१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जोखिम नघट्दै विद्यालय खोल्न हतारो

फाइल तस्बिर

कोभिड–१० (कोरोना भाइरस) तिव्ररुपले फैलिएपछि बन्द भएका विद्यालय सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयको निर्णय हतासको निर्णय भएको अभिभावकहरुको भनाइ छ। शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरुलाई पूर्णखोपको व्यवस्था नगरि जोखिम कायमै रहेकाबेला विद्यालय सञ्चालन गर्नु झन जोखिम हुने अभिभावकहरुको भनाइ छ।

बिहीबार निषेधाज्ञा खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले निश्चित मापदण्ड बनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको थियो। कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा बाँकेका केही विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी रहेका छन्। गत वर्ष पनि अनलाइनबाट कक्षा तथा परीक्षा लिएका विद्यालयहरुले दोस्रो लहरको जोखिम कम भएकाले विद्यालय खोल्नका लागि दबाब दिँदै आएका थिए। विज्ञहरुले पनि १८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुने बताउँदै आएका छन्। पूर्णखोप दिएर मात्र विद्यालय सञ्चालन गर्न सकिने उनीहरुको भनाइ छ।

तेस्रो लहर भित्रिए बाँकेमा मात्र करिब अढाइ लाख बालबालिका उच्च जोखिममा रहेको एक अध्ययन टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो। अहिले अभिभावक पनि तेस्रो लहरको अवस्था कस्तो हुने भन्नेमा चिन्तित छन्। ‘खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिन्छ,’ अभिभावक बिमल बर्माले भने, ‘नियन्त्रणभन्दा बाहिर जाँदा बाँकेले उपचारै थेग्न सक्दैन।’ विद्यार्थीलाई पूर्णखोप दिएर मात्र विद्यालयको पठनपाठन सुरु गर्नुपर्ने उनको भनाइ छ। दोस्रो लहरमा नराम्री थला परेको बाँकेमा कोरोना भाइरसको जोखिम अझै कायमै छ। सामान्यकरण हुन लागेको कोरोना भाइरसको जोखिम पुनः फैलिँदै गएको छ।

स्वास्थ्यकर्मीहरुले पनि यस्तोबेलामा सबै सजग र सुरक्षित रहनुपर्ने बताउँदै आएका छन्। भीडभाड हुने ठाउँमा जाँदा कोरोना भाइरस संक्रमण बढ्ने उनीहरुले बताएका छन्। सरकारले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाएको छ। उक्त कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। स्थानीय तहले प्रशासनको अनुमति लिनुपर्ने प्रावधान छ। सरकारको कार्यढाँचाअनुसार उचित मापदण्ड बनाएर विद्यालय खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ।

‘हामीले निश्चित मापदण्ड बनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘जोखिम घट्दै गएपछि विद्यालय खोल्न थालिएको हो।’ शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जनाए। पहिलो नम्बरमा उक्त निर्णय भए पनि दोस्रो नम्बरमा भने सबै प्रकारका भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव नगर्ने/नगराउने निर्णय प्रशासनले गरेको छ। भीडभाड नगर्ने र विद्यालय सञ्चालन गर्न पाउने निर्णय विरोधाभाष भएको अभिभावकहरुको भनाइ छ। ‘विद्यालय सञ्चालन गर्न पाउने पनि भनिएको छ,’ रुबिना खाँनले भनिन्, ‘अनि भीडभाड नहुने पनि भनिएको छ। विद्यालय खोल्दा भीडभाड हुन्छ नि।’ जोखिम कायमै रहँदा रहँदै प्रशासनले हतारिएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको उनको भनाइ।

विद्यालय सञ्चालनका लागि दुई थरि कुरा आएको भन्दै प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘एक थरिले खोलौ भन्छन् अर्काे थरिले थरिले खोल्न मिल्दैन भन्छन्।’ विद्यालयको हकमा पनि त्यस्तै भएको उनले बताए। सरकारी र नीजि शैक्षिक संस्थाको हकमा पनि मतभेद भएको उनको भनाइ छ। सरकारी शिक्षकहरु दशैंसम्म खोल्न नहुने बताइरहेका छन भने नीजि शैक्षिक लगानीकर्ताहरु भने तत्कालै मापदण्ड बनाएर खोल्न हुने पक्षमा छन्। मतभेदकै बीच नेपाल सरकारको कार्यढाँचाअनुसार मापदण्डअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ।

प्रकाशित: १८ भाद्र २०७८ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App