१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा

भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा गरिएको छ। सूर्यविनायक नगरपालिकाले शिक्षक दरबन्दी मिलानको नाममा आफैले बनाएको नियम समेत उल्लंघन गरी शिक्षक सरुवा गरेको हो।

नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुमध्ये भूवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकी, गणेश मावि सिपाडोलका प्रधानाध्यापक सुभद्रा लघु र सोही विद्यालयका सहायक प्रधानाध्यापकलाई मात्र नभएर सिरुटार माविकी एक शिक्षिका तथा ज्योति मावि, गुण्डुका एक शिक्षकलाई समेत नियमविपरीत सरुवा गरेको पाइएको छ।

सरुवा गरिएका शिक्षकमध्ये भूवनेश्वरी माविमा प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकीलाई शान्ति निकेतन माविमा, गणेश माविका प्रधानाध्यापक सुभद्रा लघुलाई भूवनेश्वरी माविमा सरुवा गरिएको नगर शिक्षा शाखाले जनाएको छ।

‘हामीलाई विना जानकारी सरुवाको पत्र ठम्याएको छ’, एक प्रधानाध्यापकले भने, ‘दरबन्दी मिलानको क्रममा कुराकानी हुँदा प्राथमिक तहको कुरामा मात्र सहमति भएकोमा हामीलाई पनि त्यही घानमा मुछेका छन्।’

उनले प्रधानाध्यापकहरुलाई नगरपालिकाले दिएको पत्रमा प्रधानानध्यापकको पद समेत उल्लेख नगरी माध्यमिक शिक्षक भनी मात्र सम्बोधन गरेको बताए। ‘नगरपालिकाले पठाएको पत्रमै हामीलाई घटुवा गरी पठाएको छ, जुन न्यायसंगत पनि छैन।’ उनीहरुले आफूहरुमाथि नगरपालिकाले अन्याय गरेको गुनासो गरेका छन्।

सूर्यविनायक नगरपालिकाले २०७५ सालमा प्रकाशित गरेको नगरपालिका शिक्षा नियमावलीको ५० को परिच्छेदको बुंदा नं. २ मा शिक्षक सरुवा सम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा उल्लेख गरिएको छ। सो वुंदा विपरीत केही शिक्षकहरुलाई शैक्षिक सत्रको मध्यतिर सरुवा गरेको हो।

 ‘नियमावलीमा त्यस्तो व्यवस्था भए पनि हामीले शिक्षक दरबन्दी मिलानको कार्यविधिको आधारमा सरुवा गरेका हौं, मिलानको क्रममा कोहीलाई पुष्ट्याइँ दिइरहनु पर्ने आवश्यकता छैन।’

त्यस्तै सोही परिच्छेदको वुंदा नं. ५ मा ‘स्थायी नियुक्ति भएको एक वर्ष नपुगेको शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिने छैन’ भन्ने वाक्यांश उल्लेख गरेको छ। सो वाक्यांश विपरीत पनि नगरपालिकाले केही समयमै अवकाश हुने केही शिक्षकहरुको पनि सरुवा गरेको छ।

नगरपालिकाले भने सो कार्यलाई दरबन्दी मिलानकै क्रममा गरिएको काम भएको दाबी गरेको छ। नगरपालिकाको शिक्षा शाखा प्रमुख सरस्वती कोइरालाले दरबन्दी मिलानको निर्णयमै माध्यमिक तहका शिक्षकलाई पनि सरुवा गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले सो कार्यलाई सरुवा नभई शिक्षक हेरफेरका रुपमा बुझ्न अनुरोध गरिन्। भनिन्, ‘विद्यालयको हितलाई हेरी हेरफेर गरिएको हो, यसलाई नियमित प्रक्रियाका रुपमा लिनुपर्यो’, शाखा प्रमुख कोइरालाले भनिन्।

उनले नगरपालिकाको शिक्षा नियमावलीमा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा रहेको स्वीकार गर्दै सरुवाको क्रम चल्दै गर्दा शैक्षिक सत्रको मध्यतिर हुन आएको दाबी गरिन्।

उनले सरुवामा परेका शिक्षकलाई अन्याय नभएको र उनीहरुले विद्यालयमा राम्रो गरेको कारण एक विद्यालयबाट अर्को विद्यालयमा सारिएको दोहोर्याउँदै भनिन्, ‘नियमावलीमा त्यस्तो व्यवस्था भए पनि हामीले शिक्षक दरबन्दी मिलानको कार्यविधिको आधारमा सरुवा गरेका हौं, मिलानको क्रममा कोहीलाई पुष्ट्याइँ दिइरहनु पर्ने आवश्यकता छैन।’

नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख, वडा नं. ८ का वडाध्यक्ष एवं गणेश मावि सिपाडोलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापामगरले भने राम्रा शिक्षक र राम्रो नेतृत्व क्षमता भएका प्रधाध्यापकको आवश्यकता अन्यत्र पनि भएकाले शिक्षामा सुधार ल्याउनका लागि शिक्षकलाई हेरफेरि गरिएको बताए।

प्रकाशित: १७ मंसिर २०७८ १०:१० शुक्रबार

शिक्षक सरुवा सूर्यविनायक नगरपालिका