६ वैशाख २०८१ बिहीबार
शिक्षा

एक शिक्षक, जसले लकडाउनलाई अवसर बनाए

२०४८ सालबाट पढाउन सुरु गरेका कृष्ण अधिकारी २०७७ वैशाखमा प्रधानाध्यापक(प्रिन्सिपल) मा नियुक्त भए, शहीद शुक्र माध्यमिक विद्यालयको। काठमाडौँ महानगरपालिका वडा नंं २८ को रत्नपार्कस्थित सो विद्यालयको नेतृत्व सम्हाल्दा लकडाउन चलिरहेको थियो। त्यही लडकाउनमा परे अधिकारी। त्यतिमात्र हैन, प्रधानाध्यापक बन्नका लागि उनले पेश गरेको पाँच वर्षे कार्ययोजना पनि लकडाउनमा पर्यो।

‘कस्तो समयमा प्रिन्सिपल भएछु भन्ने पनि लाग्यो’, विद्यालयको प्रधानाध्यापक कक्षमा रहेका उनले भने, ‘तर, नेतृत्व भनेको क्राइसिस म्यानेज गरी अघि बढ्नु हो भन्ने ठानेर अघि बढेँ।’ उनले त्यो बेला गरेको दृढतालाई सम्झे।

त्यतिमात्र हैन, शहीदको नाममा खुलेको विद्यालयको ‘गिर्दो शाख’लाई उँचो बनाउने उनको आत्मविश्वास र सुनौलो भविष्यप्रतिको आशाले उनमा बल मिल्यो, ‘लकडाउनलाई अवसरमा बदल्ने।’

२०४० सालमा काठमाडौँको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा गणित शिक्षकको नियुक्ती पाएसँगै शिक्षक बनेका ४५ वर्षका अधिकारी शहीद शुक्र माविमा २०६० सालमा सरुवा भएका थिए।  

त्यसको पाँच वर्षपछि नै उनलाई प्रधानाध्यापकको जिम्मेवारी निर्वाहका लागि ‘अफर’ नआएको हैन, तर त्यो बेला उनले विद्यालयको नेतृत्व लिएनन्, मात्र शिक्षक भएर जिम्मेवारी निभाए। त्यसरी शिक्षकको भूमिका निर्वाह गर्दै गर्दा विद्यालयको ह्र्सोन्मुख अवस्थाले उनी चिन्ता व्यक्त गर्थे, अनि विद्यालय व्यवस्थापन र नेतृत्वलाई आवश्यक सुझाव पनि दिन्थे, तर उनको कुरा सुन्ने कसले?

भौतिक पूर्वाधार स्तरोन्नतिको क्रममा रहेको शहिद शुक्र माविको प्राङ्गण 

‘कुरा सुन्ने तर दिएका सुझावलाई कार्यान्वयन नगर्ने भएपछि मैले सुझावै दिन छोडेँ’, उनले भने, ‘परिणामतः विद्यालयमा विद्यार्थी संख्या घट्दै गयो।’

त्यही घट्दो विद्यार्थी संख्या र विद्यालयको गिर्दो शाखलाई उठाउने जिम्मेवारी काँधमा लिएसँगै आएको चुनौतीलाई पनि सँगै लगे। उनले आफूलेमात्र चुनौती पार गर्न नसक्ने भएकाले विद्यालय सुधार योजना बनाए, सहपाठीहरुसँग बाँडे। सहपाठीहरुको सुझावसँगै योजनालाई परिमार्जन गरे।

अनि सुरुमा उनले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आफूलाई समर्पित गरे। सोही अनुसार अहिले पनि भौतिक पूर्वाधार विकासको काम चलिरहेको छ।

शैक्षिक नेतृत्व विषयका पिएचडी अध्ययनरत प्रधानाध्यापक अधिकारीले स्थानीय र समुदायलाई चिढाएर विद्यालयमा सुधार ल्याउन नसक्ने सिद्धान्त पढेका छन्। त्यही सिद्धान्तलाई व्यवहारमा उतारेर उनले यसअघि चिसिएको समुदायसँगको सम्बन्धलाई सुधार गर्न लकडाउनकै समयलाई सदुपयोग गरे।

‘२०७२ सालको भूकम्पको समयमा विद्यालय परिसरमा रहेको एल आकारको टहरामा स्थानीयले लगभग एक महिना बिताए, त्यही ठाउँ हटाएर विद्यालयले नयाँ भवन बनाउन चाहेको थियो’, उनले सम्झिए, ‘ त्यहाँ भवन हैन, खुला नै राख्नुपर्ने स्थानीयको माग थियो, त्यो मागलाई तत्कालीन नेतृत्वले नमान्दा स्थानीय र विद्यालयको सम्बन्ध चिसिएको थियो।’

