५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय खुलाउँदै जुम्लाका स्थानीय तह

कोरोना संक्रमणका कारण लामो समयदेखि ठप्प भएका जुम्लाका विद्यालय खुल्न थालेका छन्। यहाँका स्थानीयतह शिक्षक,विद्यार्थीको कोरोना परिक्षण गर्दै कोरोना रिर्पोटका आधारमा विद्यालय खुलाउन थालेका हुन्।  

जिल्लाको हिमा गाउँपालिकाले विद्यालय खुलाएर पठनपाठन सुरु गरेको छ। भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन शुरु भएको हिमा गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कार्यपालिको वैठकले निर्णय गरेर विद्यालय खुलाउने निर्णय गरेको थियो। 

उनले भने,‘विद्यालय खुलेका छन। स्वास्थ सुरक्षाको मापदण्ड पालन गरिएको छ। स्वास्थ्य सुरक्षा संवेदनशिलताका आधारमा अघि बढेको छ।’ जिल्ला प्रशासन कार्यालय जुम्लाले स्थानीयतहको शिक्षा शाखा प्रमुख भेला गराएर विद्यालय खुलाउन सकिने/नसकिने बारेमा छलफल गरेको छ। कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खुलाउन प्रशासन लचक भएपछि विद्यालय खुलाएको धिताल बताउँछन्।  

लामो समयदेखि विद्यालय बन्द हुदा प्रभावित विद्यार्थी निकै खुसी छन्। कोरोना महामारीका विचमा शिक्षा क्षेत्रमा भईरहेका गतिविधि र विद्यालय सचालन गर्ने बिषयको बारेमा सबै पक्ष संवेदनशिल बनेका हुन्।  प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको बताइन्।

जिल्ला कोभिड व्यवस्थापन समितिले विद्यालय खुलाउनको लागि लचिलो भएसंगै शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ।  निरन्तर बन्दका कारण शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा स्थानीयतहका शिक्षा शाखा प्रमुखहरुले जोड दिएका थिए। उनिहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यो भन्दा बिद्यालयमै सुरक्षित हुने सुझाव दिएका थिए।

सरकारले पछिल्लो समयमा स्मार्ट लकडाउन कार्यविधि समेत बनाएको छ। एक सय जनामा परीक्षण गर्दा ५ जना भन्दा तल पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाईने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजिव शाहले बताए। अहिले सबैभन्दा बढि प्रभावित शिक्षा क्षेत्र हो। सबैभन्दा मर्कामा विद्यार्थी नै छ।

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मक्करबहादुर भण्डारी अधिकांस शिक्षकले खोप लगाइसकेको बताउँछन्।  खोप लगाउन छुटेकालाइ अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ, उनले भने,‘आधार तयार गरेर मात्र विद्यालय खोल्नुपर्ने देखिन्छ। ’ यसैगरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महत बताउँछन्।

प्रकाशित: २१ भाद्र २०७८ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App