७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थीमाथि ट्राफिक प्रहरीको निगरानी

विराटनगरमा शैक्षिक पोशाक लगाएका विद्यार्थी र युवाहरुले चलाउने गरेका सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ।  

पछिल्लो समय युवावर्ग र विद्यार्थीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना नै सवारी चलाउनेको संख्या धेरै रहेको छ। त्यस्ता समूहले लाइसेन्स भए पनि नभए पनि लापरबाही पूर्ण तरिकाले सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी जाँचलाई कडाइ गर्न थालेको हो।

मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) शिवकुमार शर्माको नेतृत्वमा विद्यार्थी केन्द्रित लाइसेन्स र सवारी साधनको स्वरुप जाँच गर्न विशेष टोली परिचालन गरेको जनाएको छ।

लाइसेन्स प्राप्त नगरेका विद्यार्थीले सबैभन्दा बढी मोटरसाइकल चलाउने गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। ‘शैक्षिक पोशाकमा सवारी साधन चलाउने विद्यार्थीको संख्या धेरै छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘लाइसेन्स पनि हुँदैन। न त विद्यार्थी ट्राफिक नियमका बारेमा जानकार नै हुन्छन्।’ दुर्घटना हुँदा अझ बढी समस्या झेल्नु पर्छ। अहिले विराटनगर केन्द्रित गरेर ठाउँठाउँमा निगरानी बढाउँदै विद्यार्थीले चलाएका सवारी साधन नियन्त्रणमा लिन जाँचलाई तीव्र पारिएको खड्काले बताए।

‘स्कुल र कलेज पोशाकमा विद्यार्थी तथा युवा वर्गले सडकमा तीव्र गतिमा लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँछन्। उनीहरुलाई नियम थाहा नभई सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको बताएका ट्राफिक प्रमुख खड्काले भने, ‘सवारी नियमलाई विद्यार्थीले त बेवास्ता गरे। तर, उनीहरुका अभिभावकलाई नियमबारे राम्रो ज्ञान हुँदाहुँदै पनि सवारी चलाउन दिन्छन्।’

विराटनगरका अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई सवारी साधन चलाउन रोक लगाउँदै शैक्षिक संस्थाभित्र सवारी लैजान नै निषेध गरेका छन्। शैक्षिक संस्थाले निषेध गरे पनि विद्यार्थीहरुले लुकिछिपी चलाउने र शैक्षिक संस्था बाहिर नै राख्ने गरेको खड्काले जानकारी दिए।

नियम विपरित सवारी चलाउने विद्यार्थीलाई नियन्त्रणमा लिएर १ हजार ५ सय रूपैयाँसम्म जरिवाना गर्ने र उनीहरुका अभिभावकलाई बोलाएर सम्झाउने तथा लाइसेन्सवालालाई सवारी साधन जिम्मा दिइने गरेको ट्राफिक प्रमुख खड्काले बताए।

मंगलबारदेखि अभियानकै रुपमा सवारी जाँचलाई तीव्रता ट्राफिक प्रहरी दिएका छन्। विद्यार्थीहरुले नियम विपरित सवारी चलाएका १ सय २० वटा मोटरसाइकललाई ३ दिनमा नियन्त्रणमा लिएर कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। ‘पछिल्लो समय मोटरसाइकल दुर्घटनामा विद्यार्थीहरु धेरै नै पर्न थालेपछि सवारी चलाउन रोक लगाएका छौं,’ उच्च माध्यमिक विद्यालय संघ (हिसान)मोरङका अध्यक्ष राजेश कार्कीले भने, ‘११÷१२ पढ्ने विद्यार्थीसँग सवारी चालक अनुमतिपत्र भए पनि नभए पनि हामीले मोटरसाइकल चलाउन नपाउने नियम बनाएका छौं।’

विद्यार्थीले कुनै पनि शैक्षिक संस्थाको पोशाक लगाएर सवारी चलाउन पाउँदैनन्। उनीहरुले शैक्षिक संस्थामा ल्याउन दिँदैनौं र बाहिर कहीँ राखेर आउने गर्छन्। ‘ट्राफिक प्रहरीलाई जाँचलाई कडाई गर्न आग्रह गरेका छौं,’ अध्यक्ष कार्कीले भने, ‘अझ काठमाडौंमा विद्यार्थीले पोशाकमा सवारी चलाए ट्राफिक प्रहरीमार्फत ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ।’

मोरङ ट्राफिक प्रहरी प्रमुख खड्काका अनुसार यो अभियानलाई जिल्लाका सबै क्षेत्रमा गर्न लागिएको छ। सवारी चलाउने विषयमा अभिभावक स्वयं पनि सचेत हुनुपर्छ। दुर्घटना हुँदा ज्यानसम्म जान सक्ने भएकाले पनि अभिभावकले यसमा गम्भितापूर्वक लिनु पर्ने खड्काले बताए। 

प्रकाशित: ९ मंसिर २०७८ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App