि मैले लिखित रूपमा प्रतिबद्धता जनाएको हुँ।’

प्रमुख ढकालका अनुसार डिन कार्यालयले शुक्रबार फ्याकल्टी बोर्डको बैठक राखेर परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीहरूलाई पुनः फाराम भरेर परीक्षा दिने व्यवस्थाको निर्णय गर्नेछ। उनले भने, ‘यहाँको परीक्षा केन्द्र म भएकाले परीक्षा हलमा बस्ने दिने, नदिने मेरो निर्णयको कुरा हो। मैले प्रवेश पत्र बनाएर परीक्षामा सामेल गराउँछु भने। डिन कार्यालयबाट फाराम भर्ने व्यवस्थाको निर्णय भएपछि समस्या हल हुन्छ।’

प्रकाशित: ११ चैत्र २०७८ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App