७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

फर्कियो दरबार हाई स्कुलको विरासत

रौतहटका दीनानाथप्रसाद साहले आफ्ना चार सन्तानलाई दरबार हाई स्कुलमा भर्ना गरेका छन्। उनले आफ्ना नानीबाबुलाई क्षेत्रपाटीस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा पढाउँदै आएका थिए। दरबार हाई स्कुलमै पढाउन उनले पहिलेको विद्यालयबाट छोराछोरीलाई निकालेको बताए।

अत्याधुनिक भवनसहित पर्याप्त भौतिक पूर्वाधार देखेर आफूले सन्तानलाई सो स्कुलमा पढाउन चाहेको उनले स्पष्ट पारे। ‘नयाँ स्वरूपमा तयार भएको दरबार हाई स्कुल अहिले नेपालकै उत्कृष्टजस्तो लाग्न थालेको छ,’ साहले नागरिकसँग भने, ‘त्यसैले तीन छोरा र एक छोरीलाई यही स्कुलमा भर्ना गरिदिएको हुँ।’ उनका सन्तान सो विद्यालयमा कक्षा १, ३, ६ र ८ मा पढ्छन्। ‘सबै सरकारी स्कुल यस्तै भए किन निजीमा हामीले आफ्ना बच्चा पढाउनुपथ्र्यो र?’ उनले भने। साह काठमाडौंमा व्यापार गर्छन्। सन्तानलाई राम्रो शिक्षादीक्षा दिनकै लागि उनी रौतहटबाट काठमाडौं आएका हुन्।

दरबार हाई स्कुलको प्रांगणमा भेटिएकी सीता सिग्देलले पनि आफ्ना छोरालाई निजी विद्यालयबाट निकालेर सोही स्कुलमा भर्ना गरेको बताइन्। पहिले उनका छोरा कालीमाटीको जुबिल्यान्डमा पढ्थे। ‘दरबार हाई स्कुलले गुणस्तरीय शिक्षा दिइरहेको छ,’ उनले भनिन्, ‘पढाइ पनि निजीमा जस्तै सबै अंग्रेजी माध्यमबाटै हुन्छ। त्यसकारण छोरालाई कक्षा ५ मा भर्ना गरें।  

स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, आधुनिक कक्षाकोठा र रोबोटिक्स कक्षाले बाबुको सिर्जनात्मक क्षमता बढेको मैले महसुस गरेको छु।’ दरबार हाई स्कुलमा भर्ना भएदेखि बाबुले घरमा बिग्रेको ब्याट्री, तार, किला प्रयोग गरेर रोबोट जस्तै सामग्री बनाउन थालेको उनले बताइन्। ‘छोराले त्यस्तो गर्न थालेको देखेर बडो आनन्द पो लाग्छ,’ उनले भनिन्।

काठमाडौंको रानीपोखरीछेउ ९ रोपनी ३ आना जग्गामा बनेको दरबार हाई स्कुलको अत्याधुनिक भवन निकै सुन्दर देखिन्छ। चारतले भवनभित्र सबै गरी ४६ कोठा छन्। कक्षाकोठाहरू निकै उज्याला छन्। ती कक्षाकोठाका डेस्कबेन्च पनि निकै आधुनिक छन्। यी विविध कारणले गर्दा सो स्कुलमा तीन दशकपछि विद्यार्थीको चाप बढेको छ। विद्यार्थीको चहलपहलले स्कुलको अनुहारै बदलिएको छ। २०७२ सालको भूकम्पपछि थला परेको सो स्कुल चीन सरकारको ८५ करोड ५९ लाख ५० हजार लगानीमा अत्याधुनिक र आकर्षण भौतिक पूर्वाधारसहित तयार भएपछि विद्यार्थी र अभिभावकको आकर्षण ह्वातै बढेको हो।

यसपटक प्रारम्भिक बाल कक्षादेखि १० सम्म ६ सय विद्यार्थी भर्ना भएका छन्। विगतमा मुस्किलले सय विद्यार्थी भर्ना हुन्थे। प्राविदेखि माविसम्म दरबन्दीमा १७ शिक्षक छन्। अन्य दुई कर्मचारी पनि त्यहाँ कार्यरत छन्। नेपाल भाषाका लागि पनि थप दुई शिक्षक राखिएका छन्। विद्यार्थी संख्या बढेसँगै प्रावि र निमाविमा तीन शिक्षक दरबन्दी थप्नुपर्ने माग भइरहेको छ। दरबार हाई स्कुल पुग्दा अभिभावकहरू आफ्ना नानीबाबु स्कुल पुर्‍याउन गर्वसाथ आएका देखिन्थे। विगतमा शिक्षकहरूले विद्यार्थीको भर्नाका लागि घरदैलो अभियान चलाउनुपर्थ्याे।

निःशुल्क भर्नाको व्यवस्था रहेको बताउँदा पनि अभिभावकहरू आफ्ना छोराछोरी दरबार स्कुल पठाउन रुचि देखाउँदैनथे। यो वर्ष भने विद्यालयले अभिभावको विश्वास जितेको सोही विद्यालयको प्रशासनिक र आर्थिक व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्दै आएकी शिक्षक शारदा पौडेलले बताइन्। उनले स्कुलमा हाल आधुनिक भवन बन्नुका साथै प्रविधिमैत्री वातावरणका कारण विद्यार्थीको आकर्षण बढेको बताइन्। तर, विद्यार्थी संख्याको अनुपातमा शिक्षक अपुग हुँदा शैक्षिक गुणस्तर कायम राख्न भने चुनौती देखिएको उनको भनाइ छ।