त्यही सम्बन्धलाई सुधारेर प्रधानाध्यापक अधिकारी अघि बढे र स्थानीयको सुझाव अनुसार भौतिक पूर्वाधार निर्माणमा लागे। स्थानीय समुदायको राय मानेकै कारण विद्यालयप्रति हेर्ने दृष्टिकोण बदलियो।

‘पहिला स्कुलप्रति नकारात्मक भएका स्थानीय, अहिले भने सकारात्मक भएका छन्, स्कुलबारे चासो देखाउन थालेका छन्’, उनले भने।

विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी

प्रधानाध्यापक अधिकारीले स्थानीय तहसँग समन्वय र सहकार्य गरी विद्यालयमा १६ वटा सिसी क्यामेरा जडान गरिएको, ११ र १२ कक्षा सञ्चालन गरिएको, प्रदेश सांसद केशव स्थापितको पहलमा ४६ लाख बराबरको कक्षाकोठा निर्माण गरेको, साविकको टिनको दुर्गन्धित शौचालयलाई हटाएर, छात्रा र छात्रमैत्री शौचालय बनाइरहेको जानकारी दिए। ‘अहिले विद्यालयको वातावरण क्रमशः सुधार हुँदैछ, विद्यालयमा आएको परिवर्तनले स्थानीय उत्साहित छन्’, उनले भने।

पहिला विद्यालयको भौतिक पूर्वाधार सुधारमा ध्यान दिने योजना बनाएका उनी निकट समयमै पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशाला निर्माण गर्ने कार्यतालिका अनुसार हिँडिरहेका छन्।  

लकडाउनमा उदाएको ‘शुक्र’

तीन रोपनी १३ आनाको क्षेत्रफलमा रहेको सो विद्यालयको सुधारका लागि प्रधानाध्यापक विहान ६ बजे विद्यालय पुग्छन्, साँझ साढे ५ बजेसम्म बस्छन्।

‘हामीले लकडाउनलाई भौतिक पूर्वाधार विकासको अवसरका रुपमा उपयोग गर्यौं, यो देखेर अहिले विद्यार्थी संख्या पनि क्रमशः बढ्न थालेका छन्’, उनी भन्छन्, ‘पहिला दुईसयको हाराहारीमा विद्यार्थी थिए, अहिलेको यस्तो समयमा पनि विद्यार्थीको संख्या चारसय पुग्दैछ, दशैंपछि विद्यालय खोलेदेखि दैनिक ६/८ जना विद्यार्थी भर्नाका लागि आउन थालेका छन्।’

नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण गरेका शहीद शुक्रराज शास्त्रीको नाममा वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयलाई उत्कृष्ट र राम्रो छवि भएको विद्यालयको रुपमा स्थापित गर्न विद्यालय लागिरहेको प्रधानाध्यापक अधिकारी बताउँछन्।

‘अहिलेको समयमा जनरल एजुकेशनले मात्र नपुग्ने निश्चित भइसकेको छ, यसैले विद्यार्थीलाई शिक्षासँगै सीप दिन जरुरी रहेको महशुस गरी हामी विद्यालयलाई प्राविधिक शिक्षा दिने केन्द्रका रुपमा पनि अघि बढाउने विषयमा छलफल गरिरहेका छौं, हामी यो विद्यालयलाई नर्सिङ हबका रुपमा विकास गर्न चाहन्छौं,’ विद्यालयको योजना प्रधानाध्यापक अधिकारी सुनाउँछन्।

यतिमात्र हैन, लकडाउनकै समयमा सिकेको प्राविधिक सीपलाई आगामी दिनमा दिनचर्या बनाउनका लागि पनि विद्यालयका शिक्षकहरु लागिरहेका छन्। ‘लकडाउनले सिकाइका लागि शिक्षक प्रविधिमैत्री नबनी सुखै भएन, त्यो बेला सिकेको सीपलाई अब दैनिक प्रयोगमा ल्याउनका लागि हामीले योजना बनाएका छौं, त्यसनिम्ति विद्यालयले समयसमयमा तालिम सञ्चालन गर्ने , शिक्षकलाई प्रविधिसँग जोडेर सिकाइलाई पनि त्यही अनुसार लग्ने योजना छ।’

प्रकाशित: १० कार्तिक २०७८ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App