१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षकलाई मेयरको अँगालो

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको पञ्चकन्या माध्यमिक विद्यालयमा २०४८ साल मंसिर १ गते स्थायी नियुक्त भएर शिक्षण सेवामा प्रवेश गरेका शन्तराम दुलालले विद्यालयको विकासका लागि जीवनको महत्वपूर्ण समय दिए।

विद्यालय स्थापनादेखि लिएर विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर वृद्धिका लागि ३० वर्ष विद्यालयमा बिताएका दुलाल नियमानुसार २०८२ सालको कार्तिकमा मात्र अवकाश लिने शिक्षक हुन्। तर, उनले भने २०७८ सालको मंसिरमा स्वेच्छिक अवकाश लिने निधो गरी मंसिर ६ गते राजीनामा दिए।

२०२२ साल कार्तिक १८ गते जन्मिएका दुलालले ५८ वर्षको उमेरमा विद्यालयबाट स्वेच्छिक अवकास लिँदै गर्दा उनलाई शुक्रबार चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ।

नगरपालिकाले समग्र शिक्षाको विकास र सुधार तथा शिक्षामा नयाँ पुस्ताको प्रवेश गराउनका लागि शिक्षण सेवामा लामो समय बिताएका शिक्षकहरुलाई गोल्डेन ह्याण्डसेकको प्याकेज ल्याएपछि सोही प्याकेजमा सहभागी दुलाललाई शुक्रबार नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्कालगायतले सम्मान गरे।

शिक्षक दुलाललाई मात्र नभएर नगरपालिकाको सो प्याकेजमा सहभागी भएका ३७ जना शिक्षकहरुलाई क्रमशः दोसल्ला, फूलको माला, टीका, सम्मान पत्र र चेक हस्तान्तरणसहित सम्मान गरिएको छ। सम्मानपछि शिक्षकहरुले शिक्षाको विकासका लागि गरेको योगदानको कदर गर्दै मेयर मिश्रले ती शिक्षकहरुलाई अँगालो समेत हाले।  

सम्मानपछि पूर्व शिक्षक एवं प्रधानाध्यापक दुलालले अपहेलित पेशाको रुपमा रहेको शिक्षकलाई गरिएको सम्मानप्रति नगरपालिकालाई धन्यवाद दिए। उनले सो सम्मानले अझ उर्जा मिलेको उल्लेख गर्दै आफूले सक्ने किसिमले शिक्षा क्षेत्रमा सहयोग गर्ने बताए।

सो कार्यक्रममा सम्मानित हुने शिक्षकहरुमा धु्रब प्रसाद खनाल, शालिकराम दाहाल, पुरुषोत्तमप्रसाद पौडेल, जगतबहादुर लागेजू, प्रभुराम थापामगर, रमादेवी न्यौपाने, नवराज लामिछाने, कृष्णमणि ढुंगाना, प्रेमलाल भडेल, प्रमिला लामिछाने, श्यामबहादुर माकजु, भाइराजा बाटा, निर्मला श्रेष्ठ, केदारप्रसाद काफ्ले, ओमप्रसाद नायजू, पूर्णबहादुर श्रेष्ठ, रामभक्त बानियाँ र केदारप्रसाद न्यौपाने रहेका छन्।

त्यस्तै सम्मानित हुने शिक्षकहरुमै दामोदर ढुंगाना, सन्तराम दुलाल, बालकृष्ण गेलाल, रामप्रसाद घिमिरे, रघुनाथ खड्काm गुणराज सुवेदी, भीमसेन केसी, उद्धबहादुर खड्काm सनतकुमार थापा, श्यामबहादुर लिगत, शम्भुप्रसाद दुलाल, प्रल्हादप्रसाद तिमल्सिना, शिवलक्ष्मी प्रधान, बिष्णुकुमार केसी, केशव सुवेदी, राजेन्द्र थापा, सानुभाइ राउत, जीवनकुमार माकजु र बमबहादुर बस्नेत रहेका छन्।

सम्मानित हुनेहरुमध्ये उनीहरुको कार्यअवधिको आधारमा नगद समेत प्रदान गरिएको नगर शिक्षा शाखा प्रमुख खड्काले बताए। ‘जीवनको महत्वपूर्ण समय शिक्षामा बिताएका शिक्षकहरुको सम्मान गर्नु हामी सबैको धर्म हो’, उनले भने, ‘हामीले शिक्षकको सम्मानसहित यो खाले कार्यक्रम ल्याएका हौं।’

उनले शिक्षण सेवामा कार्यरत रहेका तर उमेरका कारण अध्यापन गर्न गाह्रो मानेका शिक्षकलाई स्वेच्छिक अवकासका लागि आह्वान गरेको जानकारी दिए। सोही आह्वान अनुसार शिक्षकहरुले गोल्डेन ह्याण्डसेकमा सहभागिता जनाएको उनको भनाइ छ।

‘शिक्षकहरुले हाम्रो कार्यक्रममा साथ दिनुभएको छ, हामीलाई साथ दिनुभएको छ, उहाँहरुको साथले हामीलाई शिक्षक व्यवस्थापनका लागि पनि सहयोग पुगेको छ,’ शिक्षा शाखा प्रमुख खड्काले भने।

उनले चाँगुनारायण नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा लामो समयदेखि आवद्ध रहेका गुरुहरुप्रति उच्च सम्मान गर्दै उहाँहरुले शैक्षणिक पेशा मार्फत समाजमा पुर्याउनु भएको अनुकरणीय, अतुलनीय योगदानको उच्च कदर गर्दै शिक्षण पेशाप्रति प्रतिवद्ध भई प्रदान गर्नु भएको निस्वार्थ सेवाभावलाई जीवन पर्यन्त स्मरणीय बनाउने हेतुले शिक्षक गोल्डेन ह्याण्डसेक कार्यक्रम ल्याइएको बताए।

नगरकार्यपालिकाको २०७८ साउन ११ गतेको बैठकबाट स्वीकृत भए बमोजिम शिक्षक गोल्डेन ह्याण्डसेक कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसारको कार्यक्रममा सहभागीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सो कार्यक्रममा सहभागीहरुका लागि १ करोड २५ लाख ६० हजार रकम खर्च गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १६ पुस २०७८ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App