१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

चाँगुनारायणका प्रधानाध्यापकहरुको प्रण: हामी विद्यालयलाई नमूना बनाउँछौं

राम्रो विद्यालय, राम्रो शिक्षक र राम्रो सिकाईका लागि विद्यालय सुधार योजना( एसआइपी) निर्माणसम्बन्धी क्षमता विकास तालिममा पहिलोपटक सहभागी भए, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित पञ्चकन्या माविका प्रधानाध्यापक नारायणप्रसाद दुलाल।

पहिलो पटक एसआइपी निर्माण तथा प्रअ नेतृत्व क्षमता विकास कार्यक्रममा सहभागी दुलालले सो क्रममा विद्यालय सुधार योजनाको सैद्धान्तिक ज्ञानमात्र पाएनन्, उनले त्यसको अभ्यास पनि गरे, कार्यशालामा।

प्रअ दुलालले सो क्रममा विद्यालय सुधार योजनाले समेट्नुपर्ने विषयबारेमा ज्ञान लिए अनि त्यही ज्ञान उनले सबैसामु बाँडे। उनले मात्र नभएर उनीजस्तै ५ दिने कार्यशाला गोष्ठीमा सहभागी भक्तपुरको चाँगुनारायण नगरपालिकाका ३४ विद्यालयका प्रधानाध्यापकहरुले पनि विद्यालय सुधार योजनाबारे ज्ञान पाए।

गणित विषयमा विद्यार्थीहरुको सिकाइ क्षमता सुदृढ बनाउनका लागि चाँगुनारायण नगरपालिकामा लागू गरिएको ‘आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना’ (आइमिन) ले सञ्चालन गरेको तालिमले सो नगरपालिकाका ३४ विद्यालयको नेतृत्व गरिरहेका प्रधानाध्यापकहरु लाभान्वित भएका छन्।

चाँगुनारायण नगरपालिकाको आयोजनामा र आइमिन परियोजनाको सहयोगमा सञ्चालित प्रधानाध्यापक नेतृत्व विकास तालिममा सहभागी भएपछि आफूलाई विद्यालय योजना कसरी बनाउने सीप थाहा भएको गणेश मावि छालिङका प्रधानाध्यापक इन्द्र फोँजूले बताए। ‘पहिला पनि तालिम लिएका थियौं, तर यसरी गहन रुपमा तालिम लिन पाएका थिएनौं, तालिमले सैद्धान्तिक कक्षाका साथै एसआइपी बनाउने तरिका समेत बनाउन सघायो’, प्रधानाध्यापक फोँजूले भने। यस्तै सोही नगरपालिकाको वडा नं. ९ ताथली सौडोलस्थित देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम छुकां पनि सो कार्यशालाबाट आफू लाभान्वित भएको बताए। उनले भने, ‘तालिमबाट निक्कै लाभान्वित भएँ, तालिममा एसआइपीले समेट्नुपर्ने विषय, क्षेत्रबारे जानकारी पाउनुका साथै विद्यालयलाई अघि बढाउन केके गर्नुपर्छ भन्ने तरिका र अनुभव पनि सिक्ने मौका पाएँ।’

उनीहरुलेजस्तै तालिममा सहभागी सबै प्रधानाध्यापकहरुले विद्यालय सुधार योजनाबारे तरिका सिकेको बताएका छन्। तालिममा एसआइपी अन्तर्गत विद्यार्थी लक्षित क्रियाकलाप, शिक्षक लक्षित क्रियाकलाप, अभिभावक लक्षित क्रियाकलापबारे उदाहरणसहित जानकारी हासिल गरेको उनीहरुको भनाइ छ। तालिममा सहभागीहरुले तालिमले विद्यालय राम्रो गर्ने सोचलाई पूर्ण बनाउन उर्जाको काम गरेको बताए।  

