१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शिल्यान्यास विवादले विद्यालय भवन निर्माण अवरुद्ध

कुन नेताबाट शिल्यान्यास गराउने भन्ने विषयमा विवाद चुलिएपछि सदरमुकामको एउटा विद्यालय भवन निर्माण कार्य ४ महिना बितिसक्दा पनि सुरु भएको छैन। त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर माध्यामिक विद्यालयका लागि बन्न लागेकोे सुविधा सम्पन्न भवन शिल्यान्यास गर्ने नेता टुंगो नलाग्दा निर्माण सुरु हुन नसकेको हो।

भारतीय सरकारको सहयोगमा चालू आर्थिक वर्ष सुर गरेर १५ महिनाभित्र निर्माण सक्ने गरी गत असोजमै त्रियुगा नगरपालिकाले ठेक्का लगाएको थियो। तर, ठेक्का लागेको यतिका दिनसम्म पनि शिल्यान्यास गराउने नेताको विषय निश्चित नहुँदा निर्माणमा अवरोध हुन पुगेको छ। स्थानीयबासीका अनुसार बालमन्दिर परिसरको जग्गामा बन्न लागेको विद्यालय भवन शिल्यान्यास कार्य राष्ट्रपति विद्या भण्डारीबाट गराउनुपर्ने माग नेपाल बाल संगठनले गरेको छ।

शिलान्यास कार्यक्रमको मिति तय गर्न नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा पुस २७ गते बसेको बैठकमा संगठनका सभापति भुवन दाहालले भण्डारीबाटै शिल्यान्यास गराउनुपर्ने अडान लिएपछि विवाद भएको उनीहरुको भनाइ छ।

बैठकमा सहभागीहरुका अनुसार सभापति दाहालले राष्ट्रपति भण्डारीबाटै शिलान्यास गर्नुपर्ने र भवन बाल संगठनको स्वामित्वमा आउनुपर्ने अडान राख्दै असमति (नोट अफ डिसेन्ट) लेखेका छन्। उनको यो अडानसँगै भवन निर्माण कार्य सुरु गर्ने समय पछि धकेलिएको विद्यालयले जनाएको छ। माघ पहिलो साताभित्रै भवन शिलान्यास गरेर छिटो छिटो निर्माण गर्ने योजना रहेकोमा शिल्यान्यासको विषयले केही अन्योल जन्माएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश खड्काले बताए।

उनका अनुसार शैक्षिक संस्थाको भवन बनाउँदा दलीय स्वार्थप्रेरित नभई अघि बढ्नु पर्ने धारणा राख्दा पनि समाधान निस्कन सकेको छैन। धेरै प्रयासपछि उदयपुर क्षेत्र नं. १ का संघीय सांसदसमेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा भारत सरकारले दिएको सहयोगमा बनाउन लागिएको भवन शिल्यान्यासमै विवाद हुनु दुःखद भएको अध्यक्ष खड्काले बताए।

भवन बनाउनका लागि नगरपालिकाले जारी गरेको सूचना अनुसार गत असोज १९ गते ठेक्का सम्झौता भएको थियो। भवन १५ महिनाभित्र अर्थात् २०७९ पुस २१ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

४ करोड ९८ लाखको प्राविधिक इस्टिमेट रहेको भवन टेण्डर आव्हान गर्दा निर्माण व्यवसायीबीचको प्रतिस्पर्धाबाट ३ करोड ४९ लाख ८६ हजार ७ सय ४२ रुपैयाँमा ठेक्का लागेको छ। भवन निर्माणको जिम्मा पाएको थापा निर्माण सेवा रामेछापले स्थानीय ठेकेदारलाईै निर्माणको जिम्मा सुम्पेको बताइएको छ। ३० प्रतिशत बिलो (कम मूल्य)को ठेक्का, मुख्य ठेकेदारबाट दोस्रो व्यवसायीलाई बनाउन दिनु र शिलान्यासढिला हुनुले भवन सम्झौता मितिभित्र सकिने र गुणस्तरीय हुनेमा अहिलेदेखि नै शंका उत्पन्न भएको छ।

प्रधानाध्यापक जंगबहादुर खड्काले पहिले राष्ट्रपतिबाटै भवन शिलान्यास गर्ने भन्ने बैठकले निर्णय भएको तर, नेताहरुमार्फत कुरा लाँदा भण्डारी विद्यालय भवनजस्तो सामान्य योजनाको शिलान्यास गर्न अनिच्छुक देखिएपछि अरुबाटै गराउन खोज्दा सामान्य बिबाद  भएको बताए। भवन निर्माणस्थल बालमन्दिरको जमिन भएकाले बाल संगठनको सल्लाह लिन खोज्दा संगठनका सभापति दाहालले राष्ट्रपतिबाटै शिलान्यास गर्नुपर्ने अडान लिएपछि शिलान्यास कार्यक्रम धकेलिएको प्रअ खड्काले बताए। तर, छिट्टै भवन निर्माण थाल्न विव्यवसले बाल संगठन र दलहरुबीच आपसी छलफल गरिरहेको उनको भनाइ छ।

प्रकाशित: १ माघ २०७८ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App