१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

बोडेको ‘सजीव’ पुस्तकालय

सन्दर्भ : राष्ट्रिय पुस्तकालय दिवस

‘किताब बिनाको कोठा, आत्मा बिनाको शरीर सरह हुन्छ’ भन्ने विद्धान सिसेरोको भनाइले भक्तपुरको बोडेका ६५ वर्षीय सजीव श्रेष्ठ अहिले पनि उत्तिक्कै प्रभावित छन्। यसैले कक्षा ८/९ पढ्दादेखि किनेरै किताब पढ्ने उनको बानी अहिले पनि उस्तै छ। बजारमा कुनै नयाँ किताब आयो कि, त्यो किताबको स्पर्श गर्नदेखि लिएर त्यसलाई आफ्नो बनाउन उनलाई हतारो हुन्छ। पुस्तकप्रतिको उनको बाल्यकालीन मोह, उमेरले वृद्धावस्था हुँदा पनि उस्तै छ।

‘पुस्तकप्रतिको लगाव र मायाले यसरी तान्यो कि म छोड्नै सक्तिनँ’ पुस्तकालयमा रहेका पुस्तक मिलाउँदै उनले भने। यही छोड्नै नसक्ने उनको बानी दैनिकी बन्यो र कालान्तरमा कोठाभरी किताब भरिन थाले।  

त्यसरी थुप्रिन थालेका किताबहरुलाई व्यवस्थित गर्न उनले आफ्नै पहलमा आफू जन्मेको ठाउँमा पुस्तकालय सञ्चालन गरे, २०७५ साल माघ १२ गते। हुन त उनलाई आफूसँग भएको पुस्तक आफ्नै टोलमा रहेको एक पुस्तकालयलाई दिन नचाहेको हैन, तर उनले त्यहाँ दान दिनुको सट्टा आफ्नै घरमा पुस्तकालय बनाउनु उत्तम ठाने। ती पुस्तकहरुप्रति न्याय हुने ठाने।

‘हुन त त्यही पुस्तकालयका किताब, पत्रपत्रिका पढेर म हुर्केको हुँ, ज्ञान लिएको हुँ, तर, टोलको झी पुच सफु धुकुः को लथालिङ्ग अवस्थाले मलाई आफूसँग भएका पुस्तक त्यहाँ दिन मन लागेन’, उनले भने, ‘अनि आफ्नै घरका दुईवटा कोठालाई पुस्तकालय बनाएँ।’

‘पुस्तकप्रतिको लगाव र मायाले यसरी तान्यो कि म छोड्नै सक्तिनँ’ पुस्तकालयमा रहेका पुस्तक मिलाउँदै उनले भने। यही छोड्नै नसक्ने उनको बानी दैनिकी बन्यो र कालान्तरमा कोठाभरी किताब भरिन थाले

आफ्नै घरमा पुस्तकालय सञ्चालन गरेपछि कम्तिमा पुस्तकालयले त्यही सफु धुकुःको नियति भोग्न मात्र नपर्नेमा विश्वस्त सजिवले वस्तीमा पुस्तकालय नहुँदा हुने अपूरोपनलाई पूरा गरेको स्थानीय विक्रम वैद्यले बताए।

‘अहिलेको समयमा लाइब्रेरी जाने बानी हराउँदै गएको समय, सामुदायिक पुस्तकालय सञ्चालन गर्न समेत हम्मेहम्मे भएको बेलामा पुस्तक प्रेमीहरुको हौसला बढाउन सजीव सरले गर्नुभएको, उहाँको क्रियाशीलता अनुकरणीय छ’ आफ्नो टोलमा विगत लामो समयदेखि सञ्चालनमा रहेका पुस्तकालय नचलेको बताउँदै स्थानीय वैद्यले भने।

पुस्तकालय स्थापना गर्नुका पछाडि अर्को पनि कारण रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘यो ठाउँ नगरपालिका (मध्यपुर थिमि) भएपछि यहाँको परिचय नै लोप हुने चिन्ता भयो, अनि मैले जन्मभूमि बोडे पुस्तकालय खोलेको हुँ।’

उनले सञ्चालन गरेको पुस्तकालयमा नेपालभाषा, नेपाली, हिन्दी र अँग्रेजी भाषाका विभिन्न विधाका पुस्तकहरु छन्। पुस्तकालय सञ्चालनका लागि उनले करिब १० लाख रुपैयाँ खर्चेका छन्। पुस्तकालयका दुईवटा कक्षहरुमध्ये एउटालाई अध्ययन कक्ष र अर्कोलाई पुस्तक कक्षमा बाँडेका छन् उनले।

पुस्तकालयमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाहरु छन्। उनले तिनीहरुलाई व्यवस्थित तरिकाले राखेका छन्। पुस्तकालयका प्रत्येक कितावलाई विधा र विषय अनुसार नम्बरिङ गरेका छन्। तिनीहरुको फेहरिष्ट उतारेका छन्। यो सीप उनले विभिन्न पुस्तकालय चहारेर सिकेका हुन्। त्यस निम्ति उनी कहिले राष्ट्रिय पुस्तकालय, कहिले जनज्योति पुस्तकालय, कहिले केन्द्रीय पुस्तकालय, कहिले केशर पुस्तकालय, कहिले मदन पुरस्कार पुस्तकालय पुग्छन्।

पुस्तकालयमा विशेष गरी विभिन्न विषयमा अध्ययन गर्नेहरु आउने गरेको उनको भनाइ छ। शिक्षण पेशाबाट अवकास भइसकेपछिको समयलाई सदुपयोग गरिरहेका उनको जन्मभूमि बोडे पुस्तकालयका लागि उनका परिवारको उस्तै साथ छ।

https://fb.watch/7JxnlOrhUI/

प्रकाशित: १५ भाद्र २०७८ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App