१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई पूरै अवधि विद्यालयमै बसाउन रिडले दियो टिफिन बक्स

ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्त केही समय अघि कार्यक्षेत्रका विद्यालयको अवस्था बुझ्न फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबु पुगे। टिफिन अघिसम्म त्यहाँका विद्यालयहरुमा विद्यार्थी भरिभराउ थिए। त्यसपछि क्रमशः एक दुई–एक दुई गर्दै विद्यार्थी बाहिरिन थाले। विद्यार्थीहरु किन यसरी पूरै कक्षा अवधिभर बस्न सक्दैनन् त? पन्तलाई मनमा यो प्रश्नले पिरोलिइरह्यो।

विद्यालय समयको पूरै अवधि विद्यार्थी कक्षामा नबस्नुको कारण पत्ता लगाउन उनले कार्यक्षेत्र भित्रका अधिकाँश विद्यालयमा छलफल चलाए। छलफलबाट निश्कर्ष आयो ‘भोक लाग्न थालेपछि विद्यार्थी भोकप्यास मेटाउन घरतिर लाग्छन् र पूरै अवधि विद्यालयमा बिताउन सक्दैनन्।’ बिहान सबेरै घरबाट खाना खाएर हिँडेका विद्यार्थी भोककै कारण पूरै अवधि विद्यालय बस्न नसक्ने अवस्था हटाउन के गर्ने त? रिड नेपालले यो प्रश्नको समाधान खोज्ने प्रयास गर्‍यो। कार्यक्षेत्रका विद्यालय प्रशासनको परामर्शपछि उसले ठहर गर्‍यो, ‘विद्यार्थीले घरैबाट दिउँसोका लागि खाजा बोकेर आएभने भोककै कारण विद्यार्थीले कक्षा छाड्नुपर्ने अवस्था आउँदैन।’

यस्तो निश्कर्षमा पुगेको रिडले आफ्नो कार्यक्षेत्रका करिव ३ हजार विद्यार्थीलाई दिवा खाजा बोकेर ल्याउनका लागि‘टिफिन बक्स’प्रदान गरेको छ। विद्यार्थीलाई विद्यालयमा नियमित गराउने उद्देश्यसहित रिडको कार्यक्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको रिड नेपालले जनाएको छ। ३ वर्षको अवधिमा २ हजार ९ सय ७० जना विद्यार्थीलाई टिफिन बक्स प्रदान गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावोले जानकारी दिइन्। २०७६ सालबाट सुरु भएको यो अभियानको पहिलो वर्ष ५ सय ७० थान, दोस्रो वर्ष १ हजार ५ सय थान र चालू वर्षमा ९ सय थान टिफिन बक्स वितरण गरिएको मावोले जानकारी दिइन्।

फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ४ इखाबु, वडा नं ५ तापेथोक, वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे, वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन रिड नेपालको कार्यक्षेत्रमा पर्छ। फक्ताङ्लुङका २२ र सिरिजंगाका १३ गरी ३५ वटा सामुदायिक विद्यालयमा टिफिन बक्ससहित स्वास्थ्य सामग्री वितरण गरिएको रिड नेपालले जनाएको छ। टिफिन बक्सका लागि १५ लाख ४४ हजार रुपैयाँ र स्वास्थ्य सामग्रीका लागि ६ लाख ५० हजार रुपैयाँ लगानी गरिएको रिड नेपालले जानकारी दिएको छ।

रिडले विद्यालयमा कोभिड–१९ महामारीको जोखिमबाट जोगिनका लागि आवश्यक पर्ने साबुन, फिनायल, सेनीटाइजर, माक्स, ट्वाइलेट ब्रस र तौलिया लगायतका सामग्री वितरण गरेको रिडका शिक्षा विकास अधिकृत मावोले जानकारी दिइन्। रिड नेपाल हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा सन् २००७ देखि ताप्लेजुङमा कार्यरत रहेको छ।

प्रकाशित: ४ माघ २०७८ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App