तालिमसँगै उनीहरुले अभिभावकका लागि, विद्यार्थीका लागि कस्तो कार्यक्रम बनाउँदा प्रभावकारी हुन्छ? भन्ने तरिकाबारे ज्ञान पाएको उल्लेख गरे। ‘एक राम्रो एसआईपी विद्यालयको यथार्थ चित्रण गरप् शिक्षाको गुणस्तर झल्काउने तस्बिर भएको बताउँदै महेन्द्रग्राम माविका प्रअ सोम श्रेष्ठले एसआइपी निर्माण कार्यशाला फलदायी भएको जनाए।  

तालिममा सहभागी कालिका आधारभूत विद्यालयकी प्रधानाध्यापक देवकी पौडेलले तालिममा बसेर जापानी शिक्षा नीति र शैलीबारे जानकारी पाएको बताइन्।

‘सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणलाई प्रभावकारी बनाउँदै विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा समुदायको सकारात्मक सहभागिताको वृद्धि गराउनका लागि पनि एसआइपी जरुरी छ’ प्रअ नारायण प्रधानले भने, ‘अहिलेको बदलिएको शिक्षाको संरचना तथा निति अनुसार विद्यालयलार्ई सञ्चालन गर्न पनि आवश्यक रहेको महशुस भएको छ।’

विद्यालय सुधार योजनाको आवश्यकता बोध गराउन र व्यवहारमै उतार्न लगाउन सहयोग गर्नका लागि सो तालिम आयोजना गरिएको आइमिन परियोजनाका भक्तपुर संयोजक लक्ष्मी पाण्डेले बताइन्। सो परियोजनाले समग्र विद्यालयको सुधारका लागि सहयोग गर्ने उनको भनाइ छ।

तलिमका लागि सहयोग गरेको आइमिन परियोजनाका टीम संयोजक केन्जी ओहाराले विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाउन र शिक्षकमा रहेको क्षमता र दक्षता अभिवृद्धिका लागि तालिम दिइएको बताए। उनले विद्यालयको नेतृत्वमा रहेका प्रधानाध्यापकहरुलाई तालिम दिँदा तालिमको सीप विद्यार्थीसम्म पुग्ने भएकाले प्रधानाध्यापकलाई तालिममा सहभागी गराइएको बताए। उनले तालिमले पुनर्ताजगी दिने उल्लेख गर्दै चाँगुनारायण नगरपालिकाभित्रका शिक्षकहरुमा सिकाइको चाख उच्च पाएको बताए।

तलिममा शैक्षिक तालिम केन्द्र धुलिखेलका नवराज नेपाल, चाँगुनारायण नगरपालिकाको शिक्षा शाखाका अधिकृत रञ्जना सापकोटालगायतले सहजीकरण गरेका थिए। परियोजनाले दुई चरण गरी तालिम सञ्चालन गरेको थियो। पहिलो चरणमा १६ विद्यालयका प्रअ र दोस्रो चरणमा १८ विद्यालयका प्रअ सहभागी भएको नगरपालिकाले जनाएको छ।

तालिममा नगरप्रमुख सोम मिश्र, प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी र शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काको उपस्थिति रहेको थियो।  

नगरपालिकाले आगामी दिनमा विद्यालयले तयार पारेको योजनालाई कार्यान्वयन गर्न र नगर शिक्षा योजना तयार पार्दा समेत विद्यालय सुधार योजनालाई समेत ख्याल गर्ने प्रतिबद्धता जनाएको छ भने तालिम पाएका प्रधानाध्यापकहरुले विद्यालयलाई शिक्षाको केन्द्र र नमूना बनाउन एसआइपी बनाएर विद्यालयमा लागू गर्ने बताएका छन्। सो तालिममा सिकेको सीपको प्रयोग भएको छ÷छैन भन्नेबारे नगरपालिकाको शिक्षा शाखाले अनुगमन समेत गर्ने भएको छ।

प्रकाशित: २५ मंसिर २०७८ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App