७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

त्रिभुवन विश्वविद्यालयमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको बिएस्सी सिएस आइटी विषय सम्बन्धनमा चलखेल भएको भन्दै ११ निजी कलेजसञ्चालक विरोधमा उत्रेका छन्।

विश्वविद्यालयले २०७२ सालमा बिएस्सी सिएस आइटी विषयको सम्बन्धन दिनेबारे प्रक्रियामा आउन कलेज सञ्चालकहरूसँग आवेदन माग गरेको थियो।काठमाडौं र ललितपुरबाहेकका जिल्लामा सञ्चालित कलेजहरूको हकमा आवेदन माग गरिएको थियो। त्रिविकै निर्देशनअनुसार देशभरिका सयभन्दा बढी कलेजले आवेदन दिए।

विश्वविद्यालयले आवेदन दिएका कलेजहरू विषय सञ्चालन योग्य रहेनरहेको छानविन गर्न समिति नै गठन गरेर २०७२ र २०७४ मा दुई पटक अनुगमनपछि रिपोर्ट दिएको थियो। तर पुराना कलेजको विषय सञ्चालन सम्बन्धनबारे नटुङ्याई विश्वविद्यालयका पदाधिकारीले अन्य कलेजलाई सम्बनधन दिने तयारीमा जुटेको भन्दै विरोधमा उत्रेको भक्तपुरस्थित भादगाउँ कलेजका सञ्चालक डा. आनन्द सिंहले बताए।आफूहरू ६ वर्षदेखि घर भाडामा लिएर विषय सञ्चालनको कानुनी प्रक्रियामा रही प्रतीक्षा गरिरहेको तर विश्वविद्यालयका पदाधिकारीहरू आर्थिक प्रलोभनमा परेर सञ्चालन भइरहेकै ८ वटा कलेजहरूलाई थप विषयका लागि कोटा थप्न लागेको भन्दै कलेज सञ्चालकहरूले आरोप लगाएका छन्।

‘त्रिविले भक्तपुर र उपत्यकाबाहिर गरी सयभन्दा बढी कलेजको अनुगमन गरेको छ।तर यी कलेजको फाइल अघि नबढाएर आर्थिक प्रलोभनमा परेर बिएस्सी सिएसआइटी विषय सञ्चालन भइरहेकै कलेजमा थप कोटा बढाउने निर्णय गरिएको छ,’ विरोधमा रहेका सिंहले नागरिकसँग भने, ‘विज्ञानको डिन कार्यालयले हाम्रो निवेदनसमेत दर्ता गरेनतर उपकुलपति र रेक्टर कार्यालयले दर्ता गर्‍यो।’ उनका अनुसार पूर्वउपकुलपति तीर्थ खनियाँको निर्णय भएकाले हालका त्रिविका पदाधिकारीले प्रक्रिया नबढाएका हुन्।

भक्तपुरस्थित आविष्कार कलेजका सञ्चालक शंकरप्रसाद शर्माले डिन कार्यालयमा पटकपटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको जनाए। ‘हाम्रो कलेजको विषय सम्बन्धनका लागि अनुगमन गराएर किन प्रक्रिया अघि बढाइएन ? भन्ने प्रश्नको त्रिविले कुनै जवाफ नै दिँदैन,’ सञ्चालक शर्माले भने, ‘पुराना अनुगमन गरेका कलेजको प्रक्रिया नटुङ्ग्याई अन्य ८ वटा कलेजहरूलाई त्रिविका पदाधिकारीले सिधै कार्यकारी परिषद्को निर्णयबाट विषय थप गर्ने निर्णय नै अवैधानिक छ।’

स्रोतका अनुसार त्रिवि कार्यकारी परिषद्ले हाल चाबहिलस्थित अर्किट कलेज, टेक्सस कलेज, कलंकीको बनहार्ट कलेज, सगरमाथा ई. कलेज, लुम्बिनी आइसिटी कलेज, हिमालयन ई कलेज लगायत कलेजलाई बिएस्सी आइटी विषय कोटा थप्ने त्रिविले निर्णय गरेको छ।तर यसबारे विश्वविद्यालयका पदाधिकारी बोल्न तयार छैनन्।विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुषालले आफूलाई यसबारे कुनै जानकारी नभएको स्पष्ट पारे।कम्प्युटर साइन्स केन्द्रीय विभागप्रमुख नवराज पौडेलले आफूहरूले कलेजहरूको प्रविधि अध्ययन अनुगमन गरी प्रतिवेदन बुभाएको तर त्यसपछि केही थाहा नभएको जनाए।

विरोधमा उत्रने कलेजहरू भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेज लगायतका छन्।

प्रकाशित: १६ भाद्र २०७८ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App