८ वैशाख २०८१ शनिबार
शिक्षा

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पाँच शिक्षक सम्मानित

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा भक्तपुरका पाँच शिक्षकलाई सम्मान गरिएको छ। शिक्षामा नवीन विधि र प्रयोग तथा नवप्रवर्तन प्रवर्द्धनका लागि सहयोग पुर्याउन र शैक्षिक सहकार्यका लागि गठित ‘वी क्यानः नेपाल’ नामक विद्यालयहरुको समूहले भक्तपुरका पाँच विद्यालयका शिक्षकलाई सम्मान गरेको हो।

शिक्षकहरुको योगदानको कदर गर्दै उनीहरुलाई पेशाप्रति थप जिम्मेवार बनाउन हौसला दिने उद्देश्यले वी क्यान नेपालले हरेक वर्ष शिक्षकलाई सम्मान गर्दै आएको वी क्यानः नेपालका अध्यक्ष एवं निओलोजिअन एकेडेमीका प्रिन्सिपल रत्नबहादुर राईले बताए। शैक्षिक क्षेत्रको उन्नयका लागि भूमिका खेलेका शिक्षकहरुलाई भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजशास्त्री चैतन्य मिश्रले सम्मान गरेका थिए।

सो अवसरमा समाजशास्त्री मिश्रले शिक्षकको सम्मान हुने समाज समृद्ध हुने बताए। उनले समाज विकासमा महत्वपूर्ण योगदान दिने शिक्षकको सम्मानले उत्प्रेरणा मिल्ने भएको चर्चा गर्दै शिक्षाप्रतिको वितृष्णा न्यूनीकरणका लागि पनि शिक्षक सम्मान जरुरी रहेको बताए।

सो अवसरमा समाजशास्त्री भक्तपुरको माम्ती इन्टरनेशनल एकेडेमीकी रमा श्रेष्ठ धौबञ्जार, सरश पाठशालाकी कविता कक्षपति, सिरिन् केन इंग्लिस स्कुलकी सुलोचना सुवाल, नियोलोजिअन एकेडेमीकी मेरी खायमली र क्रियटिभ इंग्लिस सेकेण्डरी स्कुलकी मृतिका रञ्जितकारलाई सम्मान पत्रका साथ सम्मान गरेका थिए।

हरेक वर्षको अक्टोबर ५ का दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा गरिएको सो कार्यक्रममा सिरिन् केन इंग्लिस स्कुलका प्रिन्सिपल कमलबहादुर सुवाल, क्रियटिभ इंग्लिस सकेण्डरी स्कुलका प्रिन्सिपल विश्वराम दुवालले हालको शैक्षिक अवस्थाबारेमा चर्चा गरेका थिए।

सोही अवसरमा वी क्यान : नेपालले शिक्षकको पेशागत दायित्व र भूमिका विषयमा अभिमुखीकरण समेत गरेको छ। सो अभिमुखीकरणमा मनोसामाजिक पराशर्मकर्ता एवं उत्प्रेरक इन्द्र प्रसाइँले अहिलेको समयमा शिक्षकको भूमिकाबारे प्रशिक्षण दिएका थिए।

प्रकाशित: १६ आश्विन २०७८ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App