‘२०४६ सालपछि निजी विद्यालयको आगमनपछि दरबार स्कुलको स्तर खस्कँदै गयो। दरबारकै शिक्षकहरूले स्कुलको लोगो र नाम दुरुपयोग गरी निजी लगानीमा निजी स्कुल खोल्न थाले। उनीहरू निजीको कोअर्डिनेटरसमेत बस्न थाले। शिक्षकको बेवास्तापछि स्कुलको शैक्षिक स्तर खस्कँदै गयो,’ पौडेलले भनिन्, ‘यसपालि तीन दशकपछि यो स्कुलमा ह्वात्तै विद्यार्थी संख्या बढेको छ। कक्षा १० सम्म अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ, स्मार्ट बोर्डको प्रयोग र रोबोटिक्स कक्षा अनिवार्य गर्नु नै विद्यार्थी आकर्षित हुनुका मुख्य कारण हुन्।’ उनले थपिन्, ‘हाल विद्यार्थीलाई किताबमा पढेका विषयवस्तुको रोबोटिक्स कक्षाले व्यावहारिक ज्ञान दिएको छ। अभिभावकको सन्तुष्टि बढेको छ। तर, स्कुलमा प्रावि र निमाविमा तीन शिक्षक अपुग छन्। सरकारले दरबन्दी थप गरेर शैक्षिक गुणस्तर कायम गर्न सहजीकरण गनुपर्छ।’

दरबार हाई स्कुलका पूर्वनिमित्त प्रधानाध्यापक अखिलेश आजादले सुविधासम्पन्न सुन्दर भवनका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न आफूहरूले हरपल जोड दिइरहेको अनुभव सुनाए। ‘हामीले आधुनिक र सुविधासम्पन्न भवनका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न प्रमुख रूपमा लागेका छौं,’ आजादले नागरिकसँग भने, ‘कक्षा ९ र १० मा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ। यो वर्ष धेरै विद्यार्थी निजीबाट भर्ना भएका छन्।’ उनले थपे, ‘यो स्कुलसँग अभिभावकको धेरै आशा छ। पूरा गर्न भने अलि चुनौती देखिन्छ।’

तीन वर्षदेखि प्रधानाध्यापकविहीन

लामो समयको सुस्ततापछि बल्ल दरबार हाई स्कुलले गति लिँदैछ। तर, प्रधानाध्यापकको अभावमा सो स्कुल तीन वर्षयता अभिभावकविहीनझैं बन्न पुगेको छ। प्रधानानध्यापक नियुक्त नहुँदा विद्यालय अभिभावकविहीन बनेको महसुस हुने गरेको शिक्षक पौडेलले सुनाइन्। ‘स्कुलको आन्तरिक विवाद मिलाउन सकिएको छैन। वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने व्यवस्था शिक्षा ऐनमा गरिएको छ,’ उनले भनिन्, ‘म प्रधानाध्यापक होइन तर कसैले सोधिहाले हो भन्ने जवाफ दिने गरेकी छु।’ उनले थपिन्, ‘स्कुलको शैक्षिक गतिविधि पूर्ण रूपमा अघि बढाउन र अभिभावकको विश्वास जित्न सरकारले तत्काल प्रधानाध्यापक नियुक्ति गर्नुपर्छ।’

अभिभावकको विश्वास गुम्ने चिन्ता

विद्यालयका वरिष्ठ शिक्षक हेमचन्द्र महतोले भर्खरै तंग्रिन लागेको स्कुलको शैक्षिक गतिविधिलाई तीव्रता दिन र अभिभावकको विश्वास जित्न तत्काल प्रधानाध्यापक नियुक्ति गरिनुपर्नेमा जोड दिए। ‘स्कुलमा अत्याधुनिक भवन छ। आधुनिक पुस्तकालय छ। रोबोटिक्स कक्षाले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिएको छ,’ उनले नागरिकसँग भने, ‘अहिले फेरि एकपटक स्कुलमा राजनीति छिर्न खोज्दैछ। हामी शिक्षक स्कुलको शैक्षिक गुणस्तर कायम राख्न कुनै पनि राजनीतिक नियुक्ति हुन दिनेछैनौं।’ उनले थपे, ‘७७ जिल्लाकै विद्यार्थी अध्ययनरत छन्। सुरक्षा प्रविधिमैत्री वातावारण छ। आवश्यक शिक्षकको दरबन्दी सिर्जना गरी सरकारले स्कुलको शैक्षिक गुणस्तर व्यवस्थापनमा सहयोग गर्नुपर्छ।’

काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार दरबार हाई स्कुलको व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गरी विभागमा पठाउनुपर्ने काममा ढिलाइ भएको छ। जसका कारण प्रधानाध्यापक नियुक्ति हुन सकेको छैन। ‘व्यवस्थापन समितिले वरिष्ठताको विवाद मिलाउन नसकेको देखिन्छ। प्राविधिक समस्या स्कुलमा देखियो,’ प्रमुख सुवेदीले स्पष्ट पारे, ‘स्कुलको शैक्षिक गतिविधि स्तरीय छ। विभागले प्रधानाध्यापक नियुक्तिका लागि ताकेता गरिरहेको छ।’ उनले थपे, ‘व्यवस्थापन समितिले नसके अब विभागले काम अघि बढाएर निकास दिनेछ।’

प्रकाशित: २० पुस २०७८ